भक्तपुर : भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रलाई पूर्ण सरसफाइयुक्त बनाउन अभियान सुरु गरेका छन् । चाँगुनारायणले ०७८ भित्र र सूर्यविनायकले ०७९ भित्र सरसफाइयुक्त स्वच्छ र सुन्दर नगर बनाउने अभियान थालेका हुन् । खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मार्फत पूर्ण सरसफाइ कार्यक्रम सुरु भएको हो ।
नगरपालिकालाई दुई वर्षभित्र पूर्ण सरसफाइयुक्त स्वच्छ, सुन्दर र समृद्ध नगर बनाउन पूर्ण सरसफाइ अभियान थालिएको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले बताए । दुवै नगरपालिकाले पूर्ण सरसफाइउन्मुख घोषणा गर्ने लक्ष्यसहितको ‘सरसफाइ रणनीतिक योजना’ समेत बनाएका छन् । ‘सरकारले सन् २०३० भित्र दिगो सरसफाइउन्मुख राष्ट्र बनाउने लक्ष्य लिएको छ, त्यही अन्तर्गत हामीले पनि नगरपालिकालाई सरसफाइयुक्त बनाउन लागेका हौँ,’ मिश्रले भने । यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
अभियानका लागि दुईवटै नगरपालिकामा विश्व सरसफाइ कोष कार्यक्रमले सहयोग पुर्याएको छ । अभियानको पहिलो चरणमा दुई नगरपालिकामा गरी करिब एक करोड रुपैयाँ खर्च हुने भएको छ । कोषले युएन–ह्याबिटेटमार्फत चाँगुनारायण नगरपालिकालाई मात्रै ३९ हजार सात सय ४६ अमेरिकी डलर उपलब्ध गराउने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत चिरिञ्जीवी तिम्सिनाले बताए ।
अभियानका लागि नगरपालिकाले तीन हजार आठ सय २४ डलर मात्रै खर्च गर्नुपर्ने सम्झौतामा उल्लेख छ । अभियानले समृद्ध नगर निर्माणका लागि मद्दत पुग्ने र वास्तविक समृद्धिको सूचकका रूपमा समेत सरसफाइलाई लिन सकिने उनले बताए । कोषले सूर्यविनायक नगरपालिकालाई पनि ३९ हजार सात सय ४६ अमेरिकी डलर उपलब्ध गराउने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए । नगरपालिकाले कोषले दिएको रकमको दश प्रतिशत अर्थात् तीन हजार आठ सय २४ डलर साझेदारी गर्ने उनले बताए ।
सो बजेटबाट नगरपालिकामा सरसफाइसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछ । तथ्यांक संकलन, सरसफाइ सचेतना र सरोकारवाला छलफलका लागि स–साना कार्यक्रममा बजेट खर्च गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएका छन् ।
वातावरण सरसफाइ अभियान
सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रको हनुमन्ते र अरनिको राजमार्गमा नियमित सरसफाइ गर्ने गरेको छ । चाँगुनारायण नगरपालिकाले पनि साप्ताहिक रूपमा सरसफाइ कार्यक्रम गर्दै आएको छ । दुवै नगरपालिकाले नगरवासीलाई फोहोर गर्ने बानी र फ्याँक्ने स्थानबारे समेत ध्यान पु¥याउन सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।
वातावरण सफा राख्नुपर्ने सन्देशसहित फोहोर फ्याँक्ने र व्यवस्थापन गर्ने कार्यमा सर्वसाधारणलाई सामेल गराउन सचेतना फैलाउँदै सरसफाइ अभियान सञ्चालन गरिएको सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले बताइन् । उनले ०७८ भित्र नगरका सबै वडालाई पूर्ण सरसफाइयुक्त बनाउने र ०७९ मा सिंगो नगरपालिकालाई नै पूर्ण सरसफाइयुक्त नगरपालिका घोषणा गर्ने गरी सरसफाइ अभियान थालिएको जानकारी दिइन् ।
चाँगुनारायण नगरपालिकाले पनि विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरबाट साप्ताहिक सरसफाइ सुरु गरी २० औँ हप्तासम्म निरन्तर सरसफाइ गर्दै आएको उपप्रमुख बिना बाँस्तोलाले बताइन् । ‘सरसफाइमा स्थानीयवासी र सरोकारवाला संघसंस्थाको सहभागिता छ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीले पनि सघाएका छन्,’ उनले भनिन् । साप्ताहिक रूपमा हुने सरसफाइ कार्यक्रममा जनप्रतिनिधि आफैँ खटिने गरेका छन् ।
सरसफाइका सूचक
सरसफाइको पहिलो सूचक भनेकै चर्पीको प्रयोग हो । ०६८ को जनगणनाअनुसार नेपालमा ६२ प्रतिशत जनताले चर्पी प्रयोग गर्छन् । भक्तपुर उपत्यकाकै पहिलो खुला दिसामुक्त जिल्लाका रूपमा यसअघि ०७० मै खुला दिसामुक्त घोषणा भइसकेको छ । व्यक्तिगत सरसफाइ, सुरक्षित पानी र खाना, घरायसी एवं संस्थागत र वातावरण सरसफाइ पूर्ण सरसफाइका अन्य प्रमुख सूचक हुन् ।
सरसफाइका यी सबै सूचक पूरा गर्ने गरी अभियान थालिएको चाँगुनारायणका मेयर मिश्रले बताए । नगरपालिकामा सञ्चालित कार्यक्रमअन्तर्गत पहिलो चरणमा हालको तथ्यांक अपडेट गरिनेछ ।