भान्छाको फोहोर पानीबाट मासिक ६ हजार आम्दानी

दैलेख : कुनै समय घरबाट टाढा जाँदा मात्र तरकारी देख्न पाइने दैलेखको कट्टीमा अहिले घरघरै तरकारी खेती गर्न थालिएको छ । विभिन्न जातका तरकारीले करेसाबारी ढकमक्क ढाकिएको छ । भान्छाबाट निस्कने फोहोर पानीलाई प्लाष्टिक पोखरीमा जम्मा गरेर तरकारीमा सिचाई गर्न थालेपछि तरकारी खेती फस्टाउन थालेको दैलेख कट्टीकी विमला खड्काले बताउनुभयो ।

पिउने पानीकै समस्या झेल्दै आएका कट्टीका बासिन्दाले अहिले भान्छाको फोहोर पानीलाई सिंचाइृमा पनि प्रयोग गर्न थालेपछि आम्दानीको बाटो खुलेको हो । भान्छाबाट निस्केको फोहोर पानी र बचेको पानीबाट सिचाई गरेर रायो, लसुन, प्याज, बन्दा र काउली गरी झण्डै नौ जातको तरकारी फलाएको कट्टीकी रत्ना खड्काले बताउनुभयो ।

 

 

‘पहिले बजार गएर ल्याउँथ्यो, अहिले आफ्नै बारीमा फल्दो रहेछ । हामीले नजानेर मात्र रहेछ अहिले सीप सिकेपछि खासै धेरै पानी पनि चाहिदो रहेनछ’ रत्नाले भन्नुभयो ।

 

तरकारी बेच्नलाई बजार बजार पनि धाउनु नपर्ने र करेसाबारीमै ग्राहकहरु आइपुग्ने उहाँको अनुभव छ । ‘बजारमा पु-याउन सके अझ धेरै आम्दानी हुन्थ्यो होला, करेसाबारीमै बेच्नुपर्दा कम मूल्यमा विक्री गर्दा पनि मासिक ६ हजार रुपैयाँ जत्ति आम्दानी हुने गरेको छ’ रत्न खड्काले भन्नुभयो ।

भान्छाको पानी, सिंचाई पनि, मल पनि

तरकारी पखालेको, जुठो भाँडा माझेको र कपडा धोएको फोहोर पानीले तरकारीको लागि सिंचाई मात्र नभई मलको पनि काम गर्ने गरेको किसानहरु बताउँछन् ।

भान्छाबाट निस्केको फोहोर पानीमा विरुवालाई चाहिने पौष्टिक तत्व पनि भएकाले यसले सिंचाई र मलको पनि काम गर्ने उनीहरु बताउँछन् । ‘पानी मात्र हाल्दा सिचाईको मात्र काम गर्छ, यसले विरुवाको पानीको मात्र आपूर्ति गर्छ, तर फोहोर पानीले मलको पनि काम गर्ने भएकाले हलक्कै बढ्छ’ कट्टीका गोपाल विसीले भन्नुभयो ।

यसरी प्रयोग गरिन्छ फोहोर पानी

मुख धुँदा, कपडा धुँदा वा भाँडा माज्दा घरमा फोहोर पानी उत्पादन हुन्छ नै । त्यो फोहोर पानी जम्मा गर्नका लागि सानो प्लाष्टिक पोखरी बनाउने । यस्तो प्लाष्टिक पोखरी घर नजिकै बनाउन सकिन्छ ।

 

 

तपाईको घरमा फोहोर पानी उत्पादन हुने परिमाणको आधारमा पोखरीको आकार सानो वा ठूलो बनाउन सकिन्छ । जत्ति धेरै फोहोर पानी उत्पादन हुन्छ त्यत्ति धेरै सिंचाई गर्न पुग्ने भएकाले फोहोर पानी उत्पादन हुने मात्राको आधारमा तरकारी खेती पनि घटीबढी हुनसक्छ ।

यसरी जम्मा भएको फोहोर पानीलाई जग वा अरु कुनै भाँडाको सहायताबाट करेसाबारीमा सिचाई गर्न सकिन्छ ।

यसो गर्न सके सिचाईकै लागि भनेर न अरु पानीको बन्दोबस्त गर्नुपर्छ न पिउने पानीबाटै कटौती गरेर प्रयोग गर्नुपर्छ, भान्छा पनि चल्ने तरकारी खेती पनि फस्टाउने भएन त काइदा ? यस्तो विधी तपाई हामीले पनि किन प्रयोग नगर्ने ?
कट्टीमा फोहोर पानीको प्रयोग गर्न लुथरन वल्र्ड फेडेरेशनको सहयोगमा एभरेष्ट क्लव दैलेखले बानी पारेको कट्टीका गोपाल विसीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार