बैतडी : बैतडीको पाटन नगरपालिका ६ मा रहेको सहस्त्रलिङ्ग प्राथमिक विद्यालय दुई तारे विद्यालय बन्न सफल भएको छ । विद्यालयमा शौचालय, खानेपानी, बालमैत्री शिक्षण विधि, वालमैत्री धारा र बाल क्लवको व्यवस्था गरेपछि दुई तारे विद्यालय बन्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीले बताउनुभयो ।
विद्यालयको शैक्षिक, भौतिक तथा सरसफाइको अवस्था आदिका आधारमा विद्यालयलाई एकतारे, दुईतारे र तीन तारे विद्यालय घोषणा गर्ने सरकारी नीति अनुसार सबै सूचक पूरा भएपछि दुई तारे विद्यालय वनाउन सफल भएको अध्यक्ष जयराज जोशीले बताउनुभयो ।
विद्यालयमा वालमैत्री धारा निर्माण भएपछि वालवालिकाले स्वच्छ खानेपानीको सुविधा पाएका छन् । युनिसेफ नेपालको सहयोगमा भुमेश्वर सामुदायिक विकास संघले बालमैत्री धारा निर्माण गरेपछि शिक्षक तथा विद्यार्थीले स्वच्छ खानेपानीको सुविधा पाएका हुन ।
पानी उपलव्ध भएपछि सफाइमा पनि मद्दत मिलेको र विद्यालयको वातावरण स्वच्छ भएपछि पानीजन्य रोग लाग्ने सम्भावना पनि नभएको प्रधानाध्यापक रण वहादुर चन्दले बताउनुभयो । विद्यालयमा २४ सै घण्टा खानेपानी उपलव्ध भएपछि अभिभावक तथा वटुवाहरु समेत खानेपानी सेवाबाट लाभान्वित भएका छन् ।
वालमैत्री शिक्षण विधिबाट पठनपाठन हुने विद्यालयको हरेक कक्षा कोठामा फिल्टरको समेत व्यवस्था गरिएको छ । छात्र र छात्राका लागि अलग अलग शौचालयको व्यवस्था गरिएकाले शौचालयको उचित प्रयोग र नियमित सरसफाइ भइरहेको प्रधानाध्यापक चन्दले बताउनुभयो ।
२०५३ सालमा स्थापना भएको सहस्त्रलिङ्ग प्र्रा.वि. मा अध्ययनरत बालबालिका समुदायमा समेत विद्यालयको जस्तै सरसफाइको वातावरण बनाउन लागिपरेका छन् । विद्यालयमा सिकाईने हात धुने प्रविधि, सावुनको प्रयोग तथा फिल्टरको प्रयोग लगायत विषयमा गाउँलेलाई समेच चेतना फैलाउँदै आएको सहस्त्रलिङ्ग वाल क्लवकी अध्यक्ष श्रृजना औजीले बताउनुभयो ।
दुई तारे विद्यालयका लागि आवश्यक सूचक
एकतारे विद्यालयका लागि आवश्यक सूचक पूरा भएपछि एक तारे विद्यालय घोषणा गरिन्छ । त्यसपछि दुई तारे विद्यालयका लागि तोकिएको सूचकको आधारमा दुई तारे विद्यालय घोषणा गरिन्छ । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता निर्देशिका २०७४ मा दुई तारे विद्यालय बन्नका लागि निम्न सूचक पूरा हुनुपर्ने उल्लेख छ । यद्यापि यो निर्देशिकाको मस्यौदा शिक्षा मन्त्रालयमा पुगेर थन्किएको छ ।
- विद्यालयमा पिउनका लागि शुद्धीकरण गरिएको पानीको व्यवस्था, बाल, लैङ्गिक, अपाङ्गता र वातावरणमैत्री युरिनल र पानी सहितको धारा भएको शौचालयको व्यवस्था
- ठोस फोहोरहरुलाई सिसा वा धातुजन्य, नकुहिने र कुहिने गरी अलग अलग डस्टविनमा संकलन गरी कम्तीमा हप्तामा एक पटक विसर्जन गर्ने गरिएको
- विद्यालय परिसरभित्र फूलहरु रोपी बगैंचाको व्यवस्था भएको, समूहमा साबुन पानीले हातधुने स्थायी सुविधा सहित साबुन र पानीको नियमित व्यवस्था भएको
- विद्यार्थीको व्यवहारिक, जीवन उपयोगी स्वच्छता शिक्षामा सक्रिय सहभागिता हुने गरेको,
आकस्मिक अवस्थाका लागि सहज सेनिटरी प्याडको व्यवस्था र प्रयोग गरिएका प्याडहरुको सुरक्षित विसर्जन गर्ने गरिएको - विद्यालय सुधार योजनामा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना समावेश भएको, खानेपानी, सरसफाइ तथा स्वच्छता समेतको विपत पूर्व तयारी र प्रतिकार्य योजना तयार गरिएको र जोखिम नक्साङ्कन तयार गरी सबैले देख्ने स्थानमा टाँगिएको
- खानेपानी, सरसफाइ तथा स्वच्छता र महिनावारी स्वच्छता सम्पर्क शिक्षकको निगरानीमा दैनिक रुपमा शौचालयको सफाइ र साबुन पानीले हात धुने गरिएको छ ।