स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन तथा स्वास्थ्य संस्थामा वास सम्बन्धी कार्यशाला सुरु

 

काठमाडौ : काठमाडौमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन तथा स्वास्थ्य संस्थाहरुमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी प्रथम राष्ट्रिय कार्यशाला गोष्ठी सुरु भएको छ । काठमाडौको चुच्चेपाटी स्थित हायात होटेलमा सुरु भएको कार्यशालाको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले परिजात र रुद्राक्षको विरुवामा जल सेचन गरेर उदघाटन गर्नुभयो ।

स्वास्थ्यजन्य फोहोर व्यवस्थापन र वासको दिगो अभ्यासहरुको बारेमा ज्ञान तथा अनुभव आदानप्रदान गर्ने र मानव स्वास्थ्यमा संक्रमण र प्रतिकुल प्रभावहरुलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गरी गुणस्तरीय स्वास्थ्य सेवाहरुमा समान पहुँच सुनिश्चितता गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।

गोष्ठीको उद्देश्यबारे प्रकाश पार्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले नेपालको स्वास्थ्यजन्य फोहोर उत्पादन दर प्रति विरामी प्रति दिन १.३५ किलो रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिवेदन २०१५ ले देखाएको जानकारी दिनुभयो । उहाँले ती मध्ये करिब २० प्रतिशत संक्रामक फोहोर रहेको र फोहोरको उचित व्यवस्थापन नहुँदा संक्रामक र सामान्य फोहोर मिश्रण भई संक्रामक फोहोरको वास्तविक दर बृद्धि भईरहेको बताउनुभयो ।

‘स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा ठूलो मात्रामा स्वास्थ्यजन्य फोहोर स्वास्थ्य संस्थाहरुमा उत्पादन हुने भएकाले यस्ता हानिकारक फोहोरको उचित र दिगो व्यवस्थापन आजको चुनौती बनेको छ’ उहाँले भन्नुभयो ।

गोष्ठीका आशातित प्रतिफलहरु

आजदेखि सुरु भएको गोष्ठी पर्सि २६ गतेसम्म चल्नेछ । तीन दिनको अवधिमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको औचित्य, नेपालमा वातावरणीय स्वास्थ्य प्रबर्धनका लागि नीति र रणनीति, एकीकृत स्वास्थ्यजन्य फोहोर व्यवस्थापन सम्बन्धी राष्ट्रिय दिशानिर्देश र स्वास्थ्य संस्थामा वासको मापदण्ड, स्वास्थ्य संस्थामा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन : अवस्था विश्लेषण र सुधारका लागि प्रमुख पहल लगायत बिषयमा बृहत अन्तरक्रिया एवं छलफल हुनेछ । तीन दिनमा अवधिमा आयोजकले निम्न प्रतिफलहरु राखेका छन् ।

– नेपालको संघीयता अनुरुप संघ, प्रदेश तथा स्थानीय तहमा एकीकृत तथा दिगो स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनका लागि बहुसरोकारवाला बीचको समन्वय खाका र सुशासन संरचना सहितको रणनीति तयार गरी स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनका अभ्यासहरुमा सुधार ल्याउने खास गरी उपचार र सो प्रक्रियालाई नगर फोहोरमैला व्यवस्थापन प्रणालीसँग एकीकृत गर्ने ।

– प्रदेश, स्थानीय तथा स्वास्थ्य संस्था स्तरमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैलाको दिगो व्यवस्थापनका लागि हाल रहेका ऐन, नियमावली, नीति, मापदण्ड, प्रविधि, निर्देशिका, कार्यविधिहरुको पुनरावलोकन तथा संघीय प्रणाली अनुरुप संशोधन हुने ।

– प्रदेश, स्थानीय तथा स्वास्थ्य संस्था स्तरका लागि रणनीतिक योजना, नियम तथा कार्यविधि तयार हुने ।

– जनचेतनामूलक कार्यक्रम तथा सामग्रीहरुको विकास तथा कार्यान्वयन हुने ।

– एउटा दिगो व्यवस्थापन नमुनाको विकास तथा कार्यान्वयन हुने ।

– प्राविधिक क्षमता विकासका लागि तालिम तथा प्रशिक्षण सामग्रीको विकास तथा कार्यान्वयन हुने ।

– र सबै तहमा नियमन, अनगमन तथा दिगो व्यवस्थापन सम्बन्धी सूचना प्रणाली, समन्वय तथा सहकार्य सहितको सुशासन संयन्त्रको विकास हुने ।

 

GIZ, WHO, UNDP, UNICEF, SNV, Water AID तथा अन्य सरोकारवालाहरुसंगको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, व्यवस्थापन महाशाखाले आयोजना गरेको कार्यशालामा तीनै तहका सरकार, विकास साझेदार संस्थाहरु, निजी क्षेत्र र अन्तर्राष्ट्रिय वक्ताहरु गरी करिब ३५० जनाको सहभागिता रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार