फोहोरमैला प्रशोधन केन्द्र निर्माण कार्य अन्यौलमा

रुपन्देही : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको फोहोरमैला प्रशोधन केन्द्र निर्माण कार्य अन्योलमा परेको छ । सिंगो गाउँ नै फोहरले प्रभावित हुने भन्दै स्थानीय बासिन्दाले फोहोर प्रशोधन केन्द्र निर्माण गर्न नदिएपछि निर्माण कार्य अन्योलमा परेको हो ।

फोहोरमैला प्रशोधन केन्द्र स्थापनाका लागि नगरपालिकाले ओम सतिया गाउँपालिका–५ पट्खौलीमा १ करोड २ लाखमा ६ बिघा जग्गा खरिद गरेको थियो । तर स्थानीयबासिन्दाको अवरोधका कारण जग्गा खरिद गरेको पाँच वर्ष बितिसक्दा समेत काम हुन सकेको छैन ।

एसियाली विकाश बैंकको सहयोगमा लागू भएको एकीकृत सहरी विकास आयोजना अन्तर्गत सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्रबाट निस्कने फोहरलाई आधुनिक प्रणालीद्वारा प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यले आयोजनाले पटखौलीमा जग्गा खरिद गरी सडक समेत निर्माण गरिसकेको छ ।

जग्गामा नगरपालिकाले डम्पिङ साइट बनाउन लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । डम्पिङ साइट बनाउँदा नजिकैको ऐतिहासिक महत्व बोकेको ओमसतिया मन्दिर र लोहरौली मन्दिर तथा २ वटा विद्यालय र गाउँलाई समेत असर पर्ने युवा नेता विद्या यादवले बताउनुभयो ।

डम्पिङ साइटसँगै जोडिएर रहेको रोहिणी नदीमा फोहर मिसिँदा ओमसतिया गाउँपालिका मात्र नभई नजिकैको रोहिणी गाउँपालिकालाई पनि फोहरले असर गर्ने ओमसतिया गाउपालिका–५ का अध्यक्ष ओमप्रकाश कुर्मीले बताउनुभयो । नगरपालिकाले फाल्ने फोहोरमैलाले वडालाई मात्र नभई त्यस क्षेत्रलाई नै असर गर्ने हुँदा कुनै पनि हालतमा फोहर फाल्ने स्थान निर्माण गर्न नदिइने उहाँको अडान छ ।

पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री तथा कांग्रेसका रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकले पनि सो क्षेत्रमा कुनै पनि हालतमा डम्पिङ साइट बन्न नदिने बताउनुभयो। नगरपालिकाले निर्माण गर्ने भनिएको डम्पिङ साइट निर्माण रोक्न त्यसक्षेत्रमा क्रियाशील प्रायः सबै दलका नेताले स्थानीयलाई सहयोग दिने प्रतिबद्धता जनाएका छन् । उनीहरूले सो क्षेत्र धार्मिक एवं पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण रहेको हुँदा यसलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना अघि सारेका छन् ।

तर एकीकृत सहरी विकास आयोजनाले भने सो स्थानमा डम्पिङ साइट नभई फोहरमैला प्रशोधन केन्द्र निर्माण गर्ने बताएको छ । स्थानीयले यसलाई डम्पिङ साइटको रूपमा बुझिदिँदा समस्या भएको आयोजना प्रमुख इन्जिनियर शैलेन्द्र श्रेष्ठले बताउनुभयो । बजारमा संकलन भएका फोहर त्यहाँ लगेर प्रशोधन गरी जैविक मल लगायत बनाउने योजना रहे पनि त्यसको गलत ब्याख्या भएको उहाँले बताउनुभयो ।

एडीबीको ८० प्रतिशत, नगर विकाष कोषको १५ प्रतिशत र सिद्धार्थनगर नगरपालिकाको ५ प्रतिशत गरी १ अर्ब ७१ करोड रुपैयाँको लागतमा सतह ढल, सडक सुधार, साना पूर्वाधार, वातावरणका क्षेत्रमा भौतिक पूर्वाधार निर्माण कार्य तथा फोहर मैला ब्यवस्थापन तथा प्रशोधन केन्द्र सन् २०१८ भित्र सम्पन्न गर्ने लक्ष्य छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार