सोमनाथ आचार्य
व्यवहार परिवर्तन एउटा लामो र जटिल प्रक्रिया हो । लामो समयदेखि संस्कार र जीवन पद्धतिको रुपमा अँगालिँदै आएको कुनै पनि व्यवहारलाई त्याग्नु आफैमा असहज र चुनौतिपूर्ण छ । सरसफाइ अभियान पनि व्यवहार परिवर्तनको अभियान भएकोले चरणपद्ध र प्रक्रियागत रुपमा सहजीकरण नभएसम्म व्यवहार परिवर्तन हुन सक्तैन ।
यसै मान्यतालाई आत्मसाथ गर्दै खुल्ला दिसामुक्त अभियाननलाई थप प्रभावकारी र व्यवहार परिवर्तनमा जोड दिनका लागि झापा जिल्लामा आवासीय परिचालन पद्धति अवलम्वन गरियो । आवासीय परिचालन के, किन र कसरी भन्ने विषयमा यस आलेख केन्द्रित हुनेछ ।
आवासीय परिचालन झापा जिल्ला खुला दिसामुक्त अभियानको एउटा प्रमुख हतियार नै थियो । यदि आवासीय परिचालनको रणनीति नहुँदो हो त यति छिटै खुला दिसामुक्त जिल्लाको परिचय बनाउन झापालाई गा¥हो हुने थियो ।
आवासीय परिचालनको क्रममा व्यवहार परिवर्तनमा सहजीकरण, क्षमता बिकासमा सहजीकरण, प्राविधिक प्रक्रियामा सहजीकरण, आपूर्ति पक्ष व्यवस्थापनमा सहजीकरण, स्रोत व्यवस्थापनमा सहजीकरण र सरसफाइको स्थानीयकरण र आन्तरिकीकरणमा विशेष ध्यान केन्द्रित गरिएको थियो ।
व्यवहार परिवर्तन
आवासीय परिचालनको पहिलो उद्देश्य समाजमा रहेका व्यक्तिहरुको व्यवहारमा परिवर्तन ल्याउनु हो । व्यवहार परिवर्तन आजको भोलि देखिने बिषय होइन् । वानी व्यवहार परिवर्तनमा बाहिरी प्रयास सहयोगीमात्र हुन सक्छ, तर अगुवाइ स्थानीयकै हुनुपर्छ भन्ने डा. वाई.सी. जेम्स यनको मान्यतामा हामी विश्वास गर्छौं ।
समुदायसँग बस, समुदायसँगै योजना बनाउ, स्थानीय साधनश्रोत र क्षमताको आधारमा कार्यान्वयनमा ल्याऊ र प्रतिफल पनि समुदायलाई नै देऊ भन्ने मान्यताले डो-याएका कारण खुल्ला दिसामुक्त अभियान सफल बनाउन हामीले आवासीय परिचालनको रणनीति तय गरेका थियौं । हामीलाई थाहा थियो कि हामी कुनै परियोजनाका हाकिम होइनौं, हामी त समुदायको व्यवहार परिवर्तनका सहजकर्ता हौं ।
यही आवासीय परिचालनका कारण अहिलेसम्म ‘कठिन’ मानिएका गौरीगञ्ज, कचनकवल, झापा लगायतका गाउँपालिकामा खुल्ला दिसामुक्त अभियान छोटो समयमा सार्थक निस्कर्षमा पुग्यो । हाम्रै झापा जिल्लामा, कुनै साविकको गाविसमा डेढ सय चर्पी बन्न दुई वर्ष लागिरहँदा गौरीगञ्ज गाउँपालिकामा चार महिनाको आवासीय परिचालनको जोडबलमा करिब पाँच हजार चर्पी निर्माण भए ।
कचनकवल गाउँपालिकामा साढे पाँच हजार चर्पी बने भने झापा गाउँपालिकामा साढे तीन हजार चर्पी बने । यी त केही उदाहरणमात्र हुन् । यस्तै सशक्त र तीव्र गति कमल गाउँपालिकामा समेत देखियो ।
‘चर्पी निर्माण गर’ भन्नुभन्दा पनि ‘खुल्लामा दिसा नगर्ने’ बनाउने, ‘सफा हुनुपर्छ’ भनेर पाठ पढाउनुभन्दा पनि सफाइलाई ‘व्यवहारमा अवलम्वन’ गरेर देखाउने र सँगसँगै सिक्ने सिकाउने प्रक्रियाले नै व्यवहार परिवर्तनलाई सघाउँछ ।
आवासीय परिचालनका क्रममा हामी खुल्ला दिसामुक्त अभियानकर्ताहरुले मानिसहरुसँगको अन्तरक्रियालाई बढी भन्दा बढी जोड दियौं । यसको माध्यमबाट अवसरको लेखाजोखा गर्न, समस्याको पहिचान गर्न र समस्या समाधान समेत गर्न आवासीय परिचालनले निर्णायक भूमिका खेल्यो ।
क्षमता विकास, प्राविधिक तथा प्रक्रियागत सहयोग
दिगो सामाजिक परिवर्तनका लागि स्थानीयको अगुवाइ हुनुपर्छ, र सवालमा अगुवाइ गर्ने क्षमता उनीहरुमा विकास हुनुपर्छ । तबमात्र परिवर्तन दिगो हुन्छ र यसको प्रतिफल समुदायका सबैले पाउन सक्छन् । यसै मान्यतालाई आत्मसाथ गर्दै आवासीय परिचालन गर्नुपर्ने ठाउँहरुको छनौट गरियो ।
सामान्यतः सहरी भन्दा पनि ग्रामीण बस्तीहरु, जागरणमूलक क्रियाकलाप कम सञ्चालन भएका र सामाजिक अन्तरक्रियाको संस्कार कम भएका समुदायमा क्षमता विकास गर्दै उनीहरुलाई नै परिवर्तनको अगुवा बनाउनका लागि रणनीतिक स्थानको पहिचान गरी आवासीय परिचालन गरिएको थियो । यस क्रममा समुदायसँगको अन्तरक्रिया, छलफल, विभिन्न दिवसहरु मनाउने, समुदायका अगुवाहरुमा सरसफाइसँग सम्बन्धित सवालहरुमाथिको बुझाइ स्पष्ट पार्ने क्रियाकलापमा जोड दिइयो ।
परियोजना सञ्चालन ढाँचाले दिगो सामाजिक परिवर्तन हुँदैन । त्यसका लागि स्थानीय बासिन्दालाई नै प्राविधिक र प्रक्रियागत रुपमा समेत निपूर्ण बनाउनुपर्छ भन्ने ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको मान्यतालाई आत्मसाथ गर्दै चर्पी निर्माणका प्राविधिक पक्षको बारेमा समुदायलाई जानकारी गराउने काममा समेत आवासीय परिचालनका क्रममा जोड दिइयो ।
प्राविधिक सहयोगका लागि दुई चारवटा पटके अभिमुखीकरणमात्र पर्याप्त हुँदैनन् । त्यसैले, कुनै पनि घरधुरी चर्पी बनाउन तयार भैसकेपछि उनीहरुले कस्तो चर्पी बनाउने, कतिसम्म लगानी गर्ने, चर्पीमा ढोका कस्तो राख्ने, चुक्कुल कहाँ राख्ने, हावा र प्रकाश छिर्ने ठाउँहरु कहाँ राख्ने, चर्पी बनाउँदा के कस्ता प्राविधिक गल्ती हुन सक्छन् लगायका विषयमा अभियानकर्ताहरुको टोलीले चर्पी बनाइरहेकै ठाउँमा पुगेर प्राविधिक जानकारी दिंदा अभियानको गुणस्तर र गतिमा बढोत्तरी हुन्छ।
आपूर्ति पक्ष र श्रोत व्यवस्थापन
स्थानीय र बाह्य उत्पादकहरुसँग समन्वय गरी आपूर्ति पक्ष व्यवस्थापनमा समेत आवासीय परिचालनले धेरै हदसम्म सघायो ।
सानातिना विवाद र बेमेलका कारण चर्पीका लागि आवश्यक रिङ उत्पादन गर्न बन्द गरेका धेरै ठाउँमा साँझ विहानको समयमा उनीहरुसँग भेटी समस्याको समाधानका उपायको खोजी गर्दै आपूर्ति पक्षलाई मजबूत बनाउने कार्यमा आवासीय परिचालनले सहयोग पुग्यो । कतिपय स्थानमा अभियानकर्ताहरुले नै फुर्सदको समयमा मिस्त्रीको समेत काम गर्नुप¥यो भने धेरै विपन्न र एकलहरुको घरमा खाडल खन्ने काममा समेत अभियानकर्ताहरुले सहयोग गरे ।
स्थानीय तहमा रहेको प्रचुर श्रोत साधनलाई सरसफाइ प्रवद्र्धनमा लगाउन पनि आवासीय परिचालनले सहयोग पुग्यो । समुदायमा अनौपचारिक सम्बन्धमा स्थापित भैसकेपछि सामुदायिक वन, खानेपानी उपभोक्ता समिति, सहकारी, समुदायका अगुवा, दानवीर लगायतसँग समन्वय गरी अभियान अघि बढाउन श्रोत व्यवस्थापन गर्न सजिलो भयो ।
वडा र गाउँपालिका तहका प्रतिनिधिसँगै औपचारिक अनौपचारिक रुपमा अभियानमा सहभागिता जनाउँदा र प्राविधिक एवम् प्रक्रियागत सहजीकरण गर्दा, उहाँहरुसँगको सम्बन्धमा विस्तार भयो, र स्थानीय तहमा रहेको साधन श्रोतको समुचित प्रयोग गर्न सहज भयो ।
सरसफाइको मूलप्रवाहीकरण
ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको मुख्य उद्धेश्यभ भनेकै सरसफाइ र स्वच्छतासम्बन्धी आनिवानीमा परिवर्तन हो । त्यसैले, सम्झौताका हिसावले हामीले खुल्ला दिसामुक्त अभियान सहजीकरण भएको भए पनि, यसको अन्तर्यमा व्यक्तिको सरसफाइ र स्वच्छतासम्बन्धी आनिवानीमा परिवर्तन नै लुकेको थियो ।
त्यसैले हामीले औपचारिक अनौपचारिक रुपमा समुदायमा प्रस्तुत हुँदा सरसफाइसम्बन्धी आनिवानीमा परिवर्तन ल्याउने कुरामा जोड दियौं । कोही पनि व्यक्तिलाई विहान दाँत माझ भन्नुभन्दा या दिसा गरिसकेपछि साबुन पानीले हात धुनुपर्छ भन्नुभन्दा पहिले आफूले त्यही व्यवहार देखाउन सकेमा समुदायका लागि सिकाइ बन्न सक्छ ।
यही तथ्यलाई मध्यनजर गर्दै, हामी समुदायमा परियोजनाको हाकिम बन्नुभन्दा पनि, समुदायको सहयोगीको रुपमा प्रस्तुत भयौं, र व्यवहार परिवर्तनलाई कोरा सिद्धान्तभन्दा पनि सँगसँगै गरेर देखाउने प्रयास ग-यौं ।
पानीको सुरक्षा, साबुन पानीले हात धुने अभ्यास, घरबाट निस्कने फोहरको उचित व्यवस्थापनजस्ता हेर्दा सामान्य लाग्ने, तर सरसफाइमा गहन महत्व राख्ने विषयमा हामीले आवासीय परिचालनका क्रममा विशेष जोड दियौं । चर्पी बनाउनुमात्र नभै त्यसको समुचित प्रयोग गर्ने र चर्पीको नियमित सफाइ गर्न लगाउन आवासीय परिचालनले सहयोग पुग्यो ।
हामी आफै झिसमिसे विहानदेखि मिर्मिरे साँझसम्म अभियानमा सहभागी हुँदा जनप्रतिनिधि र सामाजिक अगुवााहरु स्वतः सँगसँगै निस्किनुभयो । दिउँसो विद्यालय र संघसंस्थाहरुमा गरिने भ्रमण र अन्तरक्रियाले संस्थागत सरसफाइ प्रवद्र्धनमा सहयोग पुग्यो ।
विद्यालय सुधार योजनामा सरसफाइ समावेश भयो, विद्यालयहरुमा महिनावारीमैत्री शौचालय सुविधाको बारेमा छलफल हुन थाल्यो । सहकारी, वन समूह, महिला समूह लगायतले आफ्ना वार्षिक कार्यक्रममा सरसफाइलाई समेत समावेश गर्न थाले । जनप्रतिनिधिसँगको नियमित कुराकानी, भेटघाट, छलफलका कारण गाउँपालिकाको वार्षिक कार्यक्रममा सरसफाइ एक प्रमुख विषयको रुपमा समावेश हुन सक्यो । समग्रमा, सरसफाइको मूलप्रवाहीकरणका लागि आवासीय परिचालनले सहयोग पुग्यो ।
सफलताको कडी
हामीले खुल्ला दिसामुक्त अभियानलाई सफल बनाउँदै सरसफाइलाई आनिवानीको रुपमा स्थापित गर्नका लागि यसका अवरोधहरुको पहिचान गर्नुपर्ने थियो । समुदायलाई कोरा उदाहरण दिनुभन्दा पनि उनीसँगै बसेर, उनीहरुका आनिवानी र व्यवहारको विश्लेषण गरेर, अपनाउनुपर्ने उपायहरुको बारेमा गरिने छलफलले नै वानीव्यवहारमा परिवर्तनलाई सघाउने भएकोले समुदायमा बस्ने क्रममा समुदायको व्यवहारको अवलोकनमा समेत उत्तिकै जोड दियौं ।
यस क्रममा चर्पी बनाउन नचाहनुका कारण, चर्पीसम्बन्धमा समुदायको धारणा, प्राविधिक ज्ञान, चर्पीको लागतको बारेमा समुदायमा रहेको भ्रम लगायतका विषयको गहिरो विश्लेषण ग¥यौं । यी सबै क्रियाकलापले सरसफाइमा देखिएका ग्यापको पहिचान गर्दै अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेले ।
ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम टिमले गर्वका साथ भन्छौं : हामीले चर्पी बनाउनलाई सहयोगमात्र गरेका छैनौं, सरसफाइलाई समुदायको साझा सवालको रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छौं । यो नै, हामीले सहजीकरण क्षेत्रमा खुल्ला दिसामुक्त अभियान सफलताको एक प्रमुख कडी हो ।
(लेखक ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम/सगरमाथा सामुदायिक विकास केन्द्रबाट खुल्ला दिसामुक्त अभियान संयोजक हुनुहुन्छ)