फोहोर व्यवस्थापनमा नीजि अस्पतालको लापरवाही, अस्पतालजन्य फोहोर पनि अन्य फोहोरसँगै मिसाएर फ्याँकिदै

बाँके : नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालले अस्पतालको उत्तरतिरको प्रवेशद्वार अघिल्तिर गाडी पार्किङ गर्ने ठाउँमा फोहोर थुपार्ने गरेको छ । उपमहागरपालिकाको ट्याक्टरले त्यो फोहोर उठाएर नगरका बिभिन्न ठाउँमा विसर्जन गर्छ । उपमहानगरपालिकाको आफ्नै डम्पिङ साइट नहुँदा अस्पतालजन्य फोहोर पनि बर्षौदेखि नगरका विभिन्न ठाउँमा विसर्जन गर्दै आएको छ ।

नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालले मात्र होइन, नेपालगन्जकै सिद्धार्थ र वेष्टर्न हस्पिटलले समेत फोहोर व्यवस्थापनमा लापरवाही तरिकाले फोहोर विसर्जन गर्दै आएको छ ।

अस्पतालजन्य फोहोर बर्षौदेखि बस्तीको बीचमा  जथाभावी थुपार्दै आएको र यसले वस्ती नै दुर्गन्धित भएको वातावरण तथा बालअधिकार  संरक्षण केन्द्रका अध्यक्ष तेज विक्रम शाहले बताउनुभयो । ‘अस्पतालहरुले न्यूनत्तम मापदण्ड पनि पूरा गरेका छैनन्,  मानव अंग र रगतजन्य फोहर फ्यॉक्न बनाइएका खाल्डोहरु पनि व्यवस्थित छैनन्, यसले आसपासको वातावरण दुर्गन्धित बनाएको मात्र छैन, रोगको जोखिम पनि बढाएको छ, घाम लाग्दा त बसिनसक्नु हुन्छ’ उहाँले भन्नुभयो ।
 
केही समय पहिले जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र उपमहानगरपालिकाका अधिकारीले गरेको अनुगमनका क्रममा अस्पतालले फोहोर व्यवस्थित तरिकाले नराखेको, हानिकारक संक्रमणयुक्त ब्यान्डेज, कपास, गज, सिसा र सुई अन्य फोहोरबाट नछुट्याइ राखेको पाइएको थियो ।

अस्पतालजन्य फोहोर निर्मलीकरण नगरेरै बिर्सजन गर्नु जोखिमपूर्ण मानिन्छ । तर नेपालगन्जका अस्पतालले निर्मलीकृत नगरेरै फोहोर फ्यॉक्ने गरेकाले अनुगमन टोलीले कारबाहीका लागि तालुक निकायलाई सिफारिस गरेको थियो ।
 

अस्पतालजन्य फोहोर व्यवस्थापन निर्देशिकाको उल्लंघन

फोहोर व्यवस्थापन निर्देशिका अनुसार, अस्पतालमा फोहोर जलाउने इन्सिनेरेटर चिम्नी हुनुपर्छ । तर, नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा मात्र होइन, नाम चलेका सिद्धार्थ र वेष्टर्न हस्पिटलसंग समेत चिम्नी छैन । सरकारी भेरी अन्चल अस्पतालमा मात्र फोहर नष्ट गर्ने  इन्सिनेरेटर भएपनि खासै प्रयोगमा छैन । इन्सिनेरेटर नहुँदा अस्पतालजन्य फोहोर पनि अरु फोहोर सरह संकलन गरेर उप महानगरपालिकाले बस्ती छेउमा विसर्जन गर्दै आएको छ ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीम कुँवरले भने अस्पतालजन्य फोहोर लुकीछिपी ट्याक्टरबाट उठाएर फ्यॉक्ने गरेको थाहा पाएपछि आफूले रोकेको दाबी गर्नुभयो । ‘अस्पतालको फोहोरले बस्तीमा संक्रमणको खतरा भएको भनेर दुईरतीन महिनादेखि गुनासो आएको थियो’ उहाँले भन्नुभयो अनुगमन गर्दा त्यो पुष्टि पनि भयो । फोहोर संकलक संस्था संगको सम्झौतामा अस्पतालजन्य फोहोर संकलन गर्नुपर्ने कुनै बाध्यता नरहेको कार्यकारी अधिकृत कुँवरले बताउनुभयो ।

नेपालगन्ज उप महानगरपालिकाले तीन वटा नीजि संस्थासँग मिलेर तीन बर्षदेखि नगरको फोहोर विसर्जन गर्दै आएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार