आहा …. महिनावारी व्यवस्थापन तालिम भनेको त यस्तो पो !

 

बिमल गौतम, सिन्धुपाल्चोक : महिनावारीलाई मर्यादित र व्यवस्थित बनाउन सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १, २ र ३, स्याउले, बतासे र इन्द्रावती गाउँपालिका वडा नं. १, सिम्पाल काभ्रेमा समुदाय र विद्यालय स्तरीय महिनावारी स्वच्छता व्यवस्थापन तालिम सञ्चालन गरीएको छ । तालिममा घरेलु स्तरमा तयार गर्न सकिने प्याड बनाउने सीप प्रदान गर्नुका साथै महिनावारी स्वच्छता व्यवस्थापनका विषयमा रहेको भ्रम र वास्तविकताको विषयमा छलफल गरिएको थियो । तालिममा ४ वटै वडाका गरी २ सय ४२ जनाको सहभागिता थियो ।

कारितास जर्मनी र कारितास नेपालको सहयोगमा जनहित ग्रामीण सेवा समितिले सञ्चालन गरिरहेको जीविकोपार्जन र खानेपानी, सरसफाइ तथा स्वच्छता पुनस्र्थापना परियोजना अन्तर्गत तालिम आयोजना गरिएको हो । विभिन्न ठाउँहरुमा गरी ८ दिन सम्म चलेको तालिममा महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय टेलरिङ सेन्टरका प्रतिनिधिहरु, शिक्षक, विद्यालयका छात्राहरु र स्थानीय बासिन्दाको सहभागिता थियो ।

 

आमालाई समेत प्याड बनाउन सिकाउने देखि साथीलाई प्याड उपहार दिने : सहभागी

तालिममा सहभागी सिम्पाल काभ्रेकी महिला स्वास्थ्य स्वयंसेविका अष्टमाया तामाङले तालिम लिनु पहिले र तालिम लिएपछिको भिन्नताको विषयमा जानकारी गराउँदै पहिले महिनावारीको समयमा प्याडको रुपमा प्रयोग गरेको कपडालाई धोएर खुला ठाउँमा सुकाउन अप्ठेरो हुने गरेकोले कुनै अर्को कपडाले छोपेर सुकाउने गरेको स्मरण गर्नुभयो । उहाँले तालिमले गर्दा यसरी प्रयोग गरेको कपडालाई सूर्यको सिधा प्रकाश पर्ने ठाउँमा सुकाउनुपर्ने र यसो गर्दा किटाणुहरु नष्ट भई कपडा सफा हुने जानकारी हासिल गरेको बताउनुभयो ।

दक्षिणकाली माविका प्रधानाध्यापक मोहन झाका अनुसार हाल विद्यालयमा सरसफाइ र स्वच्छता हेर्ने विद्यालय शिक्षक नियुक्त गरिएको छ । अब तालिममा सहभागी शिक्षिकालाई पनि महिनावारी स्वच्छता व्यवस्थापन सँगसँगै सरसफाइ र स्वच्छता सम्बन्धी काम गर्नको लागी जिम्मेवारी दिईने बताउनुभयो । हाल विद्यालयमा स्यानिटरी प्याड व्यवस्थापन गर्ने स्थानको व्यवस्था भएकोले विद्यार्थीहरुलाई महिनावारीको समयमा विद्यालय छाड्नु पर्ने अवस्था नरहेको जानकारी दिनुभयो ।

कालिकादेवी माविका प्रधानाध्यापक धर्मदत्त सापकोटाका अनुसार तालिममा घरेलु स्तरमा नै प्याड बनाउन सिकाएकाले विद्यार्थीहरुलाई महिनावारी स्वच्छता व्यवस्थापनमा आत्मनिर्भर बन्न सहयोग पुगेको बताउनुभयो ।

यस्तै तालिममा सहभागी छात्रा बबिता वि.क. ले आगामी दिनमा प्याड बनाउने तालिम आफ्नो आमा र अन्य आफन्तहरुलाई पनि सिकाउने बताउनुभयो । अर्की छात्रा सिर्जना घिमिरेले जन्मदिनको अवसरमा आफ्नो साथीहरुलाई घरेलु स्तरमा निर्मित प्याड उपहारको रुपमा दिनुपर्ने बताउनुभयो ।

महिनावारीको समयमा प्याडको रुपमा प्रयोग गरिने कपडाको कारण पनि महिलाहरु विभिन्न किसिमका रोगहरुको संक्रमणमा पर्ने गरेको र महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरुको जानकारीको अभावमा महिनावारी स्वच्छता व्यवस्थापन उचित र मर्यादित बन्न नसकेको विषयलाई ध्यानमा राखी तालिमको आयोजना गरिएको परियोजना संयोजक रोहित शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा स्थानीय टेलरिङ सेन्टरका प्रतिनिधिहरुलाई सहभागी गराईएकाले प्याड निर्माणलाई व्यवसायीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महिनावारी स्वच्छता व्यवस्थापनको विषयमा अझै पनि हाम्रो समाजमा विभिन्न किसिमका भ्रमहरु विद्यमान रहेको छ । महिनावारीको समयमा महिलाहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिदै आएको पाइन्छ ।

महिनावारीको विषयमा रहेको भ्रम निवारणको लागि यस किसिमका कार्यक्रमहरुलाई बढावा दिनुपर्ने देखिन्छ । यसले एकातर्फ महिनावारीको समयमा रहेको भ्रम निवारण गर्न सहयोग पुर्‍याउँछ भने अर्को तर्फ महिलाहरुको आत्मसम्मानलाई बृद्धि गर्न सहयोग प्रदान गर्दछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार