रातदिन खानेपानीकै काम, मिस्त्रीहरूको आयोजना स्थलमै बास

 1460 पटक हेरिएको

 

झापा : जनकपुरका लक्ष्मी मण्डल झापाको मेचीनगर नगरपालिका २ मा खानेपानीको काम गरिरहनुभएको छ । खानेपानी आयोजना सुरू भए यता उहाँ मुश्किलले २/३ पटक भन्दा बढी घर पुग्नुभएको छैन । ती बाहेकको समय उहाँको खानेपानीको आयोजना स्थलमै बित्ने गरेको छ । उहाँ सँगै १५/२० जना मिस्त्रीको टोली पनि ५/६ महिना यता अनवरत रूपमा खटेको खट्यै छन् । आयोजनाका मिस्त्री लक्ष्मी मण्डल भन्नुहुन्छ ‘दिउँसो काम गर्ने त छँदैछ, राती पनि यही बास बसेर काम गर्‍यौंं, समयमै पानी पिउन पाउनुपर्छ भन्ने उपभोक्ताको ठूलो दबाब छ ।’

खानेपानी मिस्त्रीको मात्र होइन, उपभोक्ता समितिका पदाधिकारीको खटाई पनि उस्तै छ । संयोगले खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिपक बरालको घरदेखि खानेपानी आयोजना स्थल पनि नजिकै छ । दिनकै २/३ पटक आयोजना स्थलमा नपुगेसम्म उहाँलाई खाना रूच्दैन । मिस्त्रीको मात्र जिम्मामा छाड्दा कतै केही पो बिगार्‍यो कि भनेर कुत्कुत्याउँछ उहाँलाई । अध्यक्ष बराल भन्नुहुन्छ ‘मिस्त्रीको जिम्मामा मात्र छाड्ने कुरा हुँदै हुन्न, म नभएपनि समितिका एक जना त अनिवार्य बस्नैपर्छ ।’

खानेपानीको पूर्वाधार निर्माणका क्रममा इन्जिनियरको उपस्थिति एवं खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूको नियमित रेखदेखले संरचना गुणस्तरीय बन्ने अध्यक्ष बरालको तर्क छ ।

सहयोगी संस्थाले नियमित अनुगमन गर्ने, प्राविधिक दृष्टिले कहाँ, के भयो ? हेर्ने, सल्लाह सुझाव र सपोर्ट उपलब्ध गराउने काम भईरहेको छ । सहयोगी संस्था सहारा नेपालका वास अधिकृत दिपेश ओली भन्नुहुन्छ ‘हाम्रो काम नै उपभोक्ता समितिलाई प्राविधिक सहयोग उपलब्ध गराउनु, सल्लाह सुझाव प्रदान गर्नु हो, आफ्नो जिम्मेवारी हामीले कुशलतापूर्वक निर्वाह गरिरहेका छौं । एक जना इञ्जिनियर त हामीले अटुट रूपमा खटाएकै हुन्छौं ।’

अधिकांश समय आयोजना स्थलमै बसेर काम गर्ने मिस्त्री, खानेपानी उपभोक्ता समितिका पदाधिकारीको नियमित रेखदेख तथा निर्देशन र सहयोगी संस्थाको प्राविधिक सहयोग एवं नियमित अनुगमनका कारण खानेपानी वितरणको अन्तिम तयारीमा पुगेको छ । अध्यक्ष बरालका अनुसार खानेपानीको पाइप विछ्याउने, ट्याङ्की निर्माण, विद्युत लाइन जडान लगाएको काम सम्पन्न भईसकेको छ । केही प्राविधिक काम बाहेक अन्य सबै काम सम्पन्न भएको र अबको दुई हप्ता भित्र खानेपानी वितरण गर्न सकिने अवस्था रहेको उहाँले बताउनुभयो ।

हेर्नुहोस् अध्यक्ष बरालसँग गरिएको भिडियो वार्तालाप :

 

यस्तो छ आयोजनाको आर्थिक पक्ष

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को आर्थिक सहयोग र सहयोगी संस्था सहारा नेपालको प्राविधिक सहयोगमा भृकुटी खानेपानी तथा सरसफाइ आयोजना सुरु भएको हो । मेचीनगर नगरपालिका २ मा निर्माण भईरहेको यो खानेपानी आयोजना सम्पन्न भएपछि ३ सय २१ घरपरिवार लाभान्वित हुनेछन् । आयोजनामा एउटा विद्यालयमा सहित ३३० वटा धारा हुनेछन् ।

३ सय ३० वटा धारा जडान गर्नका लागि आयोजनाले १२ हजार ३५५ मिटर शाखा पाइप जडान गरेको छ । ओभरहेड ट्याङ्कबाट बस्ती नजिकै भएकाले मुख्य पाइप लाइन २० मिटर मात्र विछ्याईनेछ ।

कुल ९९ लाख ७७ हजार ६३७ रुपैयाँ मध्ये समुदायबाट २ लाख ४० हजार १३१ रुपैयाँ नगद व्यहोरेका छन् । कोष विकास समितिले भने ७६ लाख १५ हजार ३८५ रुपैयाँ उपलब्ध गराएको र २१ लाख २२ हजार १२१ रुपैयाँ बराबरको श्रमदान रहेको भृकुटी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष दिपक बरालले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार