काठमाडौ : तपाई खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्रमा कार्यरत हुनुहुन्छ भने वास क्षेत्रमा प्रयोग भईरहने शब्दावली बारे थाहा पाउन जरुरी छ । जब तपाई यी शब्दावलीहरुका बारेमा थाहा पाउनुहुन्छ, आफूले पाएको जिम्मेवारी पूरा गर्न पनि सजिलो हुन्छ ।
तपाईले सम्पादन गर्नु भएको कामले नै आफ्नो कार्यदक्षता, सीप र कार्यकौशलता प्रदर्शन हुने भएकाले तपाईले यी शब्दावलीबारे थाहा पाउन जरुरी छ ।
सरसफाइ
मानव मलमूत्रको सुरक्षित विसर्जनका लागि सेवा र सुविधाहरुको व्यवस्थालाई सरसफाइ भनिन्छ । सरसफाइले फोहोरमैला संकलन र फोहोर पानीको विसर्जन मार्फत स्वच्छता कायम गर्नुलाई बुझाउँछ । जनस्वास्थ्य प्रबर्धनका लागि गरिएका विभिन्न स्वस्थकर क्रियाकलापहरुको समग्र कार्य सफाइ हो ।
स्वच्छता
स्वच्छता भन्नाले आफू र वरिपरिको वातावरण सफा गरी रोगको विस्तार रोक्नु र बिरामी हुनबाट बच्न अपनाइने सम्पूर्ण व्यवहारहरु हुन् । स्वच्छताले व्यक्ति र समुदायको आनीबानीलाई जनाउँछ ।
सफा र स्वच्छ अवस्था
सफा र स्वच्छ चरणका सूचकहरु पूरा गरेपछि सम्बन्धित समन्वय समितिबाट अनुमोदन एवं प्रमाणीकरण भएको अवस्था ।
पूर्ण सरसफाइ उन्मुख अवस्था
सफा र स्वच्छ, पूर्ण सरसफाइ उन्मुख दुवै चरणका सूचकहरु पूरा गरेपछि सम्बन्धित समन्वय समितिबाट अनुमोदन एवं प्रमाणीकरण भएको अवस्था ।
सार्वजनिक शौचालय
सार्वजनिक स्थानमा हिडडुल गर्ने जो कोही व्यक्तिले प्रयोग गर्न सक्ने प्रयोगकर्तामैत्री शौचालय ।
संस्थागत शौचालय
विद्यालय, कार्यालय, स्वास्थ्य संस्था जस्ता निकायहरुमा निर्माण गरिएका प्रयोगकर्तामैत्री शौचालय हो ।
सामाजिक समावेशीकरण
समुदायका सबै लिंग, जातजाति, वर्ग, धर्म, व्यवसाय र क्षेत्रका व्यक्तिको योजना तर्जुमा, निर्णय प्रक्रिया र सेवा सुविधामा पहुँच रहेको अवस्था बुझाउँछ ।
विपद व्यवस्थापन
बाढी — पहिरो, आगलागी, भूकम्प, भूक्षय र रोग व्याधिजन्य महामारी जस्ता प्राकृतिक एवं मानव सृजित बिपद सम्बन्धी पूर्व तयारी, उद्धार, पुनर्लाभ, पुनस्र्थापना र पुनः निर्माण व्यवस्थापनको समष्टिगत व्यवस्था हो ।
प्रयोगकर्तामैत्री खानेपानी, सरसफाइ र स्वच्छता (वास) का सुविधाहरु
शारीरिक रुपले असक्षम र अपाङ्गता भएका तथा बालबालिका, वातावरण, लैगिक, जेष्ठ नागरिक आदि सबैलाई प्रयोग गर्न सजिलो हुने प्रयोगकर्तामैत्री (वातावरण, बाल, लैगिक, अपाङ्गता र बृद्ध प्रयोगकर्तामैत्री) वास सुविधाहरु ।
बानी व्यवहार विकास
शौचालयको प्रयोग, साबुन पानीले हात धुने, महिलाको महिनावारी (मासिक धर्म) व्यवस्थापन लगायत र अन्य सरसफाइ र स्वच्छता सम्बन्धी आनीबानीको निरन्तर प्रक्रिया हो ।
दिगो सरसफाइ
स्वचालित र नियमित रुपमा सञ्चालित सरसफाइ हो ।
सुरक्षित पानी
मानव स्वास्थ्यलाई हानी गर्ने भौतिक, जैविक र रासयनिक पदार्थहरु नरहेको पानी भन्ने बुझिन्छ ।
सरोकारवाला
सरकारी, गैर सरकारी कार्यालय तथा निकाय, राजनीतिक दल, विद्यालय, सहकारी, निजी क्षेत्र, नागरिक समाज, आम सञ्चार, उपभोक्ता समितिहरु लगायतका सरोकारवालालाई बुझाउँछ ।
सरसफाइ सुरक्षा योजना
भान्सा कोठा र बाथ रुमबाट निस्केको फोहोरपानी, शौचालयबाट निस्केको फोहोरपानी र बर्षातको फोहोरपानी लगायत मानवमलमूत्र मिसिएको फोहोरपानीलाई प्रशाृेधन गरी पुनः प्रयोग गर्ने व्यवस्थित पद्धति ।
पूर्ण सरसफाइ मार्गदर्शन २०७३ बाट साभार ।