बञ्चरे डाँडा ल्याण्डफिल साइट निर्माणको कामले गति लियो

काठमाडौ : सरकारले नुवाकोटको बञ्चरे डाँडामा दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण शुरु गरेपछि सिसडोलका श्रीराम ढुङ्गानाको खुशीको सीमा नै छैन । ककनी गाउँपालिका वडा नम्बर ३ सिसडोलका ढुङ्गाना १३ वर्षदेखिको पीडाबाट मुक्त हुँदै हुनुहुन्छ ।

वि.सं २०६२ मा तीन वर्षका लागि भन्दै सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिँदै आएको हुँदा उनीहरुलाई दैनिक जीवन सञ्चालन गर्नका लागि निकै कठिन भएको थियो ।

“विगत लामो समयदेखि सिसडोलमा अव्यवस्थित रुपमा फोहर थुपारेका कारण र फोहर लैजाने बाटो समेत व्यवस्थित नहुँदा हामी स्थानीयवासी क्यान्सर जस्ता प्राणघातक रोगबाट शिकार हुनु परेको थियो तर अब वैज्ञानिक रुपमै व्यवस्थापन हुने भएपछि ढुक्क भइएको छ”, ढुङ्गानाले भन्नुभयो ।

गत वर्षको स्थानीय तहको निर्वाचनपछि स्थानीयवासीको समस्या स्थानीय तहले नै समाधान गर्नुपर्ने भनिए पनि लामो समयसम्म सिसडोलको समस्या समाधान हुन सकेको थिएन । पाँच वर्षअघिदेखि नै बर्खामा फोहर धेरै जम्मा हुने हँुदा सिसडोलमा फोहर व्यवस्थापन गर्न समस्या हँुदै आएको छ ।

अर्का स्थानीयवासी नृत्यराज ढुङ्गानाले सरकारले सिसडोलको फोहर व्यवस्थापनबारे राम्रो कामको शुरुआत गरेकाले त्यसका लागि स्थानीयवासीका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । हाल बञ्चरेडाँडामा निर्माण गर्न लागिएको दीर्घकालीन फोहर व्यवस्थापनस्थल सिसडोलजस्तो अव्यवस्थित र छोटो समयका लागि मात्रै नभई वैज्ञानिक रुपमा अध्ययनअनुसन्धान गरी बनाउनुपर्ने धादिङ, धुनीबेंसी नगरपालिकाका उत्तम पाठकले सुझाव दिनुभयो ।

सिसडोलको फोहर व्यवस्थापन हुने भएपछि स्थानीयवासी श्रीराम, नृत्यराज र उत्तम मात्र होइन त्यसबाट प्रत्यक्ष पीडित ५० घरधुरी र अप्रत्यक्ष रुपमा पीडित करीब ५०० घरपरिवारमा खुशी छाएको छ ।

स्थानीयवासीले हाल फोहर व्यवस्थापन हुँदै आएको सिसडोलको उचित व्यवस्थापन गरी व्यवस्थापन गरिएको फोहरबाट निस्केका लिचेट कोल्पु खोलामा नबग्ने बनाउनुपर्ने, निःशुल्क स्वास्थ्य बीमा तथा ५० शय्याको अस्पताल निर्माण गरिनुपर्ने, काठमाडौँदेखि फोहर व्यवस्थापन गर्ने स्थानसम्मको बाटो अन्तरराष्ट्रिय मापदण्डको निर्माण गरिदिनुपर्ने माग गर्दै आएका थिए ।

शहरी विकास मन्त्रालयले वैज्ञानिक रुपमा फोहर व्यवस्थापन गर्नका लागि बञ्चरे डाँडामा निर्माण गर्न ढाँचा तयार गरिसकेको छ । निर्माणका लागि यही फागुन महिनाभित्र बोलपत्र आह्वान गरिने छ । हाल निर्माणाधीन ल्याण्डफिल साइट निर्माणका लागि सरकारले एक हजार ७१९ रोपनी जग्गा तयार गरेको छ । हाल निर्माण गर्न लागिएको विसर्जनस्थलमा धुनीबेंसी – १ का केही भाग र नुवाकोट ककनी गाउँपालिका २ र ३ का केही भूभाग पर्छन् ।

मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधार सहितको ल्याण्डफिल निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो ।

निर्णयअनुरुप मन्त्रालयले अहिले तीव्र रुपमा काम अघि बढाइरहेकोे र डिजाइनको काम तयार भइसकेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।

बाँकी काम अघि बढाउनका लागि यही फागुन महिनाभित्र बोलपत्र आह्वान गर्ने तयारी भइरहेको बताइएको छ । मन्त्रालयले बञ्चरेडाँडामा करीब रु ३८ करोडको लागतमा दीर्घकालीन रूपमा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल निर्माण शुरु गरेको हो ।

सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको फोहर फाल्ने ठाउँ निर्माण गरिएकामा चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ ।

हाल काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निस्कने गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार