महर्जन स्क्वायर अर्थात जीवनभर फोहोर बढार्ने अभियन्ता

काठमाडौ : अभियान पनि थरी थरीका, नेपालको संघीय राजधानी काठमाडौमा जन्मिएका राजमान महर्जन र सुशीला महर्जन फोहोर बढार्ने अभियानमा हुनुहुन्छ ।

नेवारी परिकारलाई चिनाउन सक्रिय सुशीला महर्जन र जग्गा कारोबारी राजमानले २०६७ साल भदौ देखि बढार्ने अभियान चलाउनुभएको हो । 

सुन्दा असम्भव जस्तो लागेपनि उहाँहरुले यो अभियानमा ८ बर्ष विताई सक्नुभएको छ । नेपालमा मात्र होइन बंगलादेशमा समेत कुचो चलाइसक्नुभएको छ । अझ भारत, श्रीलंका, भुटान, माल्दिभ्स लगायत देशमा समेत बढार्ने अभियान चलाउने तयारीमा हुनुहुन्छ ।

२०७० मा इलाम–भैरहवा, ०७२ मा इलाम–महाकाली सम्म सरसफाइ अभियान चलाएका उहाँहरु यो वर्ष मेची–महाकाली सरसफाइमा हुनुहुन्छ ।
कीर्तिपुर थम्बहालमा नेवा लहना नामक संस्थामा नेवारी परिकारलाई चिनाउन सक्रिय सुशीला महर्जन र जग्गा कारोबारी राजमानले २०६७ साल भदौ देखि बढार्ने अभियान चलाउनुभएको हो । ८ बर्षको अवधिमा उहाँहरुले नेपालका ६१ नगरपालिकामा १० पटक सम्म यो अभियान सञ्चालन गरिसक्नु भएको छ ।

जहाँ फोहोर देख्यो, त्यहीं बढार्ने उहाँहरुको अभियान हो । बढार्ने समयमा उहाँहरु सेतो टिसर्ट, सेतो हाफ पाइन्ट, एप्रोन, मास्क, चस्मा लगाउनुहुन्छ । टिसर्टमा लेखिएको हुन्छ ‘मैले नगरे कसले गर्छ’ लेखेको टिसर्ट लगाउने गर्छन् ।

२०६७ सालमा स्थानीयको सहयोगमा कीर्तिपुरको डम्पिङ साइट १ घण्टामै सफा गरेपछि उहाँहरुले यो अभियान थाल्नु भएको हो । कीर्तिपुरमा रहेको ‘नेवा लहना’ संस्थाले गत वर्षदेखि अभियानलाई समन्वय गरेको छ । सुरुमा २ सय ६८ जना स्थानीयलाई ३० समूह बनाएर दिनहुँ २५ मिनेट आलोपालो सफा गर्ने अभियान चलाइएको अभियन्ता सुशीला महर्जनले बताउनुभयो । उहाँका अनुसार दैनिक ९ जनाले सफा गर्थे । तर अहिले पुराना स्वयंसेवी घटेका छन् भने नयाँ स्वयंसेवी बढेका छन् । उहाँहरूबाट प्रेरित भएर केही नगरपालिकाले सामूहिक सरसफाइ अभियान समेत चलाउन थालेका छन् ।

नियमित भुँइ बढार्दै आउनुभएका उहाँहरुको नियमित आम्दानी भने छैन । ब्रस (प्लास्टिकको कुचो), पञ्जा, एप्रोन, मास्क लगायत सबै सामग्री स्वयं व्यवस्थापन गर्नुहुन्छ । ‘खर्च माग्दैनौं, स्वतः स्र्फूत हुने सहयोग लिन्छौँ’ सुशीलाले भन्नुभयो ‘जहाँ सफा ग¥यो, त्यही बस्ने गरेका छौं ।’

जबसम्म घर–घर पुगेर फोहोर संकलन गर्ने विधि हट्दैन, तबसम्म सफा सहर नबन्ने अभियन्ता रजमान महर्जनले बताउनुभयो । फोहोर जथाभावी फालेमा कारबाही गर्न बनेका ऐन कार्यान्वयनमा ल्याउनुपर्ने उहाँको भनाइ छ । ‘कुचिकार राखेर सधै सफा गर्न सम्भव हुँदैन, नजिक भएका सबैले नियमित आफैले सफा गर्ने हो भने स्वतः सफा सहर बन्छ’ उहाँले भन्नुभयो ।

५४ वर्षीय राजमानको घरमा ९६ वर्षकी आमा, श्रीमती र २ छोरा हुनुहुन्छ । सुशीलाको १ छोरा र १ छोरी हुनुहुन्छ । आजीबन बढार्ने अभियान सञ्चालन गर्ने र राष्ट्रलाई फोहोरमुक्त बनाउन केही न केही योगदान दिने उहाँहरुले प्रतिबद्धता जनाउनुभएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार