रासायनिक मल र विषादीको विकल्पमा कम्पोष्ट र जैविक विषादीको शुरुवात

 3769 पटक हेरिएको

काभ्रे : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका किसानहरुले रासायनिक मल र विषादीको सट्टा कम्पोष्ट मल तथा जैविक विषादी बनाउन थालेका छन् । प्राङ्गारिक खेती प्रबद्र्धनका लागि कम्पोष्ट मल तथा जैविक विषादी निर्माण सम्बन्धी तालिम पाएपछि किसानहरु कम्पोष्ट र जैविक विषादीलाई प्रयोग गर्न अभ्यासरत छन् ।

डेनिस ईन्टरनेसनल ह्यूमेन सेटलमेन्ट सर्भिस (DIB) को सहयोगमा बेथानचोक गाउँपालिका ढुङ्खर्क काभ्रे, ग्रामीण प्रविधि केन्द्र भनिमण्डल ललितपुर र घट्टधनी सङ्घ, काभ्रेले यही असार २ गतेदेखि ४ गतेसम्म तालिम प्रदान गरेको थियो ।

समुदायको क्षमता विकास मार्फत वातावरण संरक्षण सहित सुरक्षित खाद्यान्न उत्पादनका लागि प्राङ्गारिक खेती प्रविधिलाई प्रवर्द्धन गर्ने, जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परिरहेका नकारात्मक असरहरूका बारेमा समुदायलाई सु–सूचित गराई कृषि क्षेत्रमा स्थानीय अनुकूलन तथा न्यूनिकरणका उपायहरू सम्बन्धी व्यवहारिक ज्ञान तथा सीपहरू हस्तान्तरण गर्नु तालिमको उद्देश्य रहेको थियो ।

घरेलु रूपमा निस्कने, खेर गएका विभिन्न फोहोर पदार्थहरू र स्थानीय रूपमा उपलव्ध हुने विभिन्न झारपात, घाँस, स्याउला, आदिको प्रयोग गरी स्थानीय स्तरमै कम्पोष्ट मल तथा विषादी बनाउने तरिका सिकेका किसानले घरमा गएर अभ्यास गर्न थालेका छन् ।

तालिमको व्यावहारिक ज्ञान लिने क्रममा सहभागीहरूले स्थानीय गोमा तिमिल्सिनाको घर बगैंचामै वायोकम्पोष्टिङ मल बनाउन र रमा श्रेष्ठको घरमा घरेलु जैविक विषादी बनाउन सिकेका थिए ।

 


बगैंचा व्यवस्थापनका साथै घर बगैंचाका लागि चाहिने मल तथा विषादी स्थानीय स्तरमा नै बनाउन सिकेका कृषकहरूले तालिममा सिकेका कुरा तत्काल व्यवहारमा उतार्ने प्रतिवद्धता पनि जनाएका थिए ।


ग्रामिण प्रविधि केन्द्र (सीआरटी) को पहलमा वातावरणमैत्री गाउँ विकास कार्यक्रम विगत तीन वर्षदेखि काभ्रे जिल्लाको च्याम्राङ्वेशी, ढुङ्खर्क, र चलाल गणेशस्थान गाउँमा नमूनाको रूपमा सञ्चालन भइरहेको छ । संस्थाले यस क्षेत्रमा स्थानीय साधन, स्रोत, श्रम र सीपको परिचालन मार्फत नविकरणीय उर्जा, कृषि, वन तथा वातावरण संरक्षण, सरसफाइ एवं फोहोर व्यवस्थापन जस्ता वातावरणमैत्री विभिन्न गतिविधिहरूको प्रवर्धन तथा विस्तारमा सहकार्य गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार