फोहोरमैला + फोहोरपानी + दिसाजन्य लेदो व्यवस्थापन = सहरी सरसफाइ

काठमाडौ : काठमाडौको ठमेल स्थित होटल मस्र्याङ्दीमा वास क्षेत्रको सिकाइ आदानप्रदान कार्यक्रम भइरहेको छ । वास क्षेत्रमा कार्यरत संघसंस्थाको प्रतिनिधित्व गरेर विभिन्न जिल्लाबाट आएका सहभागी राउण्ड टेबलमा बसेका छन् ।

कार्यक्रम सञ्चालिका शोभा रानाले दिउँसोको खानापछिको सेसनमा स्वागत गर्दै सहजकर्तालाई निम्त्याउनुहुन्छ ।

(सहजकर्ताको आगमन)

…………………..
यहाँहरु सबैलाई स्वागत छ । मेरो सेसन प्रायः खाना पछि नै हुने गर्दछ । खाना र मेरो सेसन बीचमा पनि विशेष सम्बन्ध छ । उहाँले विषयबस्तुलाई चाखलाग्दो बनाउने छनक दिनुभयो । सहभागी सबैको कान ठाडा भए ।

सहजकर्ता : चर्पी छ ?
पहिलो प्रश्न तेस्र्याइहाल्नु भयो ।
सहभागीहरुले छ, छ भन्ने जवाफ दिए ।

फेरि सहजकर्ता : सबैको घरमा चर्पी छ ?
सहभागी : कोही हात उठाउँछन्, कोही मुन्टो हल्लाउँछन्, कोही छ, छ भनेर उत्तर दिन्छन् ।

सहजकर्ता : दोस्रो प्रश्न तपाईले दिसापिसाब गरेपछि फ्लस गरेको फोहोर पानी कहाँ जान्छ ?
सहभागी : सेफ्टी ट्यांक

सहजकर्ता : सबैको सेफ्टी ट्यांक हो ?
सहभागी : कसैले गोबरग्याँस, कसैले सीधै ढलमा, कसैले सीधै खोलामा भन्ने जवाफ दिए ।
सहजकर्ता :  नेपालमा मात्रै नभई संसारभरि नै तपाई हामीले फल्स गरेको पानी ढल मार्फत कहीं कतै जान्छ कि सेफ्टी ट्यांकमा जान्छ ।

…….. त्यसपछि कहाँ जान्छ त ??
यसपटक भने सहभागी सबै जना चुपचाप रहे …।

वास क्षेत्रको सिकाई आदानप्रदान कार्यक्रममा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक विपीन डंगोल र सहभागी बीच भएको सम्बादका अंशहरु हुन् यी । कार्यकारी निर्देशक डंगोल हालै सम्पन्न ‘दिसाजन्य लेदो व्यवस्थापनको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलन र नेपालमा यसको सान्दर्भिकता’ बिषयमा सहजीकरण गर्दै हुनुहुन्थ्यो ।

सहभागीको ध्यान आकर्षण गराउँदै उहाँले हाल दिसाजन्य लेदोको विसर्जनको अभ्यासका बिषयमा चर्चा गर्नुभयो । दिसाजन्य लेदो अहिले प्रशोधन बिनै सीधै खोलामा बिसर्जन हुँदै आएको र यसको जल्दोबल्दो नमुना विष्णुमति र बाग्मती नै रहेको उदाहरण दिनुभयो ।
‘मेरो घर पनि विष्णुमति नजिकै छ, मलाई साह्रै दुःख लाग्छ । मेरो घरको शौचालयमा फ्लस गरेको पानी पनि प्रसोधन बिनै बिष्णुमतिमा गएर मिसिन्छ ।’ यत्ति कुरा सुनेपछि सहभागीहरु एकछिन् ट्वाल्ल परे ।

‘जब सेफ्टी ट्याङ्क् भरिन्छ, तानिन्छ र लगेर फालिने खोलामा नै हो ।’ सेसनको सुरुमै सोधिएको प्रश्नको जवाफ दिन नसकेका सहभागीले बल्ल जवाफ पाए ।
………

सहरी सरसफाइका तीन सुत्र

 

सहरी सरसफाइको कुरा गर्दा ठोस फोहोरमैला व्यवस्थापन, फोहोरपानी (ढलको पानी) व्यवस्थापन र दिसाजन्य लेदो व्यवस्थापन गरी तीन वटा कुरामा ध्यान दिनुपर्ने कार्यकारी निर्देशक डंगोल बताउनुहुन्छ ।

सहरी सरसफाइको समग्र अवस्था कस्तो छ त ? उहाँ भन्नुहुन्छ ‘बागमती लगायत देशैभरिका नदी तथा खोलाहरुमा सरसफाइ अभियान चलिरहेको छ, यो नराम्रो होइन, यसबाट ठोस फोहोरमैलाको व्यवस्थापन भईरहेको छ । फोहोर पानी प्रसोधनका लागि गुहेश्वरीमा बाहेक कतै पनि फोहोर पानी प्रसोधन केन्द्र बनेको छैन । एसियाली बिकास बैंकको सहयोगमा फोहोर पानी प्रसोधन केन्द्रहरु बन्दैछन् ।

तर दिसाजन्य लेदो व्यवस्थापनका लागि देखिने गरी नभएपनि विस्तारै केही प्रयास सुरु भएको छ ।’ सुरक्षित सरसफाइमा ध्यान दिन जोड दिदै डंगोल भन्नुहुन्छ ‘ठोस फोहोरमैलाको व्यवस्थापन, चर्पीबाट निस्केको पानी, ढलको पानी वा फोहोर पानीको प्रसोधन गर्नैपर्छ । यसका लागि जहाँबाट फोहोर पानी र दिसाजन्य लेदो उत्पादन हुन्छ, सम्बन्धित स्थानमै प्रसोधन गर्नुपर्छ । यदि हामीले ध्यान दिएन भने दिगो विकास लक्ष्य हासिल गर्न सक्दै सक्दैनौं ।

शौचालय बन्दैछ ‘दिसाको बम’

देशमा चलिरहेको खुलादिसामुक्त अभियानले सरसफाइमा ९९ प्रतिशतभन्दा बढी प्रगति हासिल गरिसकेको छ । देशका ६३ जिल्ला खुला दिसामुक्त भइसकेका छन् । खुला दिसामुक्त अभियान सक्नुलाई धेरैले सरसफाइको काम सम्पन्न भएको रुपमा बुझिरहेका छन् । तर एन्फोका कार्यकारी निर्देशक डंगोलको भनाईमा बल्ल सरसफाइको काम सुरु भएको छ ।

 

शौचालय ‘दिसाको बम’ बनिरहेको उहाँको भनाई छ । खासगरी पहाडमा भन्दा तराईमा यसको अवस्था भयावह छ । पहाडमा भन्दा तराईमा शौचालय ‘दिसाको बम’ साबित किन भइरहेको छ त ? ‘तराईमा ९५ प्रतिशत भन्दा बढी जनसंख्याले भूमिगत पानीको स्रोत प्रयोग गर्छन् । त्यही भूमिगत पानीको गहिराईमा सेफ्टी ट्याङ्क वा खाल्डे चर्पी बनाएको हुन्छ । त्यो पनि चुहिने वा जमिनले सोस्ने खालको हुन्छ । त्यो कहिल्यै भरिने तरिकाले बनाएको हुँदैन । त्यो जमिनमा रसाएर भूमिगत पानीमा मिसिन्छ । त्यही पानी हामीले पिएपछि दिसाजन्य लेदोमा पाइने हानिकारक पदार्थहरु हामीले खान्छौं ।’ डंगोल प्रश्न गर्नुहुन्छ ‘दिसाजन्य लेदो मिसिएको पानी खाएपछि हामी कसरी निरोगी हुन्छौं ?’

हो, दिसाको रस मिसिएको पानी पिउने तपाई हामी निरोगी बन्नै सक्दैनौं । त्यसैले फोहोरपानी तथा दिसाजन्य लेदोलाई प्रसोधन नगरी वातावरणमा विसर्जन गर्नुहुँदैन । उहाँको एउटै आग्रह छ ‘अहिले ढलको अन्तिम विन्दुबाट बाग्मती तथा बिष्णुमतिमा दिसा मिसिएको फोहोर पानी पठाइरहेका छौं, अब त्यसलाई डाइभर्ट गरेर प्रसोधन केन्द्रमा लानुपर्यो, प्रसोधन बिना कहीं पनि विसर्जन गर्नुहुँदैन, तपाईहरुको पैरवी पनि यही हुनुपर्छ ।’

उहाँले हालै दक्षिण अफ्रिकाको केपटाउनमा सम्पन्न पाँचौ दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी सम्मेलनको सिकाई पनि आदानप्रदान गर्नुभयो । यस सम्बन्धी सामग्री अर्को अंकमा ।  WASHkhabar हेर्दै गर्नुहोला ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार