काठमाडौ : लगानी बोर्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा काठमाडौ उपत्यकाभित्रका नगरपालिकाका प्रमुख तथा उपप्रमुखसँग छलफल थालेको छ । उपत्यकाको फोहोर व्यवस्थापनका लागि भारतीय निजी कमपनीसँग परियोजना व्यवस्थापन सम्झौता गर्नु अघि यसको प्रक्रिया र व्यवस्था लगायतका विषयमा जनप्रतिनिधिसँग छलफल थालेको हो ।
विभिन्न चरणको छलफल पछि भारतीय कम्पनीका पदाधिकारीसँग पिडिएका लागि वार्ता भईरहेको र सम्झौता भएपछि आयोजना सञ्चालनमा आउने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताउनुभयो ।
पहिलो चरणमा काठमाडौं उपत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, दक्षिणकाली, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बुढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र शंकारापुर नगरपालिकामा यो परियोजना लागु हुनेछ । अहिले महानगरपालिका तथा नगरपालिकाले आफैं फोहर व्यवस्थापन गर्दै आएका छन् ।
प्रतिपरिवार २१९ रुपैयाँ फोहोरमैला शुल्क
परियोजना शुरु भएपछि २०७५ वैशाख देखि प्रति परिवार, प्रति महिना २१९ रुपैयाँ फोहोरमैला सेवा शुल्क तिर्नुपर्नेछ । यो शुल्क हरेक वर्ष ५ प्रतिशतका दरले बृद्धि हुदै जाने छ । व्यवसाय तथा उद्योगको सवालमा भने उद्योगबाट उत्पादित फोहोरको परिमाणको आधारमा शुल्क निर्धारण गरिने र हरेक वर्ष ५ प्रतिशतका दरले बढाउँदै लाने जनाएको छ ।
छलफल कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले परियोजना कार्यान्वयन हुने तर्फ आशंका व्यक्त गर्दै भन्नुभयो ‘यो हुन सक्छ वा सक्दैन मलाई अझै विश्वास लागिरहेको छैन ।’ काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्काले पनि फोहोरलाई उद्योग सञ्चालनको कच्चा पदार्थका रुपमा उपयोग गर्न सकेमा मात्र फोहोरमैलाको उचित व्यवस्थापन हुन सक्ने बताउनुभयो ।
फोहोर ब्यवस्थापन गर्ने भारतीय कम्पनीले काठमाडौको उपत्यकाको फोहोर संकलन गरेर फोहोरबाट विजुली, ग्याँस, पानी र कम्पोष्ट लगायत उत्पादन गर्ने उल्लेख छ । परियोजना अन्तर्गत नुवाकोटको बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाइनेछ । बन्चरेडाँडामा प्रशोधन उत्पादन साइट स्थापना हुने फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जानकारी दिनुभयो ।
फोहोर प्रशोधन गरेर मल तथा उर्जा समेत उत्पादन हुने भएकाले आयोजना बहुउपयोगी हुने लगानी बोर्डको निष्कर्ष छ । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन लगानी बोर्डले पारित गरिसकेको छ ।