रमेश भट्टराई ‘सहृदयी’ : जलवायु परिवर्तनको असरमा विश्वको चौथो सङ्कटापन्न मुलुक बन्दै गर्दा हाम्रो मस्तिष्कमा नरकतुल्य जीवनशैलीको लिसो टाँसिएको छ । आरोग्य र स्वस्थताको चिप्लो भाषण छाँट्ने तर हरिया पहाडलाई सुकेनास लगाएर वन्यजन्तुलाई सुकुम्बासी बनाउँदै पक्षीलाई शरणार्थी बनाउने मानिसको दुष्चरित्रमा सुधारको शङ्ख ध्वनि बजेमा मात्र प्राणी अस्तित्व रक्षाको बाटो सोझिने आशा बढ्छ ।
मानिस प्रकृतिलाई सजाउन वा भत्काउन समर्थवान् रहेछ किनकि वातावरण प्रदूषण मानव निर्मित समस्या हो । आज विश्वले पृथ्वीलाई प्लास्टिकको ग्रहको उपनाम झुन्ड्याको यथार्थमा हाम्रो देश कसरी अछुतो रहला र !
स्वच्छ प्रकृतिको सिरानीमा सुन्दर स्वस्थ जीवनरथ हाँक्न चाहने मानिसले रोगको कारणलाई आफैले जन्माउँछ, प्रकृति स्वच्छताको पुख्र्यौली इतिहासमा स्वार्थको ओढनी ओढाएर प्राणी अस्तित्व सङ्कटको चक्रव्युह आफैले रच्दो रहेछ ।
वैज्ञानिक बस्ती व्यवस्थापनको साटो भद्रगोल सहरका गल्ली मात्र नभई लगभग हरेक खुला सडक दुर्गन्धित र सौन्दर्यहीन लाग्छन् । मन्दिरमा स्वच्छ भई पूजाअर्चना गर्ने तर प्रसादका टपरी, फलोफूलो या प्लास्टिकजन्य फोहोर छेउमा मिल्काउने संस्कारबाट हामी कहाँ उम्केका छौँ र ! गाउँका स्वच्छ पाखा पखेरीमा थोत्रा, पुराना जुत्ताचप्पल, प्लास्टिकले अलिअलि विस्तारवादी नीति लिएर दौडिँदै गर्दा पाटी, वनभोज या शुभ–अशुभ कार्यहरूमा सर्वश्रेष्ठ प्राणी मानिसले प्रकृतिका गर्भमा फोहोरपदार्थ फाल्नुलाई मन सानो पार्दैन ।
सिसा, टिनजन्य अपाच्य पदार्थलाई बिना हिचकिचाहट मिल्काउने आधुनिक आडम्बरमा गमक्क पर्ने मानिसले आफूलाई प्रकृति विध्वंसक हुँ भन्न त कहाँ रुचाउँछ र ! कसैको आँखा छलेर वा रात–साँझको मौका छोप्दै दुर्गन्धित बस्तीका सुगन्धित मानिसले फोहोरको पोको झ्यालबाहिर मिल्काइएका तथ्य खोज्न टाढा जानै पर्दैन । ठूलो बोर्डमा या घरका भित्तामा ‘यहाँ फोहोर फाल्नेलाई ५ हजार जरिवाना दिलाइनेछ’ भनी लेखिइरहेको हुन्छ तर त्यहाँ नियम नमान्नेको चरित्रले सीमा तोड्न छोड्दैन ।
जथाभावी पार्किङ गर्ने र ट्राफिकको आँखा छल्नेको पनि त कमी छैन । पैदल यात्रुलाई सडक पेटीमा हिँड्न आग्रह गर्दै गर्दा लाम लागेर बाटो छेक्नेलाई नियमसँग दिलचस्पी रहन्न रहेछ । तर, लामो दूरी पार गरेर जेब्रा क्रसिङमा पुगिने अनि स्कुल, कलेज, अफिस जान ढिलो भइरहँदा गाडी भेट्न झनै गाह्रो हुने पीडा जोडिन्छ ।
अर्कातिर बृद्धबृद्धा, असक्त, बच्चाका आमा या त विकलाङ्गलाई झनै गाह्रो । न त खुला दिसामुक्त क्षेत्रमा मानवीय स्वभावको प्रस्तुति झल्किन्छ । अर्कातिर निर्माणाधिन र भत्केको सडकमा सवारी चापले तुँवालो झै ढाकिदिएको धुलाम्मे परिवेश, प्रतिस्पर्धामा लापर्वाही तरिकाले बजाइने हर्न तथा कैयौँ असचेतनाका कारण राजधानीवासीको स्वस्थतामै सङ्कटका लप्काले हिर्काइरहेका छन् ।
समस्या समाधानका लागि उब्जिन्छन् तथापि सिद्धान्तभन्दा व्यवहारिक कार्यान्वयन सबल बन्नै पर्ने रहेछ । हाम्रो सनातन संस्कारले सिकाएको वृक्षारोपण, प्रकृतिसंरक्षण तथा प्रकृति पूजादेखि आजका पढाइने विषयमा राखिएका विषयलाई आज व्यवहारमा उतार्नु आवश्यक छ । विकास र परिवर्तनका नाममा कृत्रिमताको ढोल मात्र पिटेमा पुस्तौँपुस्ताले प्रकृतिको सजाय भोग्नुपर्ने कुरामा बोधगम्य हुनु अपरिहार्य ठहर्छ ।
वर्तमान सन्दर्भमा वायु, भूमि, ध्वनि र जलप्रदूषणको मुस्लोले राजधानीका लाखौँ मानव शरीरका अङ्गप्रत्यङ्ग मक्काउँदै छ । संसारको दौलतले किन्न नसकिने मानव जीवनलाई स्वच्छ वातावरणको आवश्यकता छ भन्ने जान्दाजान्दै सौता भिœयाएर अनादिकालदेखि मानिसले प्रकृतिका हक र अधिकारमा अत्याचार गर्न छोडेको छैन ।
राजधानीमा बस्न रहर भन्दा धेरै बाध्यता रहेछ । सुविधा, रोजगार, शिक्षा या त अवसरका आशाले आकर्षित हुँदो रहेछ– मान्छे । तर, बाटोघाटो हेर्दा सास फेर्न गाह्रो, अर्कोतिर महङ्गीको चटारो । अलिकति बाहिर निस्क्यो– अलिअलि वर्षात्ले सास फेर्ने बाटो बनाउँदै गए पनि हिलाम्मे हुनै पर्छ, वर्षात् रोकिएको केही घण्टामै फेरि उस्तै धुलाम्मे भई नै हाल्छ । जताततै फोहोरका थुप्रा हुन्छन् ।
विडम्बना हो तर भन्नै पर्छ, काठमाडौँमा भत्केका तथा पुनर्निर्मित सडक र सवारी चापले धुलोको कमी त थिएन त्यसमा मेलम्चीको पानीको व्यवस्थापनका लागि खनिएका सडकका कारण धुलमाण्डौँ, डस्टमाण्डौँको उपनाम पाइ नै रहेको छ । विकासले विनास नहोस् भन्ने भावना र प्रतिक्रियाका उद्गारले स्थान ओगटिरहेका छन् तर यो आवश्यकतामा खुशीको प्रतिक्षा पनि जोडिएको छ ।
बढ्दो असचेत तथा अव्यवस्थित सहरीकरण र औद्योगीकरण, परम्परागत इँट्टाभट्टा तथा कोइला प्रयोग लगायत धुँवा प्रदायक कारखानाहरू, पुराना सवारी साधनबाट निर्लज्ज फ्याँकिएका प्रदूषणका डङ्गुरले प्रकृति धमिलिँदो छ ।
तब यस्तो लाग्छ– निसङ्कोच, गाडीभित्रबाट फोहोर फ्याँक्नेले सजायको कठघरामा उभिनुपर्ने अनि गाडीहरूमा फोहोरका टोकरीले स्थान पाउने नियमले अब कागजमा अड्कनु हुन्न । वातावरणीय संरक्षणको गम्भिर पक्षसँग पर्यटकीय गन्तव्यले नातो गाँसेको राजधानीको शोभा र सौन्दर्यमा दुर्गन्धित सहरको उपनाम गाँसिइरहेको दुःखेसो छ ।
अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गरेमा कारवाहीमा पर्ने नियमले थोरै भए पनि अनुशासन सिकाएको छ । पहिलाको तुलनामा केही शान्ति महसुस हुन्छ । एउटा स्वस्थ व्यक्तिलाई छवटा रूखले दिने अक्सिजनको आवश्यकता पर्छ तर हरियालीको नाम थाहा छैन । काठमाडौँ मात्र होइन सिङ्गो देश, कुना–कन्दरा आज विछिप्त बन्दै छन् ।
वाग्मती, विष्णुमती लगायत सडक सरसफाइको एकता कार्यक्रमका सह्रानीय सुकार्यमा जुटेकाहरूलाई सम्मान गर्न प्रकृति लाचार बन्छ, अवश्य । राजधानीमा चक्रपथ सफाइ अभियानसँग नातो गाँसेर घरटोल सफाइ गरेमा नदी स्वच्छ रहने सुन्दर भावलाई सराहना गर्नैपर्छ । तर, चुनावी माहोलले हाललाई छायाँमा परे पनि भविष्य निर्माता जन्मिने आशा छ । अबका विजेता सचेत नेतृत्वमा सायद हेक्का रहला ।
अल्पकालीन तथा दीर्घकालीन योजनासँग एकताको नातो गाँसेर पर्यावरणीय स्वच्छताको महायज्ञमा सचेत नागरिक होमिन्छ । थोत्रा सवारी साधनलाई विदाइको सिन्दुर पहराएर वैज्ञानिक यातायातका व्यवस्थापनका योजनासँग राहतको रङ्ग गाँसिन्छ ।
फोहोरका टोकरीले कुना कन्दरामा भिक्षादान माग्न थालून्, दीर्घकालीन वैज्ञानिक बस्ती व्यवस्थापनको नीतिले जिउन पाओस्, अब । कुहिने र नकुहिने फोहोरबाट रुपैँया फल्दै गर्दा ‘फोहोरबाट मोहर’ भन्ने भावसँगै किसानले प्राङ्गारिक मललाई कोठेबारीमा घोप्ट्याओस् । कोही फोहोरबाटै बिजुली उत्पादनमा जुटून्, वैज्ञानिक र दीर्घकालीन प्रदूषण नियन्त्रण र रोजगारको दुई हातका लड्डु फलोस्– नेपाल आमाका आग्रह स्वर गुञ्जिरहेकै छन् ।
हाम्रो दायित्व
पुनःप्रयोग गर्न सकिने, प्रशोधन गर्न सकिने तथा नवीकरणद्वारा प्रयोगमा ल्याउन सकिने सामग्रीको सूची तयार पारेर प्रदूषण व्यवस्थापनका साथमा आय आर्जन र रोजगारको दोहोरो फाइदाका सम्भावनाहरू तड्पिरहेका छन्– सभ्यता सिक्न लालायित मानवबस्तीहरू । साथमा कानुनको दायराले निःस्वार्थ र दादावादका धब्बाबाट बच्न आम नागरिकको दायित्व जोडिन्छ ।
धुवाँरहित इलेक्ट्रिक यात्रु बस सञ्चालन गर्नसक्ने सम्भाव्यता बोकेको राजधानीले कमसेकम सडकका छेउमा प्रचारका लागि मात्र नभएर अपरिहार्य स्वच्छताको हरियाली वृक्षरेखामा साइनो जोडोस्, अब ।
वायु प्रदूषणकै कारण मुलुकका ९०% मानिसले यमढोका ढक्ढक्याउनु परेको अनि काठमाडौँमा मापदण्ड भन्दा पाँचौँ गुणा बढी प्रदूषणले घेरिसकेको प्रतिवेदनलाई विश्व स्वास्थ्य सङ्गठनले दर्शाइदिन्छ । युनिसेफको प्रतिवेदन अनुसार विश्वकै प्रदूषित सहरको ओहोदामा नयाँ दिल्ली साथमा पटना समेत परे लगतै काठमाडौँको रत्नपार्कको प्रदूषण मापन यन्त्रद्वारा मापन गरिएको वायु प्रदूषणको बढ्दो मात्राले नेपाली जनजीवनलाई सचेत रहनुपर्ने आवश्यकतामा तातो लगाएको प्रतीत हुन्छ ।
वर्षात्को शुद्धता अभावका अलावा लगभग २०० दिनभन्दा बढी मापदण्ड विपरित वायुले राजधानीमा डेरा जमाएका त्रासद प्रमाण फेला परेका छन्– कारण, राजधानी उपत्यकालाई छोडेर हावाले बाहिरिने बाटै भेट्दैन– विज्ञको मत छ । लोभ, विलासिता, मानसिक कल्मषको जालोमा बेरिएको मानिस प्रकृतिलाई नेपथ्यमा छोडेर एक्लै दौडन चाहँदा मेडिकल जर्नल द लासेन्ट द्वारा जारी प्रतिवेदनमा हरेक वर्ष १० लाखभन्दा बढी मानिसले वायुप्रदूषणकै कारण मृत्युवरण गर्नुपरेको तथ्य निस्किन्छ ।
दिनानुदिन बालबच्चाका कलिला मुटुले स्वच्छ वायु फोक्सोमा प्रवाहित गर्ने अधिकार निमोठिँदै छन् । १४ प्रतिशत क्यान्सर रोगीले मृत्युकै बाटो रोज्नुपरेको अनि फोक्सोजन्य रोग, टाउको दुख्ने, खोकीजन्य अल्पकालीन तथा दीर्घकालीन रोगले सताउने, खाना रुची नहुने, बान्ता हुने, वाकवाकी लाग्ने जस्ता सरुवा तथा नसर्ने रोगका असर देखिएका र भोग्दै गरिएका तथ्यहरूलाई सञ्चार माध्यमद्वारा सचेतनाका लागि पस्कि रहेकै छन् ।
कतिपय अपरिचित रोगसँगै नाक, कान, घाँटी, मुटु, नसा, फोक्सोजस्ता अति संवेदनशील अङ्गमा प्रदूषणको प्रत्यक्ष प्रहार हुने चिकित्सकहरूको मतले नेपाल आमाको परेली ओभाउन पाएको छैन । विषादीले सजिसजाउ बासी तरकारीका साथमा दूषित पानीको थप परिकारको फलस्वरुप हस्पिटलका लेखा शाखामा मोटो रकमको कारोबार बढिरहन्छ ।
शरीरमा अत्तर छर्केर मुखमा माक्स सम्म लगाउने सभ्यता बनाएका हामीले रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो भन्ने विषयमा एकाकार हुन नसकेको सत्यलाई सिद्धान्तका पानामा अड्काउनु मुर्खता हुनेछ । म एक्लोले गरेर के बिग्रन्छ भन्ने सोचका निर्घिणी सोचकै कारण दुर्गन्धको राज्य गोष्ठीले स्थान पाएको छ । उराठ लाग्दो बाक्लो बस्तीको भिडमा खुम्चिएको मानिसले आफ्नो प्रकृति सँगको मितेरी सम्बन्धको गुढतालाई स्मरण पटलमा सुसज्जित बनाउँदै लैजान जान्नैपर्ने हुन्छ ।
सन्तुलित वातावरणको सुरक्षा, संरक्षण तथा संबद्र्धनको संवेदनशील कित्तामा राजनैतिक गोलचक्करका धब्बा नभई सजीव प्राणीको अस्तित्व रक्षाका विषय गाँसिन्छन् । यसर्थ प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध गर्ने तर प्लास्टिक उद्योगको विकल्पसँग सरलीकरण हुन नसकेका दृष्टान्त सँग हाम्रा प्रयत्न फितला साबित बनिदिन्छन् ।
पृथ्वी सबैको साझा घर हो । वातावरण कुनै एक पुस्ताले उपभोग गरेर तिरस्कार गर्ने क्षणिक उपभोग्य वस्तु होइन । न त यसको रक्षामा एउटा व्यक्ति, एउटा संस्था वा एउटा राज्यको मात्र दायित्व जोडिन्छ । दीर्घकालीन समस्यालाई ध्यानमा राखेर बस्ती व्यवस्थापन गर्ने चुनौति सँग जागरणको प्रवाह होस् । कुहिने र नकुहिने फोहोरलाई व्यवस्थापन गरी कुहिने फोहोरबाट प्राङ्गारिक मल तयार पारेर कृषकले करेसाबारीमा रमाउन पाऊन् ।
फोहोरबाट बिजुली उत्पादन गर्ने विषयमा गाँसिएको रोजगार तथा प्रदूषण सुव्यवस्थापनको दोहोरो फाइदासँग वैज्ञानिक र दीर्घकालीन योजना कार्यान्वयन् होऊन् । नकुहिने कतिपय पुनःप्रयोग गर्न सकिने, प्रशोधन गर्न सकिने तथा नवीकरणद्वारा प्रयोगमा ल्याउन सकिने सामग्रीको सूची तयार पारेर प्रदूषण व्यवस्थापनका साथमा आय आर्जन र रोजगारको दोहोरो फाइदा लिन सकिने सम्भावनाहरू छन् ।
यसर्थ प्रदूषण, जलवायु परिवर्तन जस्ता समस्या तमाम पृथ्वीबासी सजीव प्राणीको अस्तित्व रक्षाका लागि हो । अतः गरिखाने भाँडो बनाएर कालोधन बटुल्ने नीच सोचमा होइन सम्पूर्ण प्राणीको अस्तित्व बचाउका लागि प्राकृतिक संरक्षण, सन्तुलन, सम्बद्र्धन तथा विकास रक्षासँगै फोहोरबाट अब मोहोरको आशा छ– काठमाडौँजस्ता सहरलाई ।
bhattarairamesh353@gmail.com