फोहोरमैला व्यवस्थापन केन्द्रमा प्रवेश गर्न शुल्क लाग्ने

धनकुटा : फोहोर भएको स्थान हेर्न जानका लागि पैसा तिर्नुपर्छ भन्ने सुन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो । धनकुटा नगरपालिकाले सञ्चालनमा ल्याएको फोहोर मैला व्यवस्थापन केन्द्रमा पस्न भने पैसा बुझाउनुपर्छ ।

फोहोर व्यवस्थापन केन्द्रमा समूहमा आउनेलाई ५ हजार शुल्क लिइने गरेको धनकुटा नगरपालिकाका वातावरण अधिकृत उपेन्द्र खनालले बताए । फोहोर मैला व्यवस्थापन केन्द्रमा धनकुटा नगरपालिकाले मरेका जनावर, मानव शौचालय तथा शहरबाट संकलन गरिएको फोहरको थुप्रो माथिनै फूलवारीसहितको सुन्दर पार्क निर्माण गरेको छ ।

दुर्गन्धित ठानिएको फोहरको डंगुरमाथी मगमगाउँदा ४३ भन्दा बढी जातका फूल ढकमक्क फूलेका छन् । धनकुटा नगरपालिकाका वातावरण अधिकृत खनालले फोहोरको उचित व्यवस्थापनले वातावरण मैत्री स्वच्छ शहरको योजनालाई मूर्तरूप दिन सकिने बताए ।

“फोहोरमाथि नै बेलीचमेली फूलाएर आकर्षण बनाउने लक्ष्य राखेका छौं,” खनालले भने, “खेरजाने कुनै चिज छैन, सबै फोहोरबाट मोहर मात्रै होइन, स्वच्छता र सुन्दरता पनि सम्भव छ ।” धनकुटा नगरपालिकाले सल्लेरीमा सञ्चालनमा ल्याएको फोहोर व्यवस्थापन केन्द्र वरिपरि बाढी र भूक्षयले पारेका ठूल्ठूला खाल्डा पुरेर चिटिक्क परेको पुष्प वाटिका तयार पारेको खबर कारोबार दैनिकले छापेको छ ।

धनकुटा बजार र हिलेबाट दैनिक संकलन हुने फोहोरमा मिसिएर आउने फलाम, काँच, कपडा, टुटेफुटेका विद्युतीय सामग्री, प्लास्टिकका बोतलका साथै कार्टुन छानेर बिक्री गरि बाँकी रहेको फोहोरले ‘ल्याण्डफिल’ आसपासका खाल्डा पुर्दै आइएको छ । नगरवासिसँगको साझेदारीमा घरबाट निस्कने कुहिने र नकुहिने फोहर छुट्याउन निलो र रातो बाल्टी वितरण गरिएको छ ।

‘मिथेन’ ग्यास उत्र्सजनरहित दाबी गरिएको केन्द्रमा सदरमुकाम धनकुटा बजार र हिलेबाट दैनिक १६ टन फोहोर जम्मा हुन्छ । नगरपालिकाले मृत जीवजन्तु, मानव शौचालय तथा घरबाट निस्कने गल्ने फोहोरलाई एरोविक कम्पोस्टिङ गरी मलका लागि प्रयोग गर्दै आएको छ भने, अस्पतालबाट निस्कने, कागज, काँच, प्लास्टिक र धातुजन्य फोहोर छुट्याएर बिक्री गर्दै आएको छ ।

केन्द्रमा ३७ प्रतिशत गल्ने फोहोर संकलन हुन्छ । यस्तै २५ प्रतिशत रबर, १२ प्रतिशत कपडा, १० प्रतिशत प्लास्टिक, ८ प्रतिशत कागज, ४ प्रतिशत पुराना निर्माण सामग्रीका साथै टीन, फलाम र विद्युतीय सामग्रीजन्य फोहोर जम्मा हुन्छ । उक्त फोहोर छानेर स्थानीय ब्यापारी मार्फत बिक्री गर्छ । वातावरण शाखा प्रमुख खनालले आउँदो ३० वर्षसम्म यहाँ फोहोर व्यवस्थापनमा समस्या नहुने बताए ।

फूलवारी पार्क बनेपछि उक्त स्थान फोहरमैला व्यवस्थापनका लागि सिकाइको थलो बनेको छ । फोहोरमैला व्यवस्थापनको यो तरीका साटासाट गर्न टाढाबाट आउनेहरू समेत यहाँको अभ्यास देखेर दंग पर्ने गरेका छन् ।

सुन्दरतामात्रै होइन, फोहोरबाट निस्कने प्रदूषित ग्यासले प्रभावित क्षेत्रका मानिस र जीवजन्तुको स्वास्थ्यमा असर नपरोस् भन्नेमा नगरपालिका सचेत रहेको खनालको भनाइ छ । नगरपालिकाले विभिन्न समयमा कार्यालय प्रमुखको बैठक, गोष्ठी जस्ता कार्यक्रम पनि फोहोर मैला व्यवस्थापन केन्द्रमै गर्ने गरेको छ । नगरपालिकाले गरेको कामबारे नेपाल सरकारका मन्त्री, सचिवलगायतले समेत अवलोकन गरी सकेका छन् ।

सफा शहर अभियानलाई सार्थक बनाउन प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाएको धनकुटा नगरपालिकाले घरभित्रको फोहोर न्यूनीकरणका लागि घरैपिच्छे गड्यौलापालन, बायोग्यास निर्माण र मानव मलमुत्र संकलन गरि कम्पोष्ट मल बनाउने कामलाई प्रोत्साहन गरेको छ । सानै भए पनि फोहोरमैला व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले गरेको प्रयास सकारात्मक र केही नौलो छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार