उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि लगानी बोर्डद्वारा पीडीए स्वीकृत

काठमाडौ : काठमाडौंको उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको पहिलो प्याकेज कार्यान्वयनका लागि लगानी बोर्डले आयोजना विकास सम्झौता (पीडीए) स्वीकृत गरेको छ । सार्वजनिक–निजी साझेदारीमा काठमाडौ उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने परियोजनाको प्रक्रिया शुरु भएको १३ वर्षपछि गत असार ३१ गते नेपवेस्ट कम्पनी प्रा. लि. को पीडिए स्वीकृत गरेको हो । अब पूर्वाधार बनाएर फोहोर व्यवस्थापन गर्न अझै कम्तीमा दुई वर्ष लाग्नेछ ।

लगानी बोर्डले पहिलो प्याकेजलाई प्राथमिकता दिएको जनाएको छ । प्याकेज १ अन्तर्गत विद्युत्, जैविक ग्यास उत्पादन गर्ने र जैविक मल बनाउने योजना छ । पहिलो प्याकेजको फोहोर बन्चरेडाँडास्थित १ हजार ७ सय ९२ रोपनी जग्गामा व्यवस्थापन गर्ने योजना छ ।

दोस्रो र तेस्रो प्याकेजमा ललितपुर र भक्तपुर जिल्लाका स्थानीय तहसहित कीर्तिपुर नगरपालिका समेटिएको छ । जसका लागि क्लिन भ्याली कम्पनी प्रालि जेभीको बीबीजी ग्रिन फिल नेपवेस्ट म्यानेजमेन्ट एन्ड केआरवाईएसएस इन्टरनेसनल प्रालिसँग सम्झौता भएको छ ।

प्याकेज २ र ३ मा फोहोरबाट कम्पोस्ट मल बनाउने समेटिएको छ । एसियाली विकास बैंकले सन् २०१३ मा गरेको अध्ययनअनुसार काठमाडौं उपत्यकामा ६६ प्रतिशत अर्गानिक (सड्ने) फोहोर) उत्पादन हुने गर्छ । त्यसबाहेक प्लास्टिक १२, कागज ९, सिसा ३, धातु र कपडा २/२, रबर १ र अन्य ५ प्रतिशत फोहोर उत्पादन हुन्छन् ।

२०६७ पुसमा तत्कालीन स्थानीय विकास मन्त्रालयले निजी कम्पनीसँग आशयपत्र माग गरेको थियो । आशयपत्र दर्ता भएको ८ वर्षमा पीडीए मात्र भएको छ । ‘पहिलो प्याकेजलाई प्राथमिकता दिएका छौं, अब काम अघि बढ्छ,’ बोर्डका सहसचिव उत्तमभक्त वाग्लेले भने ।

बन्चरेडाँडालाई २०६२/०६३ मा सेनेटरी ल्यान्डफिल साइट (फोहोर प्रशोधनयुक्त स्थल) का रूपमा छनोट गरिएको थियो । पूर्वाधार बन्नुअघि २ किलोमिटरयताको सिसडोललाई फोहोर व्यवस्थापन गर्न अस्थायी रूपमा प्रयोग गरिएको हो । स्थानीयवासीको अवरोधका कारण बन्चरेडाँडामा २०६७ सम्म वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नै हुन सकेन ।

त्यसअघि नै २०६६ भदौ १४ को मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समिति गठन गरी निजी क्षेत्रबाट योग्य साझेदार छनोटका लागि सिफारिस गर्ने क्षेत्राधिकार तोकेको थियो । बन्चरेडाँडामा नै राजधानीको फोहोर अन्तिम व्यवस्था गर्ने सरकारी कार्ययोजना केन्द्र र बोर्डमार्फत अघि बढेको थियो । तर अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन ।

जापानी सहयोग नियोग (जाइका) को सहयोगमा राजधानीको फोहोर व्यवस्थापन गर्न बन्चरेडाँडा र सिसडोल छनोट भएको थियो । ईआईएमा ढिलाइ हुँदा आयोजनाबाट जाइका पछि हटेको केन्द्र र काठमाडौं महानगरपालिकाका अधिकारीहरू बताउँछन् । फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले बजेट अभावका कारण पूर्वाधार निर्माण गर्न नसकिएको दाबी गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार