काठमाडौ : बर्षायाममा पानीका स्रोतहरु दुषित हुने भएकाले झाडापखाला फैलने उच्च सम्भावना हुन्छ । काठमाडौ तथा देशका विभिन्न जिल्लामा झाडापखाला फैलिएका खबरहरु आइरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार ८८ प्रतिशत झाडापखालाका बिरामी असुरक्षित पानी, सरसफाइको अभाव र स्वच्छताको कमीका कारणले हुने गरेको छ ।
सरसफाइको सुधारले झाडापखालाका कारण हुने मृत्यु ३२ प्रतिशत सम्म कम गर्न सकिन्छ । भने खानेपानीको गुणस्तर सुधारले ६ देखि २५ प्रतिशत झाडापखालावाट हुने मृत्युदर कम गराउन सकिन्छ । झाडापखाला लाग्न नदिन निम्न उपायहरु अपाउन सकिन्छ ।
उपाय १ : सडेगलेका र बासी खानेकुरा नखाने – झाडापखाला बाट जोगिने सवैभन्दा राम्रो उपाय हो सडेगलेका र बासी खानेकुरा खाँदै नखाने । सधैं ताजा खानेकुरा मात्र खाने । खुला ठाउँमा बेच्ने राखिएका र घरबाहिर खाँदा सडेगलेका वा बासी खानेकुरा पर्न सक्छ । यस्ता खानेकुराबाट टाढा रहन सके झाडापखाला लाग्न पाउदैन ।
उपाय २ : सुरक्षित पानी मात्र पिउने – खुला कुवा, हैन्ड पम्प र दुषित पानी पिउनु हुदैन । बर्षायाममा पानीका स्रोतहरु दुषित हुने भएकाले सधैं शुद्धीकरण गरेर मात्र पिउन डाक्टरले सुझाव दिएका छन् । पानीलाई उमालेर, क्लोरिन या आयोडिन हालेर, फिल्टर गरेर वा सोडिस गरेर खानेपानीलाई शुद्धीकरण गर्न सकिन्छ ।
उपाय ३ : खानेपानी र खानेकुराको शुद्धतामा ध्यान दिने — खानेपानी होस् वा अन्य खानेकुरा खाँदा, सधैं शुद्धतामा ध्यान दिने र सुरक्षित छ भन्ने प्रमाणित भएमा मात्र खाने वा पिउने गरेमा झाडापखाला लाग्न पाउदैन । जारको पानी सुरक्षित हुन्छ भन्ने ठानेर शुद्धीकरण नगरी पिउँदा झाडापखाला फैलिएका थुप्रै घटनाहरु भएकाले जारको पानी समेत शुद्धीकरण नगरी नपिउन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेर बहादुर पुन बताउनुभयो ।
उपाय ४ : काँचै खान मिल्ने तरकारी र फलफूल सफा पानीले पखालेर मात्र खाने – काँचै खान मिल्ने मूला, गाजर जस्ता तरकारी र स्याउ, आँप लगायत फलफूल पनि धोएर मात्र खानुपर्छ । सलाद बनाउँदा गाजर, मुला, प्याज आदिलाइ सुरक्षित पानीले मात्र पखाल्नुपर्छ । फलफुल खानु अघि सुरक्षित पानीले पखालेर मात्र बोक्रा ताछ्न डाक्टरले आग्रह गरेका छन् ।
उपाय ५ : सधैं साबुन पानीले मिचिमिची हात धुने – खाना पकाउनु अघि, खाना खानु अघि, र शौचालय गए पछि सावुन पानीले सधैं हात धुने गर्नुपर्दछ । काम गर्दा, खेल्दा, विभिन्न बस्तुहरुको संसर्गबाट हातमा फोहोरका कणहरु हुने भएकाले अनिवार्य साबुन पानीले हात धुनुपर्दछ । व्यक्तिगत सरसफाइमा ध्यान दिएमा झाडापखाला लाग्न पाउँदैन ।
उपाय ६ : भाडाकुँडाको नियमित सफाइ गर्ने – खाना पकाउने भाँडा सधैं सफा राख्नुपर्छ । विहान खाना पकाएको भाँडा नमाझीकन बेलुका खाना पकाउनु हुदैन । भाँडा नियमित सफा नगर्दा ब्याक्टेरियाको हमला हुन सक्छ र झाडापखाला लाग्न सक्छ ।
उपाय ७ : वातावरणीय सफाइमा जोड दिने – आफ्नो व्यक्तिगत सरसफाइमा मात्र ध्यान दिएर पुग्दैन । वरिपरिको वातावरण पनि फोहोरमुक्त हुनुपर्छ । आफू हिड्ने बाटो, बालबालिका खेल्ने आँगन, घर वरिपरिका वातावरण सधैं सफा राख्नुपर्छ । वातावरण सफा भएमा झाडापखाला लगायत अन्य रोगहरु पनि लाग्न पाउँदैन ।