फोहोर पानीको व्यवस्थापन यसरी गरौं – प्रेमकृष्ण श्रेष्ठ, प्रमुख, वातावरणीय सरसफाइ शाखा

काठमाडौ : फोहोर भन्ने वित्तिकै तपाई हाम्रो ध्यान ठोस फोहोर वस्तुमा मात्र केन्द्रित हुन्छ । फोहोरमैलाको कुरा गर्दा बढी चर्चा पनि ठोस फोहोरकै हुने गरेको छ । तर ठोस फोहोर जस्तै फोहोर पानीलाई पनि सही तरिकाले व्यवस्थापन गर्न नसके वातावरणलाई प्रदुषित बनाउँछ ।

ठोस फोहोरलाई त वर्गीकरण गरेर पुनः प्रयोग गर्ने, प्रशोधन गर्ने र फ्याँक्नै पर्ने फोहोरलाई सेनेटरी ल्याण्डफिल साइटमा लगेर व्यवस्थापन गर्ने । फोहोर पानीको व्यवस्थापन कसरी गर्ने त ? खानेपानी तथा ढल निकास विभाग, वातावरणीय सरसफाइ शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठ :

पानी फोहोर हुने कारण

फोहोर पानी उत्पादन नगरौं भने पनि केही न केही पानी फोहोर भइहाल्छ । खाना खाएपछि भाँडाकुँडा माझ्नै प-यो, नुहाउनु प-यो, मुख धुनै प-यो, कपडा फोहोर हुन्छ धुनै प-यो । शौचालयमा दिसा गरेपछि पखाल्नै प-यो । हो दैनिक जीवन यापनका लागि तपाई हामीले गर्ने क्रियाकलापबाटै पानी फोहोर हुन्छ । यस्तो फोहोर पानीलाई सीधै वातावरणमा पठाउन मिल्दैन ।

ग्रे वाटर र ब्ल्याक वाटर

पानीमा फोहोर मिसियो भन्दैमा सबै फोहोर पानी एकैनासको हुदैन । कुनै फोहोर पानी वातावरणमा सीधै विसर्जन गर्न हुने खालको हुन्छ भने कुनै एकदमै हानिकारक फोहोर पानी हुन्छ ।

हाम्रा दैनिक क्रियाकलापहरु हातमुख धुँदा, भाँडाकुँडा माझ्दा, नुहाउँदा, कपडा धुँदा हुने फोहोर पानीलाई ग्रे वाटर भनिन्छ । यो त्यत्ति धेरै हानिकार हुँदैन । तर दिसापिसाब मिसिएको पानी स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ । यसलाई ब्ल्याक वाटर अर्थात कालो पानी पनि भनिन्छ । ब्ल्याक वाटर त्यत्तिकै जलाशयमा मिसाए वातावरणलाई अति प्रदुषित बनाउने भएकाले यसलाई प्रशोधन गरेर मात्र फ्याँक्नुपर्छ ।

ग्रे वाटरलाई पुनः प्रयोग गर्न सकिने

हातमुख धुँदा, भाँडाकुँडा माझ्दा, नुहाउँदा, कपडा धुँदा हुने फोहोर पानी (ग्रे वाटर) लाई पुनः प्रयोग गर्न सकिन्छ । यस्तो फोहोर पानी त्यत्ति धेरै हानिकारक नहुने भएकाले यस्तो पानी करेसाबारीमा सिँचाई गर्न सकिन्छ । धेरै धमिलो नभएको पानीलाई थिग्राएर शौचालय पखाल्न पनि प्रयोग गर्न सकिन्छ ।
 
ब्ल्याक वाटरलाई प्रशोधन गरेर मात्र फ्याँक्ने

ब्ल्याक वाटर अर्थात दिसापिसाव वा ढल मिसिएको पानी मानव स्वास्थ्यका लागि हानिकारक भएकै कारण वातावरणमा सीधै पठाउन मिल्दैन । त्यस्तो पानी प्रशोधन गरेर मात्र बग्न दिनुपर्छ । प्रशोधन भनेको प्राकृतिक पानीमा मिसिएका हानिकारक पदार्थलाई छुटाएर प्रकृतिकै जस्तो सफा बनाएर बगाउनु हो ।

जलाशयमा फ्याँक्नु भन्दा पहिले त्यो पानीमा भएका हानिकारक वस्तु छुट्याएर तुलनात्मक रुपमा सफा पानी प्रकृतिलाई फिर्ता पठाउने र फोहोर पानीमा भएका पोषक तत्वहरुलाई निकालेर वोटविरुवालाई प्रदान गर्ने कार्यलाई प्रशोधन भनिन्छ ।

हामीले प्रकृतिसँग सफा पानी ल्याएका छौं, त्यसलाई हामीले फोहोर बनाएका हौं र हामीले नै सफा गरेर प्रकृतिलाई दिनुप-यो । अनि त्यहाँ मिसिएका पोषकतत्वलाई पनि छुटाएर बोटविरुवालाई दिनुप-यो । त्यसपछि बल्ल फोहोरपानीको व्यवस्थापन हुन्छ ।

शहरका लागि केन्द्रीकृत ढल प्रशोधन इकाई

फोहोरपानी व्यवस्थापनको समस्या गाउँमा भन्दा शहरमा जटिल छ । शहरमा बनेका घर र उद्योग तथा कलकारखानाबाट उत्पादित फोहोर सीधै नदीमा मिसाइदा नदीमा ढल बगिरहेको छ । ढललाई प्रशोधन गरेर नदीमा बगाएमा मात्र नदीको स्वच्छता कायम रहन्छ । ठूला शहरका लागि केन्द्रीकृत ढल प्रशोधन इकाईहरु र चार पाँच सय घरधुरी सम्मका लागि साना ढल प्रशोधन केन्द्रहरु सन्चालनमा ल्याउन सकिन्छ ।

हामी कहाँ फोहोर पानी प्रशोधन केन्द्र मार्फत प्रशोधन गरेर मात्र जलाशयमा पठाउने कामको शुरुवात विस्तारै हुन थालेको छ । तर एकदमै कम छ । गुहेश्वरीमा भएको जस्तो केन्द्रीकृत ढल प्रशोधन इकाईहरु धेरै आवश्यक पर्ने भए पनि चाहिए जत्ति बन्न सकेका छ्रैनन् ।

५ सय घरसम्मको लागि फोहोर पानी प्रशोधनका विभिन्न विधिहरु आएका छन् । साना समुदायका लागि साना ढल प्रशोधन केन्द्र (डिवाट्स्) सञ्चालनमा छन् । यसमा २ सय देखि ५ सय घर सम्मको फोहोर पानीलाई सजिलै प्रशोधन गर्न सकिन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार