काठमाडौ उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने उपाय

  विश्वमणि ज्ञवाली  1603 पटक हेरिएको

विगत केही दिन देखि काठमाण्डू उपत्यकाको फोहोरमैला ककनी गाउँपालिका, सिसडोल स्थित Sanitary Landfill Site मा सड़क अवरोधका कारण विसर्जन गर्न नसकिने भनी काठमाडौ महानगरपालिकाबाट जानकारी प्राप्त भएको छ । करीब ४० देखि ५० मिटर माथि सम्म फोहोरमा निर्माण गरिएको प्रवेश मार्ग बर्षायाममा फोहोरको अत्यधिक भारले गर्दा पहिरो जाने सम्भावना बढ़ी हुने हुँदा बिभिन्न बिकल्प अपनाउनुपर्ने हुन्छ ।

स्मरण रहोस २०६२ सालमा JICA को सहयोगमा बढ़ीमा २ बर्षको क्षमता रहने गरी  Sanitary Landfill Site निर्माण कार्य सम्पन्न गरी ल्याण्ड फिल साइट सञ्चालनमा ल्याईएको थियो । त्यसपश्चात विभिन्न चरणमा फोहोर बिसर्जन स्थल बिस्तार गरी चौथो चरणको बिस्तार कार्यको निर्माण कार्य २ बर्ष अगाडि मात्र सम्पन्न गरी बढ़ीमा २ बर्षको लागि करीब ६.५ लाख टन फोहर राख्न सकिने गरी ब्यबस्थापन हुदै आएको छ ।

काठमाण्डू उपत्यकामा दैनिक करीब एक हजार देखि १२ सय टन फोहोर उत्सर्जन हुने अनुमान गरिएकोमा करीब ७० देखि ७५ प्रतिशत फोहोर सिसडोलमा ब्यबस्थापन हुदै आएको छ । बिगत बर्षमा यस केन्द्रले फोहोर विसर्जनको लागि समस्या आउन नदिन वैकल्पिक उपाय अपनाई विसर्जनमा सहजता प्रदान गर्दै आएको थियो । उपत्यकाको फोहोर विसर्जनको लागि पुर्बाधार निर्माण कार्य यस केन्द्रले गर्दै आएकोमा चालु आर्थिक बर्ष देखि सम्पूर्ण कार्य स्थानीय तहमा हस्तान्तरण भएको अबस्थामा पुर्बाधार निर्माणमा यस केन्द्रको कुनै जिम्मेवारी नरहे तापनि उपयुक्त प्रबिधिको बिक़ास, सल्लाह, सुझाब एवं सहयोगको लागि सदैब तयार रहेको छ ।

सिसडोलको अन्तिम चरण विस्तारको क्षमता करीब  saturated भई सकेको हुँदा अब बढ़ीमा २ वा तीन महीना मात्र फोहोर विसर्जन गर्न सकिने अबस्था छ । त्यसपछि उपत्यकाको फोहोर कहाँ बिसर्जन गर्ने बारे अन्यौल छ । हुन त काठमाडौ महानगरपालिका लगायत उपत्यकाका नगरपालिका सँग पटक पटक छलफल न भएको पनि होइन, तर अहिले सम्म पनि ठोस कार्य अगाडि बढ्न सकेको छैन । सिसडोल भन्दा करीब २ किलोमिटरको दुरीमा अवस्थित बञ्चरेडाड़ा दीर्घकालीन स्यानेटरी ल्यान्डफिलको निर्माण कार्यको प्रगति १० प्रतिशत भन्दा पनि कम छ ।

हालसम्म कच्ची प्रवेश मार्ग, कोलपु खोला Diversion र पुलको काम सम्पन्न भएको छ । सबैभन्दा ठूलो Structure Waste Bordering dam,Leachate treatment, Sedimentation Tank आदि ठुला पूर्वाधार निर्माण कार्य बाँकी नै छन् । आवश्यक बजेटको व्यवस्था भए पनि निर्माण कार्य सम्पन्न गर्न कम्तिमा पनि ३ बर्ष लाग्नेछ । तर हालसम्म पनि बिगत बर्षका बजेट वक्तव्यमा ३ बर्ष भित्र सम्पन्न गरिने भनिए तापनि बजेटको सुनिश्चितता हाल सम्म पनि हुन सकेको छैन ।

त्यसै गरी काठमाण्डू उपत्यकाको एकीकृत फोहोरमैला ब्यबस्थापनको लागि लगानी बोर्डबाट अघि बढ़ाइएको निजी बिक़ासकर्ता Nepwaste Pvt Ltd JV Compunication OY and Organic Village सँग प्रारम्भिक हस्ताक्षर भएको ४ महिना बितिसक्दा पनि अन्तिम सम्झौता हुन सकेको छैन । अन्तिम सम्झौता भएको मितिले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न कम्तिमा पनि ३ बर्ष लाग्न सक्छ ।

त्यसैले कम्तिमा पनि ३ बर्षको लागि काठमाण्डू उपत्यकाको फोहोरमैला विसर्जन गर्नको लागि अस्थायी विसर्जन स्थलको निर्माण तत्काल शुरू गर्न सम्बन्धित नगरपालिका बिशेष गरी काठमाडौ नगरपालिकाको ध्यान आकृष्ट गर्दछु । समयमा वैकल्पिक योजना कार्यान्वयन हुन नसके उपत्यकाको फोहोर सड़कमै रहने अबस्था नआउला भन्न सकिदैन ।

यस केन्द्र सम्बन्धित स्थानीय तहको लागि सरकारी निकायको तर्फबाट प्राबिधिक सल्लाह, सहयोग एवं सुझाव दिन सदैब तयार रहनेछ ।

लेखक, फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार