काठमाडौ : महिनावारी स्वच्छता व्यवस्थापनका क्षेत्रमा नेपालमा क्रमशः प्रगति हासिल हुँदै गएको र अझ धेरै गर्न बाँकी रहेको वक्ताहरुले बताएका छन् । वाटर एडको आर्थिक सहयोगमा मित्र समाजले गरेको ‘महिनावारी स्वच्छता व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरु अगाडि बढाउनका लागि सञ्चार अनुगमन’ को प्रतिवेदन सार्वजनिक कार्यक्रम पछि आयोजित छलफल कार्यक्रमका वक्ताहरुले नेपालमा यो जल्दोबल्दो बिषयका रुपमा अगाडि आएको बताएका हुन् ।
छलफलमा महिनावारी स्वच्छता व्यवस्थापन विज्ञ एवं नेपाल प्रजनन स्याहार केन्द्रकी कार्यकारी निर्देशक पेमा ल्हकीले आफ्नो महिनावारी अनुभव बताउँदै पछिल्लो समयमा भएका सचेतनामूलक कार्यक्रमले लज्जाको बिषयबाट फड्को मारेर खुला बहसको बिषय बन्न थालेको बताउनुभयो ।
छलफलमा सहभागी वाटर एडकी कन्ट्री डाइरेक्टर तृप्ती राईले महिनावारीका बिषयमा निरन्तरको छलफल एवं कुराकानीबाट आजको अवस्थामा आईपुगेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमले समेत यस बिषयलाई समाचार बनाउनु आफैमा सकारात्मक पक्ष भएको र यसमा सरकारको समेत चासो गएकोमा भविश्यमा आशा गर्न सकिने प्रशस्त ठाउँ रहेको बताउनुभयो ।
यस्तै खानेपानीमन्त्री बिना मगरले महिनावारीको समयमा आफूले छुवाछुत भोग्नु नपरे पनि महिनावारीको समयमा गरिने छुवाछुतका कारण महिलामा पर्ने शारीरिक तथा मानसिक समस्याबारे आफू पूर्ण जानकार रहेको बताउनुभयो । उहाँले खानेपानीको विभागीय जिम्मेवारी महिनावारीको कुरा गर्दै हिड्नुपर्ने नभएपनि आफूले मर्यादित महिनावारीका बिषयमा कुरा उठाउन नछाडेको बताउनुभयो ।
छलफलको सहजीकरण इमेज टेलिभिजनका एक्जुकेटिभ प्रोड्यूसर जगदिश खरेलले गर्नुभएको थियो । छलफलमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन शाखाका प्रमुख डा. विकास देवकोटा, मेडिकल शिक्षा आयोगका सदस्य सचिव डा. हरि लम्साल र लैंगिक तथा विकास विशेषज्ञ डा. शिवेस चन्द्र रेग्मी पनि सहभागी हुनुहुन्थ्यो । उहाँहरुलाई महिनावारीलाई धर्म संस्कृतिसँग अलग बनाउन नसक्दा सम्म नेपालीहरु जुन जुन देशमा पुग्छन् त्यही त्यही देशमा महिनावारी बार्ने संस्कृतिको रुपान्तरण हुँदै जाने बताउनुभयो ।