पलाँता गाउँ कार्यपालिकाले बनायो, वास कार्यविधि

मनिराज पाण्डे/कालिकोट

कालिकोट : पलाँता गाउँ कार्यपालिकाले विकास निर्माण कार्यमा सहजता ल्याउन खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि सहित तीन कार्यबिधि पास गरेको छ । खानेपानी सरसफाइ र स्वच्छताको चरम अभाव देखिएको पलाँतामा स्थानीय सरकारले उच्च चासोका साथ खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि पास गरेको पलाँता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनुभयो ।

वाटर एडको सहयोगमा किर्डाक नेपालले केही समय पहिले गरिएको सर्बेक्षण अनुसार न्युनतम खानेपानीमा पहुँच भएको घरधुरी संख्या ८५ प्रतिशत छ । न्युनतम खानेपानीमा पहुँच भन्नाले खानेपानी पाउने तर धेरै समय कुर्नुपर्ने, खानेपानीको गुणस्तर चेकजाँच नगरिएको अवस्था हो । खानेपानी नपाएकै कारण ज्यान गुमाउनु पर्ने अवस्था नभएकाले न्युनतम खानेपानीमा पहुँच भनिएको हो ।

कार्यपालिकाले बिद्यायालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यबिधि २०७५ र बिपद् ब्यवस्थापन कोष संचालन तथा ब्यवस्थापन कार्यविधि २०७५ समेत पास गरेको छ । खानेपानी सरसफाइ तथा स्वच्छता कार्यबिधि २०७५ अनुसार गाउँपालिकाका गाउँपालिका अध्यक्षको अध्यक्षतामा र वडा समितिमा वडा अध्यक्षको अध्यक्षतामा खानेपानी सरसफाइ तथा स्वच्छता समिति गठन गरिने भएको छ ।

गाउँपालिका स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समितिले पलाँता गाउँपालिकालाई पूर्ण सरसफाई बनाउन योजना तर्जुमा गर्ने, खुल्ला दिसामुक्त क्षेत्र घोषणालाई दिगो बनाउदै पूर्ण सरसफाई सुनिश्चितता गर्ने, पलाँता गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य, सरसफाइ र फोहोरमैला व्यवस्थापनका क्षेत्रमा काम गर्ने संघ संस्थाहरु बिच समन्वय गर्ने लगायतका कार्यहरु गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी स्वास्थ्य, सरसफाइ र फोहोरमैला व्यवस्थापनका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको श्रोत र साधनलाई एकीकृत परिचालन गर्ने व्यवस्था मिलाउने, पूर्ण सरसफाई र स्वच्छता सम्बन्धी बानी व्यवहार विकास गर्न अभियान संचालन गर्ने, पूर्ण सरसफाई, फोहोरमैला व्यवस्थापनका लागि वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समितिलाई आवश्यक सहयोग गर्ने व्यवस्था मिलाउने लगायतका कुराहरु पनि कार्यविधिमा उल्लेख गरिएको छ ।

खानेपानी, सरसफाई तथा स्वच्छता कोषको व्यवस्थापन गर्ने, खानेपानी सरसफाइ तथा स्वच्छता उपभोक्ता समितिको क्षमता विकास गरी खानेपानी महसुल निर्धाण गर्ने गराउने काम समेत गाउँपालिका स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गर्नेछ ।

वडा स्तरमा खानेपानी सरसफाइ तथा स्वच्छता ब्यवस्थापन समितिले वडालाई खुला दिसामुक्त क्षेत्र पश्चातका योजना बनाउने र कार्यान्वयन गर्ने, वडामा खुल्ला दिसामुक्त क्षेत्र घोषणालाई दिगो बनाउदै पूर्ण सरसफाइ सुनिश्चितता कायम गर्ने, वडामा गठन भएका टोल विकास संस्थाहरुलाई वडाको खुल्ला दिसामुक्त र पूर्णसरसफाइ अभियानमा परिचालन गर्ने, वडाभित्र रहेका स्वास्थ्य, सरसफाइ र फोहोरमैला व्यवस्थापनका क्षेत्रमा काम गर्ने संस्थाहरु बीच समन्वय गर्ने लगायतका कार्यहरु गर्ने उल्लेख गरिएको छ ।

 

विद्यालयहरूमा खानेपानी र सरसफाइको सुविधा एवम् स्वच्छ वातावरणको विकास तथा प्रवद्र्घन गर्न बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यबिधि २०७५ गाउँ कार्यपालिकाले पास गरेको छ । कार्यमा एकरूपता ल्याई सिकाइ उपलब्धी तथा शैक्षिक गुणस्तरमा सुधार गर्न कार्यविधि आवश्यक भएको शिक्षक पुर्णबहादुर शाहीले बताउनुभयो । खानेपानी सरसफाइ तथा स्वच्छता सेवा तथा नीति निर्माणमा किर्डाक नेपालले सहजिकरण गरिरहेको वास थिम लिडर नविनकुमार शाहीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार