आकाशको आंशिक भाग बादलले डम्म ढाकिएको थियो । बादलको छायाँ सङ्लो पोखरीमा सहजै देखिन्थ्यो । दिन ढल्किदै गर्दा सुस्त हावाले घरी घरी स्पर्श गरिरहेको हुन्थ्यो ।
प्रसंग हो, भक्तपुरको सिद्धपोखरीको । नामै सिद्धपोखरी, मनको चाहना सिद्ध पार्नका लागि होला धेरै आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य बन्न थालेको रहेछ सिद्धपोखरी ।
चारैतिर ठूला ठूला रुख, पोखरीको किनारामा बहने सुस्त पवन, निर्मल पोखरी, पोखरी भित्र खेलिरहने माछा र थोरै एकान्त जस्तो पनि, आकर्षण यिनै हुन् । पोखरी अवलोकन गर्न गएका मानिसले दिएको दाना टिप्न पोखरीको सतह भन्दा पनि माथि सम्म उफ्रिरहेका माछाहरु हेर्नुको मज्जा छुट्टै हुँदो रहेछ । पोखरीको किनारामा मायाको संसारमा सयर प्रेम जोडीहरुका लागि त त्यो दृश्य आफ्नै जिन्दगीको घाम छायाँ जस्तै हुँदो रहेछ क्यारे ! उनीहरुको ध्यान त्यसैमा केन्द्रित हुँदो रहेछ ।
……………………………………………………………………
पोखरीमा पौडि खेलिरहेका माछाहरु एकाएक उफ्रन छाडे । उनीहरुको लागि मन पर्ने दृश्य देखिन छाडेपछि एक जोडीले पोखरी किनारामा बेच्न राखिएको दाना किनेर पोखरीमा फ्याँकिदिए । तर पनि यसपाली माछाहरु पोखरीको सतहभन्दा माथि उफ्रेको पाइएन । ती जोडीले माछा नउफ्रनुको कारण थाहा पाएछन् र आफूले खाइरहेको चिज बल्बको दाना नै पोखरीमा फ्याँकिदिए ।
चिज बल्बको दाना पोखरीमा तैरिन थाल्यो, अब अघि झैं पोखरीमा तैरिएको चिज बल्बको दाना खान तछाडमछाड हुन थाल्यो । दाना पोखरीमा फ्याँकेका ती जोडीले चिज बल्बको खोल पनि फ्यात्त पोखरीमै मिल्काइदियो ।
त्यत्ति निर्मल पोखरीमा फोहोर फाल्ने दिमाग कस्तो होला ? मनमनै सोचें मात्र । तर भन्न सकिन केही । लाग्यो, यस्तै मानिसहरुका कारण आज पोखरी, खोला, सडक, पार्क, कतै बाँकी छैन फोहोरले नगाँजेको । एक जनाले फोहोर फ्याँक्छ, त्यसमा फोहोर थुप्रिएको देखेपछि अर्कोले फ्याँक्छ, सबैले फ्याँकेको देखेपछि ए, यो त फोहोर फाल्ने ठाउँ पो रहेछ भन्ने भान हुन्छ र अरुले पनि त्यहीं लागेर मिल्काउँछन् ।
हामी कहाँ भएको यही हो । हाम्रा वरपर जत्ति पनि फोहोर थुप्रिएका छन्, ती हामी जस्तै युवाहरुले थुपारेका हौं, बृद्धबृद्धा भइसकेकाहरु घरभन्दा टाढा जाने पनि होइनन्, उहाँहरुले न फोहोर उत्पादन गर्नुहुन्छ न फोहोर नै जथाभावी फ्याँक्नुहुन्छ ।
……………………………………………………………………
काठमाडौमा सवारी साधनको कोलाहाल, मानिसको भीड, धुँवा धुँलोले आक्रान्त शहरबाट अलि कति एकान्त, हरियाली र धुँवाधुलोको सम्पर्कबाट परको संसार नियाल्न पोखरी, पार्क, मन्दिर, खोलाको किनार जस्ता ठाउँ त्यस्ता प्रेम जोडीको रोजाईमा पर्दो रहेछ ।
उनीहरु पुग्ने कुनै पार्क, मन्दिर, पोखरी सफा छैनन् । अहिलेका युवायुवती निस्फिक्री छन् । उनीहरुले फोहोर पनि बढी नै उत्पादन गर्छन् र फ्याँक्छन् पनि । जथाभावी फोहोर फ्याँक्नु हुँदैन भनेर कसैले भनेमा जवाफ आउँछ ‘सिकाइरहनु पर्दैन’ त्यो भन्दा बढी बोल्यो भने मुकाबिला गर्न खोजी हाल्छन् ।
उनीहरु शिक्षित छन् तर सभ्य भएनन् । खै अघिल्लो पुस्ताले सिकाएको पनि यही हो कि ? यदि सभ्य भइदिएको भए भक्तपुर नगरपालिकाकाले पोखरीकै किनारामा फोहोर फाल्ने डस्टविन पनि राखिदिएको रहेछ । त्यसमा पनि कस्तो फोहोरलाई कहाँ हाल्ने ? छुट्टाछुट्टै भाँडोको पनि व्यवस्था गरिएको रहेछ ।
त्यत्तिमात्र होइन, नगरपालिकाले पोखरी र वरिपरिको वातावरण सफा सुग्घर राख्न याचना गर्दैे पालना गर्नुपर्ने नियम समेत फ्लेक्स प्रिन्ट गरेर राखिएको छ । पोखरी वरपर फोहोर नगर्न, पोखरी र पोखरी वरिपरि प्लाष्टिक, कागज, फलफूलका बोक्रा आदि जथाभावी नफाल्न र डस्टविनमा मात्र फाल्न नगरपालिकाको आग्रह छ । यस्तै, माछालाई दाना दिंदा प्लाष्टिक झोलामा राखेर नदिन, कुकुर र अन्य चौपायालाई सिद्धपोखरीमा नल्याउन, फूल नटिप्न, नउखेलन र नबिगार्न पनि नगरपालिकाले आग्रह गरेको छ ।
तर अहिलेका मानिसहरु खासगरी प्रेमी जोडी पढ्न जान्दैनन्, सूचना नै हेर्दैनन् वा नियम उल्लंघन गर्नुलाई आफ्नो बहादुरी ठान्छन् । होइन भने किन जथाभावी फोहोर फ्याँक्छन् ।
जथाभावी फोहोर फ्याँक्ने बानीले नै हाम्रा सम्पदाहरु कुरुप बन्न थालेका छन् । तपाई हामीले उत्पादन गर्ने फोहोर डस्टबिनमा मात्र फ्याँक्ने बानी बसालौं न कस्तो हुँदो रहेछ ?
एक पटक मनन गरौं, तपाईले वा मैले गरेको फोहोर उठाउन को आउँछ ?? आउँछ त कोही ?? आउँदैनन् । त्यसैले पानी पिएपछिको रित्तो बोत्तल, चाउचाउ, विस्कुटको खोल आफ्नै झोला वा गोजीमा बोकेर डस्टविन भएको ठाउँमा ल्याएर विसर्जन गरौं ।
वातावरण प्रदूषण हुन नदिनाका लागि आफूले उत्पादन गरेको फोहोर आफैले व्यवस्थापन गर्न थालौं । त्यसपछि फोहोरमैला व्यवस्थापनका लागि अभियान चलाईरहनु नै पर्दैन नि ? अब सोचौं, आफूले गरेको फोहोर आफैले व्यवस्थापन गर्ने कि ? अरुले गरेको फोहोर टिप्दै हिड्ने ???