कास्की : पोखराको शिवालय चोककी सरस्वती थापाको भान्छाबाट उत्पादित फोहोर घरबाहिर कतै पठाउनु पर्दैन । जब उहाँले फोहोर फाल्ने वस्तु नभई पाल्ने वस्तु हो भन्ने थाहा पाउनुभयो, त्यसदिन देखि उहाँले फोहोरलाई स्रोतको रुपमा प्रयोग गर्न थाल्नु भएको हो । अहिले उहाँको छतमा लहलहाउँदा हरेक जातको तरकारी फलेका छन् । उहाँले बर्ष दिनमा २ सय किलो तरकारी घरको छतमै फलाउनुभएको छ ।
पार्वती थापाको अनुभवले भन्छ ‘फोहोरबाट मोहोर बनाउने इच्छा मात्र राख्नुपर्छ यसबाट फाइदै फाइदा मात्र छ । घाटा केही छैन । एकातिर कौसीको सदुपयोग, अर्कोतर्फ अर्गानिक तरकारीको स्वाद फेरिफेरि खान पाइने ।
मौसम अनुसारका तरकारी लगाउने भएकाले उहाँले बाहिर तरकारी किनिरहनु पर्दैन । थापा भन्नुहुन्छ ‘यो सब घरेलु फोहोरको कमाल हो ।’
‘१५ वर्षदेखि कौसीमा तरकारी फलाएर खाँदै आएका छौ,’ उहाँले भन्नुभयो ‘अहिले तरकारीसँगै विभिन्न जातका फलफूल पनि फलाएको छु ।’ पोखरा–८ कृषि सञ्जालकी संयोजक समेत रहनुभएकी उहाँ औषधि व्यवसायी भए पनि फुर्सदको समय सदुपयोग गर्दै कौसीमा खेती समेत लगाउनुहुन्छ ।
फोहोरलाई घरेलु स्तरबाटै तह लगाउने तरिका थाहा पाएपछि पछिल्लो समय पोखरामा कौसी खेती गर्नेहरुको संख्या बढ्दो छ । ‘एकातिर कौसीको सदुपयोग, अर्कोतर्फ अर्गानिक तरकारी स्वाद फेरिफेरि खान पाइने, फोहोर लिन महानगरको गाडी आएन भन्ने पिरलो पनि नहुने’ थापाले भन्नुभयो ‘हामीले फोहोरमैलालाई चिन्न सक्यौं भने यो भन्दा राम्रो स्रोत केही होइन रहेछ ।’ उहाँले अहिले तरकारीको अलावा आँप, कागती, स्ट्रोबेरी, अम्बा लगायत फलफूल समेत कौसीमै हुर्काउनु भएको छ ।
फोहोरबाट फाइदै फाइदा
पार्वती थापाको अनुभवले भन्छ ‘फोहोरबाट मोहोर बनाउने इच्छा मात्र राख्नुपर्छ यसबाट फाइदै फाइदा मात्र छ । घाटा केही छैन । उहाँका अनुसार महानगरपालिकाले फोहोर उठाउन गाडी पठाएनन् भने टोलै थर्किने गरी हल्ला गर्छन् तर उहाँलाई केही फरक पर्दैन । उहाँ आफ्नो फोहोर आफै व्यवस्थापनमा खट्नुहुन्छ । ‘महानगरले पनि फोहोर उठाए बापत रकम त लिन्छ, सित्तै उठाउने त होइन, महानगरलाई दिने रकम बच्यो पहिलो कुरा, दोस्रो कुरा तरकारी खेती किन्न लाग्ने रकम नै बच्यो ’ उहाँ भन्नुहुन्छ ‘बार्षिक २ सय किलो तरकारीको हिसाब गर्दा सय रुपैयाँले पनि २० हजार रुपैयाँ जोगियो त्यसैले म फोहोरबाट फाइदै फाइदा मात्र देख्छु ।’
वडावासी कृषि खेतीमा निक्कै उत्साहित देखिए पछि पोखरा महानगरपालिकाको वडा नं. ८ ले गत वर्ष २ लाख रुपैयाँ र चालु वर्ष ३ लाख रुपैयाँ विनियोजन गरेको पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले बताउनुभयो । वडाबाट गत वर्ष ६ सय जनालाई तालिम दिइएको थियो । ती मध्ये ७५ प्रतिशत सफल भएको उहाँको दाबी छ ।
यस्तै कौसी खेतीकै लागि पोखरा महानगरपालिकाको वडा नं. ९ ले समेत चालु आर्थिक बर्षका लागि १ लाख रुपैयाँ विनियोजन गरेको पोखरा–९ का अध्यक्ष रामराज लम्सालले जानकारी दिनुभयो ।
फोहोरमैला व्यवस्थापनका लागि कौसी खेतीको अभियान चलाइएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो । उहाँका अनुसार यसले पोखरालाई सफा र सुन्दर बनाउनुका साथै तरकारी आयात समेत घटाउनेछ । महानगरले कौसी खेतीका लागि चालु वर्ष ९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।