मेसिनबाट धुँवा, धुलो, गन्ध, ध्वनि एक थोपा आउँदैन, यो मेसिनलाई ९५ लाख पर्छ’ लामाले भन्नुभयो ।
काभ्रे : बनेपा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि अत्याधुनिक जापानिज प्रविधि भित्र्याउने भएको छ । फोहोर व्यवस्थापनका लागि धुँवा, ध्वनि र प्रदूषणरहित जापानिज प्रविधि भित्र्याउन लागेको नगरपालिकाले जनाएको छ ।
फोहोर व्यवस्थापनका लागि अनेकौं उपाय लगाउँदा पनि सफल नभएपछि नगरपालिकाले जापानी प्रविधि भित्र्याउन लागेको हो । नगरपालिकाले ल्याउन लागेको मेसिनले फोहोर जलाएर खरानी बनाउने र जलाउने क्रममा धुँवा समेत नआउने बताइएको छ । त्यस्तो खरानीलाई मलका रूपमा प्रयोग गर्न पनि सकिन्छ ।
नेपालका लागि हिटा ग्रुपले उक्त मेसिन विक्री वितरण गर्ने म्यानेजर ग्याल्पो लामाले जानकारी दिनुभयो । लामाले जापानिज प्रविधि धुवाँरहित चिम्नीको २० फिट उचाइ, दुई सय सेन्टिमिटर लम्बाइ, एक सय ५० सेन्टिमिटर चौडाइ र १५ सय किलो वजन रहेको म्यानेजर लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेसिनले प्रतिघन्टा ३० देखि ४० किलो फोहोर जलाउन सक्छ । जापानिज प्रविधिमा एल्मुनियम धातुबाट बनेको उक्त प्रविधि पानी, विद्युत र डिजेलको एकसाथ प्रयोगबाट चल्ने लामाले जानकारी दिनुभयो ।
उक्त मेसिनले १० घन्टामा २५ युनिट विद्युत र २५ लिटर डिजेल खपत गर्छ । उक्त प्रविधि वातावरणमैत्री भएकाले फोहोर व्यवस्थापन गर्न उपयुक्त हुने हिटा ग्रुपको दाबी छ । उक्त मेसिनबाट उत्पादन भएको तातोपानी पिउन, खाना पकाउन, नुहाउन र लगुा धुन पनि मिल्ने लामाले बताउनुभयो ।
जापानले सन् १९६० देखि नगरपालिकामा उत्पादित फोहोरलाई इन्सिनेरेटरमा हालेर जलाउन थालेको हो ।
फोहोरको खरानी मल बन्ने
मेसिनमा फोहोर जलाएर निस्कने खरानीबाट टायल, ब्लग र तरकारी खेतीमा प्रयोग गर्न सकिनेछ । ‘जापानिज प्रविधबाट बनेको एफ वान मोडलको चिम्नी वातावरणमैत्री छ, जसको प्रयोगले फोहोरको व्यवस्थापन सजिलै गर्न सकिन्छ ।, उक्त मेसिनबाट धुँवा, धुलो, गन्ध, ध्वनि एक थोपा आउँदैन, यो मेसिनलाई ९५ लाख पर्छ’ लामाले भन्नुभयो ।
बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिं बादेले फोहोर व्यवस्थापन गर्न उपयुक्त मेसिनको खोजी गर्ने क्रममा जापानिज प्रविधिको मेसिन आयात गर्न लागेको बताउनुभयो । जापानिज प्रविधिको उक्त मेसिन ल्याउने तयारी भएको मेयर बादेले जानकारी दिनुभयो ।
एफ वान मेसिनले दिनमा तीन देखि चार सय किलो मात्र फोहोर जलाउन सक्छ । तर, दैनिक ७, ८ टन फोहोर संकलन हुने बनेपा नगरपालिकालाई त्यो भन्दा ठूलो मेसिनको आवश्यकता हुने उहाँले बताउनुभयो ।
उक्त मेसिन वडा नम्बर ९ मा रहेको कृषि फर्ममा राख्ने निर्णय गरेको छ । स्थानीयले भने त्यसको विरोध गरेका छन् । खेतीयोग्य जमिन मासेर फोहोर जलाउने प्लान्ट स्थापना गर्न नदिने स्थानीयको अडान छ ।