फण्डबोर्ड खारेजीको असर : संशोधित मितिमा समेत सम्पन्न भएन आयोजना

 1166 पटक हेरिएको

 

रौतहट : जत्तिखेर पल्टुवा खानेपानी तथा सरसफाइ आयोजना रौतहटका अध्यक्ष प्रेमलाल राय यादव समुदायले नगद योगदान गर्नुपर्ने बापतको रकम संकलन गर्दै हुनुहुन्थ्यो त्यत्तिबेला देशमा फण्डबोर्ड नै खारेज भईसकेको थियो । फण्डबोर्ड खारेज भएको कुरा उहाँले धेरै पछि मात्र थाहा पाउनुभयो । सहयोगी संस्था साथी नेपालको कार्यालयमा खानेपानी आयोजनामा भईरहेको ढिलाई बारे बुझ्न जाँदा मात्र उहाँलाई फण्डबोर्ड खारेजी बारे विस्तृत रुपमा जानकारी भयो । ‘विकास ऐन २०१३ अन्तर्गत गठन भएका समितिहरु सरकारले खारेज गरेको रहेछ, त्यस अन्तर्गत फण्डबोर्ड पनि परेको रहेछ, यो कुरा मैले पछि मात्र थाहा पाएँ, त्यसपछि उपभोक्ताबाट संकलन गरेको रकम फिर्ता गर्ने कि राख्ने भन्ने द्धिविधा भयो ।’अध्यक्ष यादवले भन्नुभयो ।

जनतालाई पानी खुवाएर सास अल्झाउने संस्थालाई नेताहरुको अभिरुचिको आधारमा खारेजी गर्ने र व्युताउने काम गर्न नहुने अध्यक्ष यादवको तर्क छ । उहाँ भन्नुहुन्छ ‘यो जनताको प्राण धान्ने संस्था हो, जनतालाई पानी खुवाएनन् भने जनताले नै खारेज गर्छन् । नेतालाई मन नपर्दा खारेज गर्ने, केही लाभ होला जस्तो देखे व्युताउने होइन ।’

भूमिगत खानेपानी प्रणालीका आयोजनाका लागि हार्डवेयरमा लाग्ने न्यूनतम १० प्रतिशत समुदायले नगद संकलन गर्नुपर्ने ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को प्रावधान छ । तर समुदायले पहिचान गरेका गरिब घरपरिवारलाई भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

खानेपानी आयोजना स्थगित भएपछि गाउँलेले उहाँलाई दिनहुँ जसो सोध्ने गथ्र्यो । धेरै पटक उहाँले उपभोक्ताको गाली पनि खाईसक्नुभएको छ । तर सहयोगी संस्थाले पर्खनुस् केन्द्रमा कुरा हुँदैछ भने पछि उहाँलाई थोरै भएपनि साहस मिल्थ्यो । अध्यक्ष यादव भन्नुहुन्छ ‘गाउँलेले खाई नखाई जम्मा गरेको पैसाको उपलब्धी नभएपछि जसले पनि गाली त गर्ने नै भए, गाउँबाटै लखेट्लान् कि भन्ने डर समेत पैदा भएको थियो ।’

जनतालाई पानी खुवाएर सास अल्झाउने संस्थालाई नेताहरुको अभिरुचिको आधारमा खारेजी गर्ने र व्युताउने काम गर्न नहुने अध्यक्ष यादवको तर्क छ । उहाँ भन्नुहुन्छ ‘यो जनताको प्राण धान्ने संस्था हो, जनतालाई पानी खुवाएनन् भने जनताले नै खारेज गर्छन् । नेतालाई मन नपर्दा खारेज गर्ने, केही लाभ होला जस्तो देखे व्युताउने होइन ।’

खानेपानी उपभोक्ताको चौतर्फी दबाबका कारण सरकारले ग्रामीण क्षेत्रमा खानेपानी उपलब्ध गराउने ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को महत्वबारे थाहा पाएपछि पुनःस्थापित गराउने निर्णय त गर्‍यो तर ६/६ महिना खारेजीमा परेको फण्ड बोर्ड र यस अन्तर्गतका सबै निकायहरु पूर्ववत अवस्थामा आईपुग्न निक्कै समय लाग्यो । जसका कारण खानेपानी आयोजना सम्पन्न भएर खानेपानी उपभोग गर्नुपर्ने समयमा बल्ल खानेपानीको पाईप विछ्याउने, ओभरहेड ट्याङ्की निर्माण गर्ने लगायत काम गरिरहेका छन् ।

संशोधित मितिमा समेत सम्पन्न भएन आयोजना

खानेपानी आयोजना निर्माणको शीलशीलामा अवरोध सिर्जना नभएको भए यत्तिबेला खानेपानी उपभोग गरिरहेका हुन्थे । तर रौतहटको बृन्दावन नगरपालिका ४ पल्टुवा टोलमा निर्माण भईरहेको खानेपानी आयोजना संशोधित मितिमा समेत सम्पन्न भएको छैन । २०७४ असार १३ गते कार्यान्वयन चरणको प्रथम सम्झौता गरेको पल्टुवा खानेपानी तथा सरसफाइ आयोजनाले २०७६ वैशाख ८ गते सम्झौता संशोधन गरेको थियो । उक्त सम्झौता अनुसार २०७६ पुस ७ गते सम्पन्न गर्नुपर्ने भएपनि अझै १० प्रतिशत काम बाँकी नै रहेको अध्यक्ष यादवले बताउनुभयो ।

हेर्नुहोस् यो भिडियो :

गाउँलेमा आशंकै आशंका

उपभोक्ताबाट रकम संकलन गरेर सरासर काम नहुँदा उपभोक्ताको मनमा विभिन्न आशंका उत्पन्न भएको उपभोक्ता नागेन्द्र यादवले बताउनुभयो । ‘हामीलाई अनेकन आशंक हुँदोरहेछ, हाम्रो पैसा संकलन गरेर यत्तिकै अधुरा पो रहने हो कि ? हामीले सकी नसकी संकलन गरेको पैसा खेर जाने पो हो कि भन्ने शंका उब्जिनेरहेछ’ उहाँले भन्नुभयो ।

ढिलै भएपनि आयोजनाका कामहरु अगाडि बढ्न थालेपछि उहाँ अहिले खुसी हुनुहुन्छ । ‘अब चाहि ढिलै भएपनि खानेपानी आउँलान् भन्ने आशा पलाएको छ’ यादवले भन्नुभयो ।

हेर्नुहोस् यो भिडियो :


खानेपानी सँगै सार्वजनिक शौचालय

पल्टुवा खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत २ सय २१ घरपरिवारका २ हजार ४६ जनालाई खानेपानी उपलब्ध गराउनुका साथै एउटा सार्वजनिक शौचालय समेत निर्माण गरिएको छ । खानेपानी आयोजनाको सेवा क्षेत्रमा रहेको सरस्वती माध्यमिक विद्यालय पल्टुवामा सार्वजनिक शौचालय निर्माण गरिएको हो । खुला दिसामुक्त अवस्थालाई दिगोपना दिलाउन खानेपानी आयोजना सँगै सार्वजनिक शौचालय निर्माण गरिएको साथी नेपालका वास टेक्निसियन डोल बहादुर ठाडा मगरले जानकारी दिनुभयो ।

कुल ८७ लाख ८६ हजार ४८९ रुपैयाँ ५५ पैसा लागत मध्ये ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले ७३ लाख २० हजार ९५६ रुपैयाँ ७१ पैसा अनुदान उपलब्ध गराएको छ । ती मध्ये समुदायले १ लाख ५९ हजार १३२ रुपैयाँ ७० पैसा नगद र १३ लाख ६ हजार ४ सय रुपैयाँ १४ पैसा बराबरको श्रमदान गरेका छन् ।

मर्मत सम्भार कोषमा करिब ३ लाख

पल्टुवा खानेपानी तथा सरसफाइ आयोजनाको नाममा रहेको मर्मत सम्भार खातामा २ लाख ६३ हजार ५९५ रुपैयाँ रहेको छ । आयोजनाको कुल लागतको ३ प्रतिशत रकम मर्मत सम्भार कोषमा राख्नुपर्ने ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको प्रावधान अनुसार रकम जम्मा गरिएको हो ।

समुदायलाई आयोजना हस्तान्तरण गरेपछि आउन सक्ने टुटफुट र मर्मत सम्भारको काममा समितिको निर्णयबाट रकम परिचालन गर्न सकिने साथी नेपालका वास टेक्निसियन डोल बहादुर ठाडा मगरले जानकारी दिनुभयो ।

आयोजना अन्तर्गत दुई वटा खाता सञ्चालन गरिन्छ । एउटा योजना सञ्चालन खाता र अर्को मर्मत सम्भार खाता । योजना सञ्चालन खाता योजना अवधिभरिका लागि सञ्चालनमा ल्याएपछि बन्द गरिन्छ भने मर्मत सम्भार खाता आयोजना सम्पन्न भएपछि पनि रहिरहन्छ । यसबाट सामान्य प्रकारका मर्मत सम्भारका कामहरु उपभोक्ता आफैले गर्न सकिने भएकाले खानेपानीको दिगोपनामा सहयोग पुग्ने साथी नेपालका वास टेक्निसियन मगरले बताउनुभयो ।

उहाँका अनुसार आयोजना अन्तर्गत २ सय २१ घरमा निजी धारा र ४ वटा सार्वजनिक धारा जडान गरिनेछ । यसका लागि सय मिटर गहिराईबाट डिप बोरिङ गरिसकेको छ भने ३५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की पनि निर्माण सम्पन्न भईसकेको छ ।

बोरिङ बाट ट्याङ्कीमा जम्मा गरी ३५ मिटर मुख्य पाइप लाइन र ६ हजार ५७ मिटर वितरण लाइन मार्फत हरेक उपभोक्ताको धारामा खानेपानी वितरण गरिने आयोजनाको लक्ष्य छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार