सरसफाइको अबको बाटो कता ? सरसफाइविद नमस्तेलाल श्रेष्ठसँग कुराकानी

 

नमस्तेलाल श्रेष्ठ, कहिल्यै नथाक्ने सरसफाइ योद्धाको नाम हो । जागीरको दौरानमा त छँदै हुनुहुन्थ्यो तर सेवा निवृत्त भइसकेपछि पनि उहाँले आफ्नो बाटो छोड्नु भएन । ३० बर्ष भन्दा लामो समयसम्म युनिसेफमा सरसफाइविदको रुपमा काम गरेर सेवा निवृत्त हुनुभएका श्रेष्ठले मनिटरिङ एक्सन टीममा रहेर काम गर्नुभयो र देशको खुला दिसामुक्त अभियानमा योगदान पुर्‍याउनुभयो ।

उहाँले सरसफाइ अभियानमा पुर्‍याएको योगदानको कदर स्वरुप खुला दिसामुक्त घोषणा नेपाल समारोहमा उहाँ वास च्याम्पियनबाट सम्मानित हुनुभयो । सरसफाइविद नमस्तेलाल श्रेष्ठसँग सहकर्मी चेतन राईले सरसफाइ अभियानको उतारचढाव र अबको बाटोका बिषयमा कुराकानी गर्नुभएको थियो ।

सुरुमा धेरै धेरै बधाई छ तपाईलाई, देश खुला दिसामुक्त घोषणा भएकोमा, अनि तपाई वास च्याम्पियन हुनुभएकोमा पनि ?

धन्यवाद ! हुन त यो दक्षिण एसियाको पहिलो भनेर भन्यौ । खुल्ला दिसामुक्त घोषणा र अग्रसरताको आधारमा नेपाल पहिलो नै हो । बास्तवमा भन्ने हो भने खुल्ला दिसामुक्त क्षेत्र संसारमा कुनै देश पनि भएको छैन । तर युरोपियन र अमेरिकन देशहरुमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न पनि आवश्यक छैन ।

संसारमा सबैभन्दा सुन्दर देश नेपाल भनिए पनि कलंकको रूपमा खुल्ला दिसा थियो । तर अब कलंक हटाउन सफल भएका छौ । अव निर्धक्कका साथ नेपाल सुन्दर र स्वच्छ देश भन्न सक्छौ । किनकि नेपाल स्वच्छ र सफा नेपालको अग्रसरताका रुपमा शुभारम्भ भएको छ । २० वर्षअघिसम्म तराईको कुनैपनि गाउँ पस्दा दिसा नकुल्चिकन गाउँ पस्न नसक्ने अवस्था थियो । तर अहिले आकाश जमिनको फरक भइसकेको छ । यति दर्दबाट हामी माथि उठिसकेका छौ । यो नै खुशीको कुरा हो ।

 

देश खुला दिसामुक्त घोषणा त भयो । तर दक्षिण एसियाकै पहिलो खुलादिसामुक्त राष्ट्र भन्ने बनाउनका लागि मात्र यत्ति धेरै हतार गरिएको हो भन्ने कुरा पनि आयो ? पहिलो हुनु र नहुनुले के फरक पर्छ ?

नेपालमा सन् २००० को तथ्याङ्क हेर्ने हो भने झाडापखालाको कारण वार्षिक ७/८ हजार जना मरिराथ्यो तर अहिले १२०० मा झार्न सफल भएका छौ । हामीले हजारौ बच्चाको ज्यान बचाउन सफल भएका छौ । यो भन्दा ठुलो खुशीको कुरा के हुन्छ ? कुनै दुर्घटनामा एक जना बच्चा केही भयो भने बचाउन ज्यान दिन्छौ । तर हामीले झाडापखालाको रोकथाम गरेर हजारौ बच्चा बचाएका छौं यो गौरवको बिषय हो ।

खुल्लादिसामुक्त त आधारभूत सरसफाइको आधारभूत तह हो । त्यसपछि हामीले पूर्ण सरसफाइमा गर्नुपर्ने कुराहरु चर्पीको मर्मत, अपुग ठाउँमा थप्नुपर्ने, पानीको व्यवस्था गर्नुपर्ने हुन्छ । खानेपानीसँगै सुरक्षित खानाको व्यवस्था, व्यक्तिगत सरसफाइ, घरायसी सरसफाइ, वातावरणीय सरसफाइमा आदिमा जोड दिनुपर्छ ।

खुला दिसामुक्त अभियानलाई अन्त्य गरेर अब हामी पूर्ण सरसफाइमा जाँदैछौं, पूर्ण सरसफाइ त चर्पी गनेर खुला दिसामुक्त घोषणा गरिए जस्तो सजिलो त नहोला ? १, २, ३ भनेर बुँदागत रुपमा भन्नुपर्दा के कस्ता चुनौतीहरु देख्नुहुन्छ ?

धेरै चुनौतिहरु छन् । किनभने हामीले भर्खर पहिलो खुड्किला मात्र पार गरेका छौं । अव अर्काे खुड्किला पार गर्नलाई हामीले जसरी खुल्ला दिसामुक्त क्षेत्रमा सबै लागि प¥यौं त्यसरी नै लागि पर्नुपर्छ । विभिन्न अन्तर्राष्ट्रिय दातृसंस्था, सरकारी निकाय, स्थानीय तह, एनजिओ सबैलाई एकसाथ लिएर यो काम गर्नु आवश्यक छ । हाम्रो सबै स्थानीय तहले प्राथमिकतामा राख्न आवश्यक छ । एक हिसावले भन्दा राजनीतिक हिसावमा पनि उतिकै सकारात्मक हुन आवश्यक छ ।

खुला दिसामुक्त अभियानमा हामी सरसफाइ क्रान्तिको रुपमा सबै लागि परेकै हो । गुरुयोजना बनाएरै काम गरिएको हो । अवको समयमा पनि हामी सबै तह र क्षेत्रबाट एक भएर लागि गर्न सक्छौ भने समयमा नै नेपाललाई पूर्ण सरसफाइ घोषणा गरेर नेपाललाई साँच्चिकै स्वच्छ र सफा बनाउन सक्छौ तर सबैको सहभागिता हुन सकेन भने यो सफल नहुन पनि सक्छ ।

यत्ति धेरै चुनौतीहरुको सामना गर्न हामी तयार छौं त ? पहिले पहिलेको अभियानमा भन्दा खुला दिसामुक्त अभियानमै पनि धेरै संघसंस्थाको सहभागिता कम हुँदै गएको छ ।

म त एकजना सरसफाइ स्वयम्सेवकको रुपमा अभियानमा लागि परेको छु । मैले युनिसेफमा तीस वर्ष काम गरें, विभिन्न संस्थामा काम गरें । शिक्षण गरेको लामो अनुभवको आधारमा भन्ने हो भनें गरे के हुन्न ? यसको लागि सरकारले सबै दातृ निकाय, सहयोगी संस्था र स्थानीय तहलाई एकताबद्ध गर्न सक्नुपर्छ । सरकारले कुरा मात्र नभई एक्सनमा जान आवश्यक छ । जसरी खुल्ला दिसामुक्त अभियानमा सरकारले एक्सन लिएपनि काम गर्न हामी जस्तो अभियन्ता, दातृ निकायको सहयोग रहेको छ । त्यसरी नै पूर्ण सरसफाइको क्षेत्रमा काम गर्नको लागि पनि एक्सनमा जानु आवश्यक छ । सरकारले राम्रो पक्षहरुलाई अगाडि ल्याउने र नराम्रो कुरालाई सुधारेर पूर्ण सरसफाइको क्षेत्रमा एक्सन लिनैपर्छ ।

पूर्ण सरसफाइलाई पनि खुला दिसामुक्त अभियानलाई जस्तै सामाजिक आन्दोलनको रुपमा विकास गर्नका लागि क कसको भूमिका के के हुनुपर्ला ?

हामीले तन, मन, धन लगाएर खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न सफल भएका हौं । सरकारले कदर गरोस् नगरोस् तर हामीले जसरी लगानी ग¥यौं, त्यसरी नै सबै मिलेर अघि बढ्न सक्नुपर्छ । सरकारको कुरा मात्र नभई काम पनि हुन्छ भन्ने भनाईलाई ध्यान दिनसक्यो भने दिगो विकास लक्ष्य २०३० मै पुरा गर्न सकिन्छ । सबै तहबाट काम गर्न सक्यो भने समस्या होईन समाधान निस्कन्छ । सुरुमा काम गर्दा खुल्ला दिसामुक्त पनि सम्भव छैन भन्ने भेटिएकै हो तर हामीले सफलता हासिल गरेकै हो । हामी गछौ, गर्छौ, सक्छौ भनेर लागि परेपछि सम्भव हुन्छ नि !

अन्त्यमा तपाईको केही भन्नु छ ?

सबै मिलेर हामी भव्य र सभ्य तरिकाले सुरुवात गर्‍यो र घोषणा प्रधानमन्त्रीबाट भयो । यो नै नेपालको लागि गौरवको कुरा हो । नेपाल सरकारले २०१७ सम्मको लक्ष्य राखेको थियो तर नेपालमा भुइचालो गयो, तराई डुवानमा पर्‍यो, अघोषित नाकाबन्दी भयो । यस्ता कारणले गर्दा समयमा भएन । साथै सकारात्मक कामको रुपमा स्थानीय तहको चुनाव सम्पन्न भयो । यसले पनि असर ग¥यो । तर हामीले २०१९ मा लक्ष्य पुरा गर्न सफल भयौं । हामीले असोज १३ गते गर्ने संकल्प गर्‍यौ र त्यो अनुसार हामीले गरेरै छाड्यौं । सबै जिल्लामा गएर, सबै जिल्लासँग कुरा गरेर काम गरेका हौं । मेरो व्यत्तिगत कुरा गर्ने हो भने जुन संकल्पका साथ लागे । त्यो अनुसारको सफलताले म धेरै खुशी छु ।

अव सबैले यसको संरक्षण र व्यवस्थापनमा लाग्नु आवश्यक छ । यो हाम्रो गौरब र पौरख हो । हामीले पहिलो खुड्किला मात्र पार गरेको हो । अव दोस्रो खुड्किला भनेको पूर्ण सरसफाइ हो । सबै लागौं र नेपाललाई सफा, सुन्दर, शान्त, सफा सुग्घर र हराभरा नेपाल बनाऔं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार