बेंसीसहरको फोहोरबाट ऊर्जा निकाल्ने तयारी

  बेलिना थापा  1837 पटक हेरिएको

लमजुङ : लमजुङको बेंसीसहर बजारको फोहोरबाट ऊर्जा निकाल्ने तयारी गरिएको छ । वर्ल्ड वैंकको लगानी र बैकल्पिक ऊर्जा प्रबर्द्वन केन्द्रको सहयोगमा बेंसीसहर नगरपालिकाले वडा नं. ७, ८ र ९ को बजार क्षेत्रबाट निस्कने फोहोरबाट ऊर्जा निकाल्ने तयारी गरेको हो ।

फोहोरबाट बायोग्यास उत्पादन क्षमता ६४ दशमलब ६ घनमिटर प्रतिदिन, एलपीजी ग्यास ३ सिलिण्डर प्रतिदिन, विद्युत उत्पादन क्षमता १ सय ६ दशमलब ३ युनिट (४ दशमलब ४३ किलोवाट) र दैनिक जैविक मल उत्पादन २ सय ३९ किलो उत्पादन हुने देखिएको छ ।

बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बजारको फोहरलाई व्यवस्थापन गरी उर्जा निकाल्ने तयारीमा जुटेको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले सन् २०१९ भित्र नगरको फोहोरलाई व्यवस्थापन गरी उर्जा उत्पादन गर्नेछ ।

‘फोहोर गर्न नडराउने तर फोहोरदेखि भाग्ने प्रवृत्ति बढेको छ । यसका लागि यो कदम अघि बढाएका छौं’ उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले प्राविधिकले अध्ययन गरिरहेको छ । अध्ययन सकिएपछि थप प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

नगरपालिका र बैकल्पिक ऊर्जा प्रबर्द्वन केन्द्रबीच २०७४ असोज २४ गते सम्झौता भई काम अघि बढेको हो । बेंसीसहरको फोहोरमैलालाई मस्र्याङ्दीमा फाल्ने गरिएको छ । यसअघि गौंथलीडाँडाबाट फोहोर फाल्ने गरिएको र विरोध आएपछि भने मस्र्याङ्दीमा फाल्ने गरिएको हो ।

फोहोरलाई जैविक अजैविक भनेर छुट्याउने गरिएको छैन । यसै फोहोरलाई सदुपयोग गरी ऊर्जा निकालिने अर्यालले बताउनुभयो । यसअघि लमजुङ उद्योग वाणिज्य संघले फोहोर संकलन गर्दै आएकोमा २०७१ मा नगरपालिका स्थापना भए यता फोहोर संकलन गर्ने जिम्मा सामाजिक विकास नेपाल अभियानलाई दिइएको छ ।

दैनिक १९ टन फोहोर उत्पादन

एक अध्ययन प्रतिवेदनले बेंसीसहर बजार क्षेत्रमा दैनिक १९ टन फोहोर निस्कने देखाएको छ । दैनिक संकलन २ दशमलब ३०५ टन मात्रै हुने गरेको बैकल्पिक ऊर्जा प्रबर्द्वन केन्द्रले जनाएको छ ।

केन्द्रले ऊर्जा परियोजना अन्तर्गत बेंसीसहर नगरपालिकाको फोहोरको अवस्थाबारे प्रारम्भिक अध्ययन गरेको थियो । बजार क्षेत्रका तीन वटा वडाको फोहोरबाट वायोग्यास प्रविधिमा प्रयोग गर्न सकिने कुहिने फोहोरको परिणाम दैनिक १ दशमलब १५ टन संकलन हुने देखिएको छ ।

बैकल्पिक उर्जा प्रबर्द्वन केन्द्रका वरिष्ठ उर्जा अधिकृत सुशिममान अमात्यका अनुसार फोहोरबाट बायोग्यास उत्पादन क्षमता ६४ दशमलब ६ घनमिटर प्रतिदिन, एलपीजी ग्यास ३ सिलिण्डर प्रतिदिन, विद्युत उत्पादन क्षमता १ सय ६ दशमलब ३ युनिट (४ दशमलब ४३ किलोवाट) र दैनिक जैविक मल उत्पादन २ सय ३९ किलो उत्पादन हुने देखिएको छ ।

बेंसीसहरमा यसअघि लमजुङ उद्योग वाणिज्य संघले पर्यटन बर्ष सन् २०११ लाई मध्यनजर राखेर एकीकृत फोहोरमैला ब्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

पहिलो चरणमा भोटेओडार, उदिपुर, भकुण्डे, हुँदै बेंसीसहरसम्मको फोहरलाई व्यवस्थापन गर्ने भनिएको थियो । एकीकृत रुपमा फोहोर व्यवस्थापनका लागि समिति गठन गर्ने, ल्याण्डफिल्ड छनौट गर्ने, फोहोर व्यवस्थापनको लागि सम्बन्धित गाविसले बजेट विनियोजन गर्ने निर्णय गरिए पनि कार्यान्वयन भने हुन सकेन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले नगरपालिकाले ल्याण्डफिल्डमा फोहोर फाल्नुको सट्टा फोहोरलाई ऊर्जामा परिणत गर्न लागेकोे बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार