म हुँ पानी पाले अर्थात ग्रामीण मर्मत सम्भार कार्यकर्ता

 

रौतहट : श्याम दर्लामी नाम । पानी तान्ने, चढाउने र पठाउने काम । खासै चित्त बुझ्दो छैन दाम । र पनि आफ्नो काममा दिनरात, घामपानी नभनी खटिरहनुभएको हुन्छ । अरुलाई पानी खुवाउने कामबाट पूण्य मिल्ने विश्वासले उहाँलाई सधैं घच्घच्याईरहन्छ ।

दर्लामीलाई कोही भन्छन् पानी पाले कोही भन्छन् भीएम्डब्लु अर्थात ग्रामीण मर्मत सम्भार कार्यकर्ता । उहाँले पौराई ३ रौतहटमा रहेको दोभान खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा ग्रामीण मर्मत सम्भार कार्यकर्ता भएर काम गर्न थालेको लामो समय भईसकेको छ ।

आयोजनाको दिगो सञ्चालन र मर्मत सम्भारको लागि मर्मत सम्भार कोषमा प्रत्येक महिना हरेक परिवारबाट खानेपानी महसुल उठाइन्छ, जसले आयोजनाको दिगोपनामा सहयोग पुर्‍याउँछ ।

भीएमडब्लु दर्लामीको घर खानेपानी कार्यालयको नजिकै पर्छ । तर उहाँ कहिलेकाहीं पम्प हाउसमै रात बिताउनुहुन्छ । विजुलीको भोल्टेज कम भएको बेला पानी चढाउन नसके पम्प हाउसमै रात वित्ने उहाँले बताउनुभयो । ‘बोरिङ गरेको पानी ओभरहेड ट्याङ्कीमा चढाएपछि मात्र वितरण हुन्छ र यसका लागि भोल्टेज कम हुनुहुँदैन । त्यस्तो बेला रातको समयमा बसेर पानी चढाउनुपर्ने भएकाले मेरो बास नै पम्प हाउसमा हुने गरेको छ ।’

 

खानेपानी वितरणमा भिएम्डब्लुको भूमिका अति महत्वपूर्ण हुने उहाँको धारणा छ । एक जना भिएमडब्लुले पानी बन्द गर्ने र छोड्ने काम मात्र नभई सामान्य मर्मत सम्भारको काम समेत गर्ने भएकाले खानेपानीको दिगोपनामा भिएमडब्लुको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

ग्रामीण मर्मत सम्भार कार्यकर्ताले खानेपानीको सामान्य मर्मत गर्नुपर्ने भएकाले आवश्यक तालिम र औजारको व्यवस्था हुन सके धेरै राम्रो हुने उहाँको भनाइ छ । भिएमडब्लुहरुले न्यून तलबमा जटिल काम समेत गर्नुपर्ने भएकाले कामको सम्मान हुनुपर्ने उहाँले बताउनुभयो ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति मार्फत सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाको दिगोपनाका लागि प्रत्येक आयोजनामा अनिवार्य एक जना ग्रामीण मर्मत सम्भार कार्यकर्ताको व्यवस्था गर्नुपर्ने प्रावधान छ । आयोजना मर्मत सम्भारका लागि समदायले पहाडी खानेपानी प्रणालीमा कुल लागतको ३ प्रतिशत र भूमिगत खानेपानी प्रणालीमा ४ प्रतिशत योगदान रकम संकलन गर्ने प्रावधान रहेको छ ।

यस्तै आयोजनाको दिगो सञ्चालन र नियमित मर्मत सम्भारको प्रयोजनका लागि मर्मत सम्भार कोषमा प्रत्येक महिना हरेक परिवारबाट नियमित खानेपानी महसुल उठाइन्छ, जसले आयोजनाको दिगोपनामा सहयोग पुर्‍याउँछ ।

हेरौं यो भिडियो :

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक एवं साथी नेपालको प्राविधिक सहयोगमा दोभान खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरिएको हो । कुल ३७ लाख ४२ हजार ९३० रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको आयोजनाबाट २५ धारा मार्फत १५७ घरपरिवार लाभान्वित भएका छन् ।
आयोजना सम्पन्न गर्नका लागि समुदायले २ लाख १२ हजार रुपैयाँ नगद र ४४ लाख ९ हजार ५ सय २६ रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार