सोलुखुम्बु : सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. २ भित्र प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।
नगरपालिकाको २ नं. वडा कार्यालयले प्लाष्टिक झोला प्रयोगलाई निरुत्साहित गर्न पहिलो चरणमा कपडाको झोला प्रयोगमा ल्याएको छ । वडा कार्यालयले कसुदेवु पब्लिक हेल्थ मिसनको सहयोगमा पहिलो चरणमा १ हजार वटा कपडाको झोला विक्री गर्न लागेको वडा अध्यक्ष मिङमार शेर्पाले जानकारी दिनुभयो ।
जब आर्थिक एवं वातावरणीय हिसाबले कपडाको झोला र प्लाष्टिक झोलाको तुलनात्मक महत्व बुझ्न थाल्छन् प्रयोगकर्ता आफै प्लाष्टिक झोला प्रयोग प्रति निरुत्साहित हुँदै जानेछन्’ वडाध्यक्ष शेर्पाले भन्नुभयो ।
पहिलो चरणमा प्लाष्टिक झोलालाई पूर्ण रुपमा प्रतिबन्ध नलगाए पनि यसको विकल्प दिएर प्रयोगकर्तालाई सचेतना जगाएर प्लाष्टिक झोला विस्थापन गर्ने वडा कार्यालयको रणनीति रहेको उहाँले जानकारी दिनुभयो ।
‘पहिलो चरणमा हामीले १ हजार वटा कपडाको झोला विक्री गर्दैछौं, प्रति झोलाको मूल्य ५० रुपैयाँ तोकेका छौं र यसको विक्री भइसकेपछि विस्तारै चेतना जगाउँदै कपडाको झोला प्रति उपभोक्ताको आकर्षण बढाउदै लानेछौं, जब आर्थिक एवं वातावरणीय हिसाबले कपडाको झोला र प्लाष्टिक झोलाको तुलनात्मक महत्व बुझ्न थाल्छन् प्रयोगकर्ता आफै प्लाष्टिक झोला प्रयोग प्रति निरुत्साहित हुँदै जानेछन्’ वडाध्यक्ष शेर्पाले भन्नुभयो ।
यसका लागि पहिलो चरणमा झोला विक्री बाट प्राप्त रकमबाट दोस्रो चरणमा झोला निर्माण गरिने र ती झोला पसलेसँग भएको प्लाष्टिक झोलाको मूल्याङ्कन गरी साट्ने वडा कार्यालयको योजना छ । वडा अध्यक्ष शेर्पाका अनुसार पटक पटक प्लाष्टिक झोला किन्नु भन्दा एक पटक कपडाको झोला किनेर प्रयोग गर्दा आर्थिक रुपमा पनि किफायती हुन्छ ।
‘एउटा प्लाष्टिक झोलाको मूल्य ५ रुपैयाँ पर्दोरहेछ, तर ५० रुपैयाँमा किनेको नाइलन झोला कम्तीमा २० पटक सम्म प्रयोग गर्न मिल्छ, यसले आर्थिक रुपमा किफायती, वातावरणीय प्रदुषण पनि नहुने भएकाले हामी प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्दै लैजानेछौं ।’ वडाअध्यक्ष शेर्पाले भन्नुभयो ।
सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. २ अन्तर्गत जुनवेशी, थुप्तेन छोलिङ, टाक्टोर, लाम्जुरा लगायत गाउँहरु पर्दछन् । पर्यटकीय पदमार्गमा पर्ने ती गाउँहरु प्लाष्टिकका कारण फोहोरमैला भएकाले वातावरणीय स्वच्छताका लागि पनि प्लाष्टिक झोला नियन्त्रण गर्नुपरेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो ।