सर्वोच्चको आदेशअनुसार उक्त रिसोर्टबाट निस्केको पानीको परीक्षण छानबिन समितिले गत २१ जेठमा सरोकारवाला व्यक्तिको रोहबरमा नमुना परीक्षण गरिएको थियो ।
समितिको प्रतिवेदनअनुसार पानी शुद्धीकरण भएको छैन् । पानीमा अत्यधिक लिड र एमोनियाका कारण जलचर प्राणीको जीवन सम्भव नहुने मत्स्य अनुसन्धान केन्द्र पोखराका वरिष्ठ प्राविधिक रामकुमार श्रेष्ठले जानकारी दिए ।
यसरी लिइएको थियो नमुना
वाटर फ्रन्ट रिसोर्टबाट निस्कने वेस्ट वाटर (ट्वाइलेट, बाथरुम, किचन लगायतबाट निस्केको पानी) लाई विभिन्न खाडलमा थिग्राउँदै अन्त्यमा पानी एउटा ट्यांकीमा जम्मा गरिन्छ । यस्तो पानी तालमा मिसिन नदिएको रिसोर्टको दाबी छ ।
यो पानी होटेलमा गाडी धुने, विभिन्न फलफूलका बिरुवामा हाल्नेलगायतमा प्रयोग गरिएको रिसोर्टको दाबी छ । धमिलो र कोलिफमको गन्धले नजिक बस्न नै गाह्रो हुने उक्त पानी गाडी धुन या अन्य प्रयोजनका लागि मात्र प्रयोग भएको भन्नेमा विश्वास गर्न नसकिने अनुगमनमा सहभागी एक सदस्यले बताए ।
शुद्धीकरण गरेर जम्मा भएको भनिएकै ट्यांकी वा निर्मलीकरण गरेर लगेको बोटलका पानी ल्याएर सुरक्षित ढंगले ल्याब टेस्ट गरिएको खानेपानी तथा ढल निकास क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण विभाग पोखराका प्रकाशचन्द्र सुवेदीले जानकारी दिए ।
सर्वोच्च अदालतले १६ वैशाखमा दिएको आदेशअनुसार १३ जेठमा गठन भएको कृषि, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मी नेतृत्वको छानबिन समितिले २१ देखि २३ जेठसम्म सरोकारवालाको उपस्थितिमा नमुना संकलन तथा जाँच गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
समितिमा नापी विभागबाट प्रशान्त घिमिरे, मालपोतबाट कानुन अधिकृत विष्णु घर्ती, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सिनियर डिभिजनल क्यामिस्ट कल्पना श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हुमनाथ पाण्डे थिए ।
समितिले असारको पहिलो हप्ता नै ५४ पेजको प्रतिवेदन बुझाइसकेको छ । भूमिसुधार मन्त्रालयमार्फत प्रतिवेदन सर्वोच्चमा पेस भइसकेको संयोजक रेग्मीले जानकारी दिए ।
यसकारण असम्भव
पानीमा अत्यधिक धमिलोपन पाइएको छ । सामान्यतया पानीमा प्रतिलिटर १.५ मिलिग्राम एमोनियाको मात्रा हुँदासम्म पिउनयोग्य मानिन्छ । जलचरका लागि त्यसमा केही बढी एमोनिया भए पनि हुन्छ । तर, वाटरफ्रन्ट रिसोर्टबाट निस्केको पानीमा एमोनियाको मात्रा प्रतिलिटर २७.२ एमजी छ ।
यसमा माछा जीवित रहन सम्भव नहुने वरिष्ठ प्राविधिक श्रेष्ठले बताए । त्यसैगरी लिडको मात्रा हुनुहुँदैन । यसको मात्रा प्रतिलिटर ०.०२ देखि ०.०४ सम्म हुँदा माछाको गिल ड्यामेज हुन सुरु हुने मत्स्य अनुसन्धान केन्द्र पोखराका वरिष्ठ वैज्ञानिक अग्निप्रसाद नेपालले जानकारी दिए ।
जब कि लिडको मात्रा पानीमा प्रतिलिटर ०.१२ एमजी पाइएको छ । यस्तो अवस्थामा जलचर प्राणीको जीवन सम्भव नरहेको उनले बताए । त्यसैगरी, शुद्धीकरण गरिएको भनिएको पानीमा कोलिफमको मात्रा अत्यधिक देखिएको छ ।