काठमाडौ : काठमाडौमा पूर्ण सरसफाइ सम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ । सरकारले सरसफाइमा राखेको दिगो विकास लक्ष्य हासिल गर्न पूर्ण सरसफाइ सम्बन्धी गुरुयोजना निर्माण गर्ने गरी स्मार्ट वास सोलुसन्सले आगामी मार्च महिनाभित्र राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
स्मार्ट वास सोलुसन्सको प्रथम साधारण सभाको अवसरमा प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद शर्माले कम्पनीको भावी कार्ययोजनाबारे जानकारी दिदै खुला दिसामुक्त अभियानको लक्ष्य हासिल गर्न गुरुयोजना निर्माण गरेर काम गरे झैं पूर्ण सरसफाइ सम्बन्धी लक्ष्य हासिल गर्न पनि गुरुयोजना निर्माण गर्न अपरिहार्य भएको बताउनुभयो । कार्यकारी अधिकृत शर्माले राष्ट्रिय सम्मेलन गर्नु अघि प्रदेश स्तरमा पनि पूर्ण सरसफाइ सम्मेलन गरिने जानकारी गराउनुभयो ।
स्मार्ट वास सोलुसन्स प्रा.लि. मुनाफा रहित कम्पनी कम्पनी हो । खानेपानी तथा ढल व्यवस्थापन विभागका पूर्व महानिर्देशकहरु एवं खानेपानी र सरसफाइ क्षेत्रमा क्रियाशील सेवा निवृत्त निजामति कर्मचारीहरुले २०७५ मंसिर २० गते उक्त कम्पनी दर्ता गरेका हुन् ।
खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा सरकारलाई नीति निर्माण गर्न सहजीकरण गर्ने, वास क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्र्याउने, वास क्षेत्रमा अध्ययन, अनुसन्धान र पैरवी गर्ने कम्पनीको उद्देश्य रहेको छ । यस्तै शहरव्यापी समावेशी सरसफाइलाई बढावा दिने, जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न विभिन्न उपायहरु अबलम्बन गर्ने, वास क्षेत्रको ज्ञान केन्द्रको रुपमा काम गर्ने लगायत उद्देश्यहरु राखिएको छ ।
साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. नवराज खतिवडाले स्टाफ कलेजको एक अध्ययनले सेवा निवृत्त भएको सात बर्ष भित्र निवृत्त कर्मचारीहरुको निधन हुने गरेको उल्लेख गर्दै स्मार्ट वास सोलुसन्सले सेवा निवृत्त कर्मचारीहरुको ज्ञान र अनुभव बाँड्ने र राज्यले प्राप्त गर्ने अवसर सिर्जना गरेको बताउनुभयो । ‘अहिले सेवा निवृत्त कर्मचारीहरुमा के काम गर्ने ? कहाँ जाने ? भन्ने छट्पटी छ, यस्ता संस्था स्थापना गरी काम गर्दा बर्षौ लगाएर आर्जन गरेको ज्ञान राज्यको समृद्धिमा उपयोगमा आउने पक्का छ’ उहाँले भन्नुभयो ।
साधारण सभामा पूर्वमन्त्री एवं अभियन्ता गणेश शाह, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टका उपकुलपति डा सुनिल बाबु श्रेष्ठ, काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको वाग्मती ढल सुधार आयोजनाका सिनियर डिभिज्नल इन्जिनियर देवेन्द्र झा, पूर्व कर्मचारीहरु लगायतको उपस्थिति रहेको छ ।