उहाँको एउटै नारा छ ‘जय सरसफाइ’ ।
देशभर जहाँ – जहाँ सरसफाइ अभियान हुन्छन्, उहाँ त्यही पुग्नुहुन्छ । उहाँ जहाँ पुग्नुहुन्छ त्यहाँ सरसफाइ अभियानको सुरुवात गरिहाल्नुहुन्छ । उहाँ पहिले नै सरसफाइ गर्ने जत्था तयार पार्नुहुन्न । तर उहाँ पुगेको ठाउँमा स्वयंसेवी भावनाले ओतप्रोत भएका मानिसहरु सरसफाइ गर्न जुर्मुराउछन् र अभियानको अगुवाई गर्ने जिम्मेवारी पनि उनीहरुले नै लिन्छन् ।
देशको कुना कन्दरामा पुगेर सरसफाइको माहौल बनाउने र स्थानीयलाई सरसफाइको अगुवाई गर्न सक्षम बनाउने अभियानका सूत्रधार हुनुहुन्छ सिरहाका धिरेन्द्र केआर । देशभर चलिरहेका विभिन्न सरसफाइ अभियानहरु मध्ये सिरहाको धैरैजसो ठाउँ, सप्तरी, सुनसरी मोरङ, धनकुटा, उदयपुर, सिन्धुली, धनुषाको ढल्केबर, सर्लाहीको लालबन्दी, बारा पर्साका विभिन्न गाउँहरु, पोखरा, चितवन र काठमाडौका विभिन्न सफाइ अभियानमा उहाँ सरिक भइसक्नुभएको छ ।
उहाँले आफ्नै पहलमा सुरु गरेको ५ ठाउँमा अहिले पनि साप्ताहिक सरसफाइका कामहरु भईरहेका छन् । चितवनको क्यान्सर हस्पिटल क्षेत्र, जनकपुर, सर्लाहीको लालबन्दी, महोत्तरीको बर्दीबास र ललितपुरको गोदावरी खोला सरसफाइ अभियान अहिले पनि चलिरहेका छन् ।
ती सबै अभियानमा उहाँको उपस्थिति हुनुपर्छ भन्ने छैन । सुरुका दुई तीन हप्ता सरिक भएर सरसफाइको माहौल बनाएपछि उहाँले त्यहीका अभियन्ताहरुलाई सुम्पिनुहुन्छ । सरसफाइ अभियन्ता धिरेन्द्र केआर भन्नुहुन्छ ‘समाजमा काम गर्ने खालको मान्छे त हामी चिनिहाल्छौं । सामाजिक काममा रुचि भएको व्यक्ति पत्ता लगाएपछि उहाँसँग सहकार्य गरेर काम गर्न थाल्छौं ।
त्यसपछि काम गर्दै जाँदा टिम बन्न थाल्छ । किनकि हामी कुनै संस्थाका हुँदैनौं, न हामी नेपाल सरकारको प्रतिनिधित्व नै भएर गएका हुन्छौं । यो कुरा बुझ्दै गएपछि यो स्वयंसेवी अभियान हो भन्ने थाहा पाउँछन् र मानिसहरु जाग्दै जान्छन् । त्यसपछि दुई चार सप्ताह गएर बानी पारिदिने र उनीहरुलाई नै जिम्मेवारी दिने हो, अहिले सम्म यसरी नै चल्दै आएको छ ।’
यसरी सुरु भएको थियो अभियान
सिरहा नगरपालिकामा ऐतिहासिक शुभ पोखरी छ । त्यही शुभ पोखरीको डिलमा दुर्गा महारानीको मन्दिर छ । मानिसहरु शुभ अशुभ जस्तो सुकै कर्ममा पनि त्यही पोखरीको जल दुर्गा महारानीलाई अर्पण गरेर मात्र सुरु गर्थे । तर शुभ पोखरी फोहोरको अतिक्रमणमा परेर बिलाउन लागिसकेको थियो । धिरेन्द्र केआरले त्यही पोखरीको फोहोर सफा गर्न थाल्नुभयो ।
त्यसपछि एक पछि अर्को गर्दै अभियानलाई विस्तार गर्नुभयो । यहाँ सम्म कि उहाँले विरामीको कुरुवा बस्दा समेत सरसफाइ अभियानलाई नयाँ ठाउँमा बिस्तार गर्नुभयो ।
कुरा चितवनको क्यान्सर अस्पतालको हो । उहाँको काकीलाई अस्पताल भर्ना गरिएको थियो । क्यान्सरको विरामीलाई लामो समयसम्म हस्पिटल राख्नुपर्ने भएपछि अस्प्तालमा बसिरहनुभन्दा कुनै राम्रो काम गर्ने सोच आयो । उहाँको आँखा वरपर सरसफाइ डुल्न थाल्यो । कहाँ सरसफाइ गर्ने त ? उहाँले आफ्नै आँखा अगाडि जथाभावी फोहोर फाल्ने मानिसहरु देखेपछि सरसफाइको क्षेत्र क्यान्सर हस्पिटललाई नै बनाउने निधो गर्नुभयो ।
त्यहाँ सफाइ अभियान चलाउँदा कतिले त यो मधेसिया आएर के गर्न खोज्दैछ पनि भनेका थिए रे ! तर अभियानबारे सबैले बुझेपछि उहाँले साथ पाउनुभयो । ८४ विगाहामा फैलिएको अस्पताल क्षेत्रमा अहिले पनि सरसफाइ अभियान चलिरहेको छ ।
समाजले भने ‘यो सुखभोग गर्ने केटो होइन’
देशभरिको फोहोर व्यवस्थापन गर्दै हिड्न उहाँलाई कुनै बाध्यता छैन । न कुनै स्वार्थ नै लुकेको छ यो अभियानमा । ठूलो जमिनदारको छोरो फोहोर टिप्दै हिडेको देखेपछि उहाँलाई सुरु सुरुमा पत्याएनन् पनि ।
‘सामाजिक कामबाट स्पेस बनाएर राजनीतिमा छिर्ने होला ?’ कतिले त यसो पनि भनेका थिए रे । तर जब विभिन्न अवसरहरु आउँदा समेत उहाँले इन्कार गर्नुभयो पछि समाजले नै भन्न थाले ‘‘यो सुखभोग गर्ने केटो होइन ।’
शिक्षाप्रेमी हजुरबाको ‘नाती’ हुँ
उहाँ आफूलाई शिक्षाप्रेमी हजुरबाको समाजसेवी नातीको रुपमा प्रस्तुत गर्नुहुन्छ । उहाँका हजुरबाले पनि समाजमा शिक्षाको ज्योति फैलाउन ठूलो योगदान गर्नु भएको थियो रे ! ‘८० बर्ष पुगेको हजुरबाले आफ्नै घरको बच्चालाई पढाउनका लागि आफैले मन्दिर बनाउनुभएको थियो । पण्डित जी लाई राखेर बच्चालाई पढाउने व्यवस्था मिलाउनुभयो ।
पहिले घरको, पछि आफन्तका बच्चाहरुलाई पनि त्यही ल्याएर पढाउनुभयो । जब टोलबासीलाई पढाउनुपर्छ भन्ने लाग्यो त्यसपछि उहाँले स्कुल स्थापना गर्न ३० बिगाहा जग्गा दान गर्नुभयो ।’ उहाँले हजुरबाको बिषयमा बेलिबिस्तार लगाउनुभयो ।
सरसफाइ अभियन्ता धिरेन्द्र भन्नुहुन्छ ‘मैले हजुरबाले जस्तो जग्गा नै दान त गरेको छैन, तर २ बिगाहा जग्गा नै बेचेर यदि नेपाललाई सफा र सुन्दर बनाउनका लागि मैले खर्च गरें भने के जान्छ मेरो ? मैले यसो गर्न सकेको खण्डमा हजुरबाले सोचेको काममा एक इटा थप्न सक्छु कि ?
‘शिक्षाप्रेमीको नाती भएकाले केही बंशाणुगत गुण त म मा पनि सरिहााल्छ नि ?’ उहाँले हाँस्दै भन्नुभयो ।
सँगै सुतेको साथीले साथ छोड्दा ……….
नितान्त सामाजिक काम, त्यो पनि स्वयंसेवी भावनाले आफै जागृत भएर गरेको काम । तर पनि हौसला दिनेहरु भन्दा पनि चुक्ली लाउनेहरु भेटिनु भएको छ उहाँले ।
एक दिनको कुरा हो । भोलिपल्ट सरसफाइ अभियानको आयोजना गर्ने सल्लाह गरेर राती सँगै सुतेका साथीले बिहान उठ्दा साथ छोड्यो । राती सँगै सुतेको साथीले बिहान साथ छोडेपनि उहाँले आँट हार्नुभएन । बरु त्यसलाई शक्तिमा बदलेर सफलताको अर्को रणनीति बुन्न थाल्नुभयो र सफल पारेरै छाड्नुभयो ।
डिवाससीसीको कार्यालयमा ताला ….
सरसफाइ अभियन्ता धिरेन्द्रले सिरहाको १३० वटा विद्यालयमा खुला दिसामुक्त अभियानमा विद्यार्थीको भूमिकाका बिषयमा अनु शिक्षण कार्यक्रम गरिसक्नु भएको थियो । कसैको एक रुपैयाँ पनि नलिई उहाँले गरेको काम देखेर तत्कालीन डिवाससीसीले उहाँलाई ‘सरसफाइ दूत’ घोषणा गर्यो ।
तर उहाँलाई सरसफाइ दूतमा मनोनयन गरेको भोलिपल्टै केही राजनीतिक दलका व्यक्तिहरुले सिरहा जिल्लाको डिवाससीसीमा ताला लगाइदियो । त्यो ताला तीन महिनासम्म खुल्न सकेन । ती विरोधीहरुले उहाँलाई राजीनामा दिनुहोस् भनेर प्रेसर गथ्र्यो ।
सरसफाइ अभियानलाई स्वार्थ रहित भावनाले सहयोग गर्दा समेत नबोल्ने, दुरदुर गर्ने, तिरस्कार गर्ने जस्ता कयौं नमीठा घटनाहरुसँग उहाँले सामना गरिसक्नुभएको छ । तर उहाँको पाइला निरन्तर अघि बढिरहेको छ ।
सिरहा बजार बन्द गर्दाको क्षण
सरसफाइ अभियन्ता धिरेन्द्र केआरले चलाएको सरसफाइ अभियानकै कारण उद्योग बाणिज्य संघ सिरहाले त बजार नै बन्द गरेको रहेछ । कुराकानीको शीलशीलामा अभियन्ता केआरले सिरहामा व्यापारीले अतिक्रमण गरेर बनाएको टहरा हटाउने क्रममा यो व्यापारी विरोधी काम हो र व्यवसायलाई प्रभावित बनाउने समाजको जिम्मेवारी होइन, यो हाम्रो अधिकार हो भन्दै उद्योग बाणिज्य संघले दुई दिन बजार बन्दको आव्हान गरेको बताउनुभयो ।
‘श्री चन्द्र उच्च माध्यमिक विद्यालय सिरहा, अस्पतालको अगाडि, सिडिओ अफिसको अगाडि, नगरपालिकाको अगाडि र कारागारको अगाडि पनि रक्सीको पसल, पान पसल र अन्य पसलहरु सञ्चालन भइरहेको थियो । त्यो अतिक्रमण गरेर बनाएको टहरा जब हटाउन सुरु भयो, उद्योग बाणिज्य संघले हाम्रो विरुद्ध माइकिङ गरेर बजार नै बन्द गराए ।’ त्यो बेलाको अवस्था सम्झिदै उहाँले भन्नुभयो ।
अबको योजना
अब प्रदेश २ का केही जिल्लाहरु सहित खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेका जिल्लाहरुलाई अन्तिम धक्का दिएर भए पनि देशलाई खुला दिसामुक्त घोषणा गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
जब देश खुला दिसामुक्त घोषणा हुन्छ त्यसपछि मात्र पूर्ण सरसफाइको यात्रा सुरु हुने र पूर्ण सरसफाइमा यस्ता अभियानहरु टोलै पिच्छे चलाउनुपर्ने उहाँको भनाई छ ।
‘म यसरी नै लागिरहन्छु, जबसम्म देश सुन्दर र सफा हुने छैन, अब म हिमाली भेगमा गएर सरसफाइ अभियान चलाउन चाहन्छु । मेरो अभियानले देशमा रहेको फोहोरमैला मात्र होइन, मन भित्र भएको द्धेष, विभेदको भावनालाई पनि सफा गर्न सकुँ ।
हिमाल, पहाड र तराई बीच भएको क्षेत्रीय विभेदलाई न्यूनीकरण गर्न सकुँ । मलाई लाग्छ सरसफाइ देश जोड्ने, भाइचाराको सम्बन्ध स्थापित गराउने काममा अवश्य सहयोगी सिद्ध हुनेछ ।
जय सरसफाइ ।