दाङ : भारतसँग सीमा जोडिएका दाङ क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेल्दै आएका छन् । भारतसँग सीमा जोडिएका ३४ नाकाका करिब १० हजार मानिसले खानेपानीको अभावमा खोलाको पानी पिउन बाध्य भएका हुन् ।
अभावमा जीवन बिताइरहेका सीमा क्षेत्रका बासिन्दालाई सरकारले खानेपानीको आधारभूत आवश्यकता समेत पूरा गर्न सकेको छैन । निर्वाचनको समयमा खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि पूरा भएको छैन । जीविकोपार्जनमा समेत भारतका बजारको भर परेका नेपाली घरछेउको खोलाको पानी पिएर गुजारा चलाउने गरेका छन् ।
राजपुर गाउँपालिका–७ भौवा नाका निवासी सन्तकुमार बुढाले पानीको स्रोत नहुँदा वर्षौंदेखि खोलाको पानी पिउन बाध्य भएको बताउनुभयो । ‘हरेक निर्वाचनमा खानेपानीको समस्याबारे प्रश्न उठछ । स्थानीय तहको चुनावमा पनि पानीको समस्या उठाइएको थियो,’ बुढाले भन्नुभयो ‘नेताहरूले एजेन्डा नै खानेपानीलाई बनाउँछन् तर, प्रतिबद्धता पूरा गर्दैनन् ।’ राजपुर गाउँपालिकामा सबैभन्दा धेरै नाकाहरू रहेका छन् ।
प्रदेश सभा सदस्य इन्द्रजित चौधरीका अनुसार दाङ पूर्वको अर्ना नाकादेखि पश्चिमको भौवा नाकासम्म करिब दुई हजार घरधुरीका करिब १० हजार मानिसको बसोवास छ । अहिले कोइलावास लगायत केही नाकामा डिप बोरिङ मार्फत पानीको आपूर्ति गरे पनि धेरैजसो नाकाक्षेत्रमा खोलाकै पानीको भर पर्नुपरेको छ ।
वर्षाैदेखि खोलाकै पानी पिउँदै आएका राजपुर गाउँपालिका–१ पटौली नाकाका हेमराज गिरीले शव जलाउने खोलाकै पानीले गुजारा चलाउँदै आएको बताउनुभयो । ‘यही खोलामा शव जलाउने गरेका छौँ, यही खोलाको पानी पिउन बाध्य छौँ,’ उहाँले भन्नुभयो ‘अँगार पन्छाएर पानी पिउनुपर्छ ।’
हिउँद र गर्मी समयमा खोलाको पानीले जीवन धान्दै आएका नाकावासीले वर्षामा आकाशे पानीको आश गर्नुपर्ने अवस्था छ । वर्षामा नाकाका खहरेखोलाहरू बढ्ने र धमिलो हुने भएका कारण आकाशे पानी पिउन बाध्य भएका हुन् ।
राजपुर गाउँपालिका–६ का वडाअध्यक्ष श्यामबहादुर रोकाले नाका क्षेत्रका बासिन्दालाई खानेपानी सुविधा उपलब्ध गराउन केन्द्रीय बजेटको आवश्यकता रहेको बताउनुभयो । गत आर्थिक वर्षमा केही रकम खानेपानीको लागि विनियोजन गरेर व्यवस्थापन भएपनि भेलले बगाउँदा समस्या भएको उहाँले बताउनुभयो ।