इलाम : पर्यटकीय जिल्ला इलामको विकासमा सँगै जोडिएर आउने नाम हो ‘सुनगाभा विकास संस्था इलाम ।’ २०३६ सालमै स्थापना भएको सुनगाभा विकास संस्थासँग खासगरी खानेपानी र सरसफाइ क्षेत्रको लामो अनुभव छ । इलामलाई चौबीसौं खुला दिसामुक्त जिल्लाको सूचीमा पार्न सुनगाभाले पुर्याएको योगदान कम छैन । इलामले २०७१ साल फागुन १४ गते चौबीसौं खुला दिसामुक्त घोषित जिल्लाको पहिचान बनाएको थियो ।
सुनगाभा विकास संस्थाले खानेपानीको क्षेत्रमा पुर्याएको योगदान पनि अतुलनिय छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको साझेदारीमा विकट गाउँमा समेत खानेपानीको सुविधा पुर्याउन सफल संस्थाले खानेपानीको सुचारुपना र दिगोपनाका कैयन अनुभव बटुलिसकेको छ ।
सुनगाभाको वर्तमान कार्यसमितिमा सचिव हुनुहुन्छ कृष्ण श्रेष्ठ । स्थापनाकाल देखि नै विभिन्न तह र तप्कामा रहेर संस्थाको उद्देश्य पूर्तिका लागि सक्रिय श्रेष्ठले आफ्नै प्रत्यक्ष सहभागितामा खानेपानी तथा सरसफाइ परियोजनाहरु सफलतापूर्वक सम्पन्न गर्नुभएको छ ।
हेरौं, इलामको खानेपानी र सरसफाइमा सुनगाभा विकास संस्थाले पुर्याएको योगदान, पूर्ण सरसफाइमा हाल गरिरहेको काम र खानेपानीको दिगोपना तथा सुचारुपनाका लागि उपभोक्ता आफैले गर्न सक्ने कामका बिषयमा सचिव श्रेष्ठसँग गरिएको कुराकानी :
उहाँले खानेपानी तथा सरसफाइ आयोजना निर्माणका लागि साझेदारी गरेका संघसंस्थाहरु मध्ये ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को मोडल अति नै मनपरेको र योजनाको दिगोपनाका लागि फण्ड बोर्डको मोडालिटी अति प्रभावकारी रहेको बताउनुभयो । ‘फण्ड बोर्डले अरु संघसंस्थाले जस्तो हचुवाको भरमा योजना पास गर्दैन, बोर्डले पूर्व विकास चरण, कार्यान्वयन चरण र विकास चरण पार गर्नैपर्छ । योजना सम्पन्न भएपछि पनि फण्डबोर्डले दिगोपनाका दृष्टिकोणबाट नियमित अनुगमन गर्ने प्रणाली छ’ उहाँले भन्नुभयो ।
आयोजना क्षेत्रको भौगोलिक अवस्था, यातायातको सुविधा, खानेपानी आयोजनाहरुको प्राविधिक विकल्प, समुदायको बनौट र अवस्थितिका आधारमा आयोजनाको अवधि थोरै वा धेरै हुने भएपनि २ बर्षभित्र आयोजना सम्पन्न गर्नेुपर्ने फण्ड बोर्डको प्रावधान छ । कुनै आयोजनाले सुरु देखि सम्पन्न हुँदा सम्म ४ वटा चरण पार गरेकै हुनुपर्छ ।
यी हुन् आयोजनाको ४ चरण र हरेक चरणमा हुने क्रियाकलाप :
पहिलो चरण — पूर्व विकास चरण
यो कुनै पनि आयोजनाको प्रारम्भिक चरण हो । यो चरण ३ देखि ६ महिनाको हुन्छ । पूर्व विकास चरणमा निम्न क्रियाकलापहरु गरिन्छ ।
सहयोगी संस्था पहिचान र छनौट
समुदायको माग र आवश्यकताका आधारमा जिल्ला समन्वय समिति मार्फत आयोजना प्राथमिकीकरण
सहयोगी संस्थालाई प्रस्ताव तयारीका लागि अभिमुखीकरण तालिम
सेवामूलक निकाय/व्यक्तिलाई आयोजना र आयोजना स्थलको मूल्याङ्कन सम्बन्धी अभिमुखीकरण/तालिम
आयोजना सञ्चालनमा सहयोगका लागि सहयोगी संस्थाहरुसँग विकास चरणको सम्झौता ।
दोस्रो चरण – विकास चरण
विकास चरण कुनै पनि आयोजनाको दोस्रो चरण हो । छैटौं देखि आठौं महिनासम्म जारी रहन्छ । अर्थात दोस्रो चरणको अवधि २ महिनाको हुन्छ ।
विकास चरण अन्तर्गत निम्न क्रियाकलाप गरिन्छ ।
सहयोगी संस्थाका कर्मचारीहरुलाई आयोजना सम्बन्धी अभिमुखीकरण
सामाजिक शसक्तिकरण र परिचालन, वैधानिक संस्था (खानेपानी तथा सरसफाइ उपभोक्ता समूह/समिति) को गठन र दर्ताको लागि स्थानीय तहसँग समन्वय
सामुदायिक कार्ययोजना (CAP) तयारी तथा केही कार्ययोजनाहरुको कार्यान्वयन
विस्तृत अध्ययन, सर्वेक्षण, आयोजनाको प्रारुप तयारी र लागत अनुमान
आयोजना सञ्चालनका लागि समुदायद्वारा नगद योगदान तथा मर्मत सम्भार कोष (O & M Fund) संकलन र व्यवस्थापन
खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन भएका गाउँपालिका र नगरपालिकाका वडाहरुमा खुला दिसामुक्त र खुला दिसामुक्त पछिको पूर्ण सरसफाइ अभियान सञ्चालनका लागि सह लगानी कोष निकासा
कोष विकास समिति, समुदाय र सहयोगी संस्थाबीच खानेपानी आयोजना कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौता
तेस्रो चरण – कार्यान्वयन चरण
यो चरण ४ चरणहरु मध्य अति महत्वपूर्ण चरण हो । मुख्य कार्यक्रमको कार्यान्वयन यसै चरणमा गर्नुपर्दछ । कार्यान्वयन चरणमा निम्न कामहरु गरिन्छ ।
कार्यान्वयन चरणका लागि तयार गरिएको सामुदायिक कार्ययोजना अनुरुप कार्यक्रमको कार्यान्वयन
घरायसी तथा संस्थागत चर्पीहरुको निर्माण कार्यको थालनी
मर्मत सम्भार कोषको स्थापना
महिलाहरुको पानी ओसारपसारमा बचत भएको समयलाई उत्पादनशील कार्यमा उपयोग गर्नका लागि जीवका कार्यक्रमको थालनी
खुला दिसामुक्त र खुला दिसामुक्त पछिको पूर्ण सरसफाइ अभियानको निरन्तरता र अभियान सञ्चालनका लागि खानेपानी आयोजना भएका साविकका गाविस तथा नगरपालिकाका वडाहरुलाई अन्तिम किस्ता प्रदान
आयोजनाको पारदर्शिता र दिगोपनाका लागि कार्ययोजना तयारी (जागरण कार्यक्रम)
कार्यान्वयन पछिको चरणका लागि प्रस्ताव तथा करार सम्झौता
चौथो – कार्यान्वयन पछिको चरण
यो आयोजनाको अन्तिम चरण हो । यस चरण अन्तर्गत निम्न क्रियाकलापहरु सम्पादन गरिन्छ ।
दिगोपनाका दृष्टिकोणबाट प्राविधिक, सामाजिक र मर्मत सम्भार सहितको सामुदायिक व्यवस्थापन पक्षको नियमित अनुगमन
सहयोगी संस्थाद्वारा प्राविधिक र सामाजिक पक्षको अनुगमन तथा प्राविधिक सहयोग
खानेपानी आयोजनाको गुणस्तर वैकल्पिक सूचकहरुका माध्यमबाट अनुगमन
खुला दिसामुक्त र त्यसपछिको पूर्ण सरसफाइ क्रियाकलापहरुको प्रगति विवरण स्थानीय सरकार र कोष विकास समिति समक्ष पेश