पूर्ण सरसफाइ अभियानले गाउँको रुपै फेरियो

अर्घाखाँची:  अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं. ९ ढिकुरामा पर्छ म्यालपोखरा काफ्ले टोल । काफ्ले टोलको चर्चा हिजोआज सिङ्गो नगरपालिकामा मात्र नभई जिल्लामा समेत चल्न थालेको छ । विदेशमा रहेका आफन्तजनले समेत आफ्नो गाउँको सोधीखोजी गर्ने गरेका छन् । सरसफाइमा नमुना गाउँ बनाउन जुटेका काफ्ले टोलकै बासिन्दाले आफ्नो गाउँको चिनारी सर्वत्र फैलाउन सफल भएका हुन् ।

म्यालपोखराका बासिन्दा घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने फोहोरमा बर्गीकरण गर्छन् । नकुहिने खालको फोहोरलाई घर नजिकै बनाइएका फोहोर मलाई लेखिएको ठाउँमा जलाउँछन् । यो अभ्यास उनीहरुले अहिले मात्र होइन, बर्षौ पहिलेदेखि नै गर्दै आएका हुन् । सरसफाइ अभियानका संयोजक जनक पालुङ्गे भन्नुहुन्छ ‘हामी टोलका ५६ घरमै एउटै नियम छ, फोहोरमैला व्यवस्थापनका लागि के गर्ने ? के नगर्ने भन्ने हाम्रो आफ्नै नियम छ, त्यही नियममा बाँधिएपछि सरसफाइमा हाम्रो गाउँले फड्को मार्न थालेको हो ।’
टोलमा सबेरै पुग्ने हो भने प्रत्येक घरका व्यक्ति र टोल सरसफाइ समितिका सदस्यहरु आफ्नो घर आँगन र सडक सफा गरिरहेको अवस्था भेट्न सक्छौं । कसैले जथाभावी फोहोर फालेको पाईएमा त्यसलाई सम्झाई बुझाई गरेपछि आफै सरसफाइ अभियानमा सामेल हुन्छन् ।

टोल सरसफाइ समिति पनि सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी बनाईएको छ । होटल व्यवसायी, शिक्षक, महिला, पुरुष सबैलाई मिलाएर बनाएको समितिमा हाम्रो प्रतिनिधित्व खै ? भनेर कसैले औंला उठाउने ठाउँ पनि छैन । समितिका अर्का सदस्य एवं देउराली आधारभुत विद्यालयका प्रधानाध्यापक डासीराम दर्लामी भन्नुहुन्छ ‘हामी सरसफाइमा नमुना नै बन्दैछौं, हाम्रो घर आँगन मात्र होइन, सार्वजनिक प्रतिक्षालय, मठमन्दिर, चौतारा, विद्यालय लगायत घर वरपरको वातावरण पनि सफा र स्वच्छता राख्ने प्रयत्न जारी छ । हाम्रो प्रयास यो टोललाई मात्र सफा सुग्घर राख्ने भन्दा पनि अरुका लागि पनि नमुना र उदाहरणीय बन्ने हो ।’
युएन ह्याबिट्याटको आर्थिक सहयोगमा प्रकाश सचेतन समूह (प्राग) अर्घाखाँचीद्वारा सञ्चालित सरसफाइ सम्बन्धी क्रियाकलापहरुले गाउँको रुप फेरिएको हो । प्रागले शौचालयको सही प्रयोग गर्ने तरिका, हात धुने तरिका, सुरक्षित खाना एवं सुरक्षित पानीको उपयोग गर्ने विधि एवं वातावरणीय सरसफाइमा घरपरिवार र समुदायको दायित्वका बिषयमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।


प्रकाश सचेतन समूह (प्राग) एउटा गाउँ वा टोललाइई मात्र नभई सिङ्गो अर्घाखाँचीलाई सरसफाइमा नमुना जिल्ला बनाउने अभियानमा क्रियाशील रहेको प्रागका निर्देशक प्रेमनारायण गैरेले जानकारी दिनुभयो । अर्घाखाँचीलाई खुला दिसामुक्त घोषणा गर्न प्रागले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । अर्घाखाँचीलाई नेपालको १७ औं खुला दिसामुक्त जिल्लाको रुपमा २०७१ साल मंसिर १३ गते घोषणा गरिएको थियो ।


फोटोहरु : शिवराज न्यौपानेको फेसबुकबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार