तेह्रथुम : ईन्द्रमाया रोक्का, बजार तथा गाउँघरमा प्लास्टिक देख्न साथ जम्मा गर्न थालिहाल्नुहुन्छ । छथर गाउँपालिका–२ तेह्रथुमकी रोक्कालाई अरुले फालेका प्लाष्टिक बटुल्न कुनै समयको जरुरत पर्दैन । जत्ति बेला भेट्यो, त्यत्ति नै बेला संकलन गरिहाल्नु हुन्छ ।
फालिएका प्लास्टिकहरु संकलन गरेर उहाँले पिरा बुन्नुहुन्छ । अरुले काम नलाग्ने भनेर फ्याँकिएका र कुल्चेर हिँडेको वस्तु जम्मा पारेर उहाँले आयआर्जन गर्दै आउनुभएको छ । जथाभावी फालिएका चाउचाउ, बिस्कुटका खोल संकलन गरेपछि वातावरण संरक्षणका लागि समेत सघाउ पुगेको छ ।
एउटा पिराको मूल्य कति पर्छ ? रोक्का भन्नुहुन्छ ‘कम्तीमा १ सय ५० देखि २ सय रुपैयाँसम्म लिने गरेकी छु ।’
उहाँका अनुसार मकैको पात, खोस्यालाबाट बन्ने पिरा भन्दा प्लाष्टिक बाट बुनेको पिरा टिकाउ हुन्छ । पिरा बुनेर आएको आम्दानीबाटै घरखर्च चलाउँदै आएको उहाँले बताउनुभयो । मेहेनत गर्न सके र हातमा सीप भए आफ्नै आँखा अगाडि आम्दानी हुने स्रोत प्रशस्त रहेको रोक्काले बताउनुभयो । उहाँकी माइली छोरी सावित्रा पनि पिरा बुन्न जान्ने भइसकेकी छिन ।
‘बजारको अभाव छैन बरु ग्राहकले मागेजति बुन्न सकेको छैन, उत्पादन गर्न सके राम्रो आम्दानी लिन सकिने भए पनि घरको काम ब्यवहारले गर्दा चाहेजस्तो उत्पादन गर्न सकेको छैन ।’ उहाँले भन्नुभयो ।