मदन पुरस्कार विजेता पौडेलको सेकेण्ड ह्याण्ड कपडा मोह

प्रसन्न तामाङ, काठमाडौ : उहाँको शरीरमा नयाँ लुगा नपरेकोे झण्डै सात बर्ष भईसकेको छ । उहाँले लगाउने भित्री कपडा बाहेक बाहिर लगाउने सर्ट, कमिज, ज्याकेट, पाइन्ट तथा जुत्ता अरुले नै लगाइसकेको वा सेकेण्ड ह्याण्ड हुन्छन् । उहाँले चश्मा समेत सेकेण्ड ह्याण्ड नै लगाउनुहुन्छ ।

नयाँ जुत्ता र टल्किने ज्याकेट लगाएको दिन उहाँलाई लाज लाग्छ रे ! नयाँ लुगालाई भन्दा पुरानो लुगालाई बढी प्राथमिकता दिने उहाँ हुनुहुन्छ लेखक तथा महिला अधिकारकर्मी राधा पौडेल । लेखक पौडेलले खलङगामा हमला नामक पुस्तकबाट २०७० सालको मदन पुरस्कार जित्नुभएको थियो । अहिले पनि देश विदेशमा हुने सभा सेमिनारहरुमा पुगिरहनुहुन्छ तर जहाँ गएपनि शीरदेखि पाउसम्म उहाँले लगाउने कपडा सेकेण्ड ह्याण्डकै हुन्छन् ।

सेकण्ड ह्याण्ड कपडा नै किन लाउनुहुन्छ त ? उहाँले दुई वटा कारण दर्शाउनुभयो । एउटा वातावरणका लागि, अर्को आफूले काम गर्ने क्षेत्र जहाँ छ, उहाँले त्यहाँका बासिन्दालाई पनि त्यस्तै कपडा लगाउन दिनुभएको छ । लेखक पौडेल भन्नुहुन्छ ‘कपडा तुरुन्तै गल्ने वा कुहिने चीज होइन, केटाकेटीमै फ्याँकेका कपडा अहिले पनि बारी खन्दा भेटिन्छ, हामीले कपडालाई पूर्ण उपभोग नगरी वातावरणमा फ्याँक्यौं भने वातावरणलाई पनि बोझ हुन्छ ।

जथाभावी फ्याँक्दा फोहोरमैला धेरै हुन्छ, वातावरणमा फ्याँक्नको साटो लगाइदिने हो भने वातावरणमा प्रवेश हुन पाउँदैन, फाटुन्जेलसम्म लगाएपछि मिल्काएको कपडा कुहिन पनि त्यत्ति समय लाग्दैन ।’ पौडेलले हाँस्दै भन्नुभभयो ‘पहिले त दिनको दुई भारी घाँस, दुई भारी दाउरा गर्दा घर्षण भएर, पसिनाले भिजेर चाँडै फाट्थ्यो, अहिले त सेकेण्ड ह्याण्ड कपडा पनि निकै टिकाउ हुँदो रहेछ ।

नयाँ कपडा लगाउने बेला पनि उहाँलाई मनपर्ने कपडा बहिनीले नै किनि दिनुहुन्थ्यो, तर जब सेकेण्ड ह्याण्ड कपडा लगाउन थाल्नुभयो, त्यसयता बहिनीले पनि ल्याइदिनुभएको छैन । राधा भन्नुहुन्छ ‘बहिनीलाई पनि नल्याउ है भनेपछि ल्याइदेको छैन, पुराना कपडा लगाउँदा मलाई गर्व लाग्छ ।’

यसरी शुरु भयो सेकेण्ड ह्याण्ड कपडाको मोह

 

कर्णालीको जाडोमा लु्ग्लुग कामेर आगो र घामको किरणले जाडो भगाउनेहरु देखेपछि उहाँलाई जहिले पनि लागिरहन्थ्यो ‘यी नाङ्गो आङहरु पुरानै कपडाले भएपनि ढाकिदिन पाए कति धर्म कमाइन्थ्यो होला ? यिनीहरु कति खुसी हुँदा हुन् ।’

पौडेलले यसलाई सपनामा मात्र सीमित नराखी व्यवहारमा उतार्ने प्रयास गर्नुभयो । ‘नयाँ कपडा त किनेर दिन सकिन्न, तर सेकेण्ड ह्याण्ड कपडाहरु जो अरुले प्रयोग गरेर फ्याँक्ने अवस्थामा पु-याएका हुन्छन् त्यसलाई ल्याएर वितरण गर्न पाए पनि राहत नै हुन्थ्यो’ राधाको मनमा आइडिया आयो ।

उहाँले यो योजना विभिन्न संघसंस्था तथा सरकारी कार्यालयहरुमा सुनाउनुभयो तर राम्रो चाहिं भन्ने ल गरौं न त भन्ने कोही पनि निस्केनन् । सन् २०१० मा एक्सन् वक्र्स नेपालका उपप्रमुखले भने उहाँको विचारलाई सुनेनन् मात्र सहकार्य गर्न पनि राजी हुनुभयो ।

त्यसपछि कर्णालीका विभिन्न जिल्लामा यसको अध्ययन भयो । त्यसमा ९५ प्रतिशतले सेकेण्ड ह्याण्ड कपडा नै भएपनि लगाउँछौं भन्ने भेटिए भने ५ प्रतिशतले जाडै भएपनि सेकेण्ड ह्याण्ड कपडा लगाउन हिच्किचाए ।

‘तर सित्तैमा त दिने होइन है ! फ्रि मा नदिने भनेपछि ‘क्या दौ हामी जुम्लाका मान्ठा, गरिब मन्ठा’ भन्न थालिहाले । त्यसपछि अरुले पनि लाउँला जस्तो लागेन, मैले त्यसबेला उहाँहरुलाई भनेकी थिएँ, तपाईसँग जे छ, त्यही दिनुहोस्, कोदो भए कोदो, स्याउ भए स्याउ दाउरा भए दाउरा दिनुहोस्, सित्तैमा चाहिं होइन ।’ त्यत्तिबेलाको दिन सम्झिदै राधाले भन्नुभयो ।

‘अरुलाई चाहिं सेकेण्ड ह्याण्ड कपडा लगाउ भन्ने, आफूले चाहिं नयाँ लुगा लगाउने हो भने म कसरी अभियन्ता ? म पनि बदल्न तयार हुनुप-यो नि ? उहाँहरुलाई मात्र भनेर भएन । अनि मैले सन् २०१० देखि आफूले पनि सेकेण्ड ह्याण्ड कपडा लगाउन थालें, जुम्ला, कालिकोट, मुगु, डडेलधुरा लगायतका जिल्लामा पनि सेकेण्ड ह्याण्ड कपडा पु-याउन थालें ।’ नयाँ लुगा त्याग्नुको कारण स्पष्ट पार्नुभयो ।

यसरी संकलन गरिन्छ पुरानो कपडा

एक्सन वक्र्स नेपालको सहकार्यमा काठमाडौको थापाथलीमा रिसाइकल केन्द्र स्थापना गरिएको छ । त्यही रिसाइकल केन्द्रमा कपडाहरु जम्मा गरिन्छ र त्यसलाई धुने, पखाल्ने तथा रिसाइकल गरेपछि देशका विभिन्न जिल्लामा पठाइन्छ ।

यो अभियानको शुरुमा साथीहरुलाई फोन गरेर संकलन गरेको र कुनै कुनै कलेजमा गएर अभियान चलाएर जम्मा गरेको उहाँले बताउनुभयो । शुरुका दिनहरुमा पुरानो कपडा संकलन गर्न गाह्रो भएपनि अहिले सजिलो हुदै गएको छ । उहाँ भन्नुहुन्छ ‘अहिले त तीन महिना, छ महिनामा नियमित ल्याइदिनेहरु हुनुहुन्छ । कतिपय विदेशबाट आउने साथीहरुले आउने बेलामा ल्याएर आउनुहुन्छ अनि जाने बेलामा पनि नयाँ लगाएर फर्किनुहुन्छ पुरानो चाहिं हामीलाई छाडेर जानुहुन्छ ।’

कपडा संकलनका लागि चाडबाडका बेला सबैभन्दा सजिलो हुन्छ रे उहाँलाई । उहाँ फेसबुकमा अभियान नै चलाउनुहुन्छ त्यत्तिबेला ‘लौ है दशैंमा नयाँ लुगा किनेपछि पुराना राख्न धौ भएको होला, मलाई चाहिएको छ ल्याइदिनुहोला’ भनेपछि कपडा जम्मा हुन त्यत्ति समय लाग्दैन ।

पुराना कपडा प्रति आम मानिसको धारणा

‘सेकण्ड ह्याण्ड कपडा त मरेका मानिसहरुको हुन्छन् रे ! विभिन्न रोग व्याधिले मरेका मानिसहरुको कपडा लगाउँदा हामीलाई पनि सर्छ रे !‘ नेपाली समाजमा पुरानो कपडाहरु प्रतिको धारणा यस्तै छ । तर राधा पौडेल भन्नुहुन्छ यो सब झुटा कुरा हुन् । ‘धनी मानिसहरुले एक पटक लगाएपछि दोहो-याएर नलाउने, कसैलाई लगाउँदा लगाउँदै सानो हुने, बजारमा नयाँ फेसन आएपछि लगाउनै मन नलाग्ने कपडाहरु हुन्छन् नि ? हो त्यस्ता कपडाहरु हामीसम्म आइपुग्ने हो ।

हामी कहाँ ल्याउँदा नै हामी धोएर मात्र ल्याउन आग्रह गर्छौ, कतिले चाहिं नधोइकन ल्याउने, च्यातिएका कपडाहरु ल्याउने पनि गर्छन्, त्यस्ता कपडाहरु हामी रिसाइकल सेन्टरमा धोएर सफा गर्ने र ठूला ठूला कपडालाई काटेर सिलाउने पनि आम मानिसको साइजको बनाउँछौं ।’

त्यस्ता कपडाको मूल्य ५० रुपैयाँ देखि २०० रुपैयाँ सम्म निर्धारण गरिएको छ । काठमाडौबाट टाढा लैजानुपर्दा ढुवानी ज्याला धेरै पर्ने भएकाले संस्थालाई उल्टै घाटा हुने गरेको र काठमाडौमा बेच्दा कार्यालय सञ्चालन खर्च सम्म उठ्ने गरेको उहाँले बताउनुभयो ।

जुम्लाबाट शुरु भएको अभियान अहिले काभ्रे, सर्लाही, सुर्खेत, कालिकोट, अछाम, डोटी, डडेलधुरा लगायतका जिल्लामा समेत विस्तार भएको छ । मागको आधारमा ती जिल्लामा पठाइने र विक्रीको प्रबन्ध मिलाएको उहाँले बताउनुभयो ।

सेकेण्ड ह्याण्ड कपडा नेपालीले मात्र नभई विदेशीले समेत लगाउने गरेको उहाँले सुनाउनुभयो । ‘मेरो योजना त गार्मेन्ट फ्याक्ट्री नै चलाउँ भन्ने छ नि ? तर के गर्ने पूँजी छैन । हामीले अनलाइन सपिङ पनि शुरुवात गरेका छौं, अब यसलाई अलि व्यापकता दिनेछौं’ उहाँले आफ्नो योजना सुनाउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार