वनको फोहोर ल्याएर नगरपालिका कार्यालयमा फ्याँक्ने व्यक्ति नै नगरप्रमुख बनेपछि नगरपालिकाको भयो, यस्तो हालत !

डोटी : झण्डै दुई बर्ष अघि मच्चाएको उद्दण्ड व्यवहारको प्रतिफल आफै भोग्दै हुनुहुन्छ दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी । मलासीले पद तथा गोपनियताको सपथ खाएको दिनदेखि दिपायल सिलगढी नगरपालिकाको फोहोर उठ्न सकेको छैन ।

भएको के हो भने, २०७२ चैत्र २ गते मंगलबारको दिन दिपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृत राजबहादुर शाही आफ्नै कार्यकक्षमा बसेर काम गरिरहनुभएको थियो । त्यत्तिकैमा २०/२५ जना महिलाहरुको जमातले कार्यकारी अधिकृत शाहीको टेबल, कार्यकक्ष सबैतिर फोहोर फ्याँकेर उद्दण्ड मच्चाएको थियो । त्यसको नेतृत्व अहिलेकी दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीले गर्नुभएको थियो ।

उहाँ नेतृत्वको जमातले चिसापानी सामुदायिक वन क्षेत्रमा नगरपालिकाले फोहोर फ्याँकेको भन्दै भएभरका फोहोर जंगलबाट उठाएर नगरपालिकाको कार्यालयभरि छरिदिएका थिए । जंगल क्षेत्रमा  अव्यवस्थित रुपमा फालिएका रक्सीका बोतल तथा  प्लास्टिकजन्य फोहोर कार्यालयमा थुपारेपछि यसको सर्वत्र चर्चा र आलोचना भएको थियो ।

आक्रोशित वन उपभोक्ताले कार्यकारी अधिकृतको कक्ष, योजना शाखा, प्रशासन शाखा, लेखा शाखा र प्राविधिक शाखा सहितका कोठाहरुमा बोराका बोरा फोहोर छरिदिएका थिए भने नगरपालिका परिसरमा काँचका बोतल फ्याँक्नुका साथै बोतल हालेर ल्याएका बोराहरु नगरपालिकाको प्रवेशद्धार अघि जलाएका थिए ।

 

मलासी प्रमुख भएपछि फोहोर जहाँको तही

मन्जु मलासीलाई के थाहा ? त्यो प्रमुख पदमा आफू पुगिन्छ र यसको व्यवस्थापनको जिम्मा आफ्नो काँधमा आइलाग्छ भन्ने । सायद यी सबै कुरा थाहा पाएको भए उहाँले तत्कालीन नगरप्रमुखको कार्यकक्षमा फोहोर फाल्ने मुख्र्याइ गर्नुहुन्न थियो होला ।

अहिले दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी नैतिक संकटमा पर्नुभएको छ । फोहोर व्यवस्थापन गर्ने जिम्मा आफ्नो काँधमा आएपछि पनि जंगलमै फोहोर विसर्जन गरुँ भने आफैले जंगलबाट नगरप्रमुखको कार्यकक्षामा फ्याँक्नुभएको छ । फेरि अर्को जमातले आफ्नै कार्यकक्षमा ल्याएर थुपार्ने हो कि भन्ने डर छ उहाँलाई । अन्तै लगेर विसर्जन गरुँ ठाउँ पनि छैन, जसका कारण नगरपालिकाका पदाधिकारीले नगरपालिका सम्हालेको दिनदेखि डोटी सदरमुकाम दिपायलको प्रमुख ब्यापारिक केन्द्र पिपल्ला बजारको फोहोर उठ्नै सकेको छैन ।

लामो समयदेखि फोहोर थुप्रिदा बजार दुर्गन्धित भएको छ । फालिएका फोहोर संग मिसिएका खानेकुरा कुहिएको गन्धले बजारमा नाक नथुनी हिडडुल गर्न गाह्रो भएको दिपायल पिपल्लाका खगेन्द्रबहादुर साउदले बताउनुभयो ।
‘सम्बन्धित निकायले फोहोर उठाउन ढिलाइ गरे रोगको महामारी फैलिने सम्भावना छ, बजारमा फालिएको फोहोर छाडा चौपाया तथा कुकुरले तितरबितर पार्ने गरेकाले सबैतिर दुर्गन्ध फैलिएको छ’ साउदले भन्नुभयो ।

नगरप्रमुखले चासो नदिएपछि नगरपालिकाले खटाएको स्विपरले समेत बजार सफाइ गर्न छाडेका छन् । ‘नगरपालिकाले फोहोर उठाउन ट्याक्टर पठाउदैन, ट्याक्टर नआउदा स्विपरले फोहोर सफाइ गर्न पनि छाडेका छन्’ दिपायलका खेम विष्टले भन्नुभयो ।

दिपायल सिलगढी नगरपालिकाका सामुदायिक बिकाश अधिकृत रमेश जोशीले भने फोहोर व्यबस्थापन गर्ने ठाउँ नभएकाले फोहोर उठाउन नसकेको बताउनुभयो ।
‘फोहोर व्यवस्थापन गर्न भाडामा लिएको जमिनका विषयमा अदालतमा मुद्दा चलिरहेको छ, कार्यालय छेउको जमिनमा फोहोरले भरिसक्यो, फोहोर व्यवस्थापनको नयाँ व्यवस्था मिलाउँदैछौं, केही वैकल्पिक उपायको पनि खोजी गर्दैछौं’ उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार