झापा : भद्रपुर नगरपालिकाको वडा नं. १ दियालो वस्तीमा सञ्चालित डिविआई र नायक ईटा भट्टा हटाउन स्थानीयबासिन्दा दुई बर्षदेखि आन्दोलित छन् । उद्योगले मानव स्वास्थ्य र खेतीपातीमा समेत गम्भीर असर पारेकाले इटा भट्टा हटाउन संघर्ष समिति नै गठन गरेर आन्दोलित भएका हुन् ।
उद्योगबाट निस्किएको बायु तथा ताप प्रदुषणले मुटु, मधुमेह, झाडापखला र रुघाखोकी जस्ता रोगबाट स्थानीयबासिन्दा ग्रस्त भएकाले उद्योग सार्न आफूहरुले दबाब दिदै आएको डिविआई नायक ईटा भट्टा पीडित संघर्ष समितिका संयोजक देउकुमार लिम्बुले बताउनुभयो । डिवीआई ईटा उद्योगले आफ्नो जमिन छाडेर पैनी तथा बाटो मिच्दा झनै समस्या भएको स्थानीय बासिन्दाको आरोप छ ।
उद्योग सञ्चालकले उद्योग भित्रैबाट गएको पैनीको संरक्षण गर्नु पर्नेमा माटोले पुरेर बन्द गरेको, इटा भट्टाका श्रमिकले जताततै दिसा पिसाव गरेको, रक्सीका वोतल तथा अन्य फोहोरमैला खेतमा फाल्ने गरेकाले वायु तथा वातावरणीय प्रदुषण रहेको संयोजक राइले बताउनुभयो ।
स्थानीय बासिन्दाले उद्योग मन्त्रालयको कार्यविधि दिग्दर्शन २०७२ बमोजिम घनाबस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्ने मापदण्ड भित्र रहेर उद्योग सञ्चालन गर्न माग गर्दै आएका छन् । हचुवाको भरमा रिपोर्ट तयार पारेर उद्योग सञ्चालनको अनुमति लिएपछि अहिले विवाद चुलिएको संघर्ष समितिका संयोजक लिम्बुले बताउनुभयो ।
इटा भट्टा मापदण्ड विपरित सञ्चालन
कानुनतः मानव बस्तीबाट एक किलोमिटर टाढाको दुरीमा मात्र इटा भट्टा सञ्चालन गर्नुपर्ने नियम भएपनि दियालोबस्तीमा सञ्चालित दुवै उद्योगले मापदण्ड मिचेर घनाबस्तीको बीचमा इटा भट्टा सन्चालन गरेका छन् । मानव बस्तीको बीचमा रहेका ती दुवै उद्योग विगत ७ बर्षदेखि तीन सय मिटरको आसपासमा सञ्चालित छ ।
सरकारी निकायको असहयोग
२०७३ माघ १२ गते नै वडा नागरिक मञ्च वाल कुमार गिरीको संयोजकत्वमा झण्डै २ सय जनाको हस्ताक्षर गराएर वडा कार्यालय पथ्वीनगरमा बुझाएपनि अहिलेसम्म सुनुवाई नभएको संयोजक लिम्बुले बताउनुभयो । उद्योगको विवादलाई लिएर गत साउन २६ गते भद्रपुर नगरपालिका, उद्योगी र संघर्ष समिति बीच छलफल भएपनि समस्याको समाधान हुन नसकेको उहाँले बताउनुभयो ।
समितिले उद्योगलाई निशर्त मानव वस्तीबाट हटाउनुपर्ने माग गर्दै आएको छ । पीडित स्थानीय बासिन्दाले उद्योग मन्त्रलाय, घरेलु तथा साना उद्योग विकास समिति, भद्रपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापा लगायत निकाय धाइसकेका छन् ।
तर भद्रपुर नगरपालिका मेयर जीवन कमार श्रेष्ठले भने कानुनी रुपमा स्थापना भएको उद्योगलाइ हटाउन नमिल्ने बताउनुभएको छ । उद्योग सञ्चालनका लागि सजिलो बनाउन स्थानीय बासिन्दालाई सेवा सुविधा उपलब्ध गराउनुपर्ने, नियमित सडक मर्मत गर्नुपर्ने लगायत बुँदामा सहमति जनाई हस्ताक्षर गर्न अनुरोध गरेपनि स्थानीय बासिन्दाले उद्योग हटाउनै पर्ने अडान राखेका छन् । उनीहरुले कागजी प्रक्रिया मिलाए पनि इटा भट्टाले मानव स्वास्थ्यमा गम्भीर असर पारेको र यसमा खेलबाड गर्न नमिल्ने बताउदै आएका छन् ।