बनेपा : एशियाली विकास बैंकले काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाबाट हात झिकेको छ। २०७० जेठ महिनाबाट निर्माण सुरु भएको आयोजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखे पनि ९ पटकसम्म म्याद थप्दा समेत पुरा नभएपछि एडिबीले हात झिकेको हो। काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना एडिबीको ऋण सहयोगमा मझौला एकीकृत सहरी वातावरणीय सुधार आयोजना अन्तर्गत निर्माण भईरहेको थियो । बैंकले काम नगर्ने भन्दै हात झिकेपछि उक्त आयोजनामा लगानी कहाँबाट जुटाउने भन्ने समस्या सुरु भएको छ । काभ्रेको बनेपा, धुलीखेल र पनौती गरी तीनवटै पुराना नगरपालिकाका ९३ हजार जनसंख्यालाई सन् २०२४ सम्म गुणस्तरीय खानेपानी खुवाउने खानेपानी आयोजनाको लक्ष्य थियो ।
एडिबीले हात झिकेपनि उक्त आयोजना पूरा हुनेमा कुनै शंका नरहेको आयोजनाले जनाएको छ। डिसेम्बर ३१ देखि बैंकले लोन क्लोजको काम गरिरहेको र आयोजना नेपाल सरकारले सञ्चालन गरिरहेकोले कुनै समस्या नआउने आयोजना समन्वय कार्यालयकी उप–आयोजना निर्देशक प्रतिज्ञा मानन्धरले बताउनुभयो ।
उक्त खानेपानी आयोजना चिनिया ठेकेदार कम्पनी निङ्बो निङ्सिङ् इन्टरनेशनल कम्पनीले निर्माण गरिरहेको छ । दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य अनुसार सम्झौता भएपनि ६ वर्ष पूरा हुँदा समेत काम पूरा हुन सकेको छैन। नेपालमा कुनै कार्यालय नभएको चिनिया कम्पनीले प्रतिनिधिका रूपमा नक्सालका किरण वैद्यलाई तोकेको छ। उनैले निर्माण कार्यको काम गर्दै आएका छन्।
खानेपानी आयोजना सुरु हुँदा ६७ करोड ३३ लाख रुपैयाँ लागत रहेकोमा पटक–पटक पुनरावलोकन गरेर भ्याट बाहेक ९९ करोड ११ लाख रुपैयाँ लागत पु(याइएको छ। सुरुको लागत भन्दा अहिले ४७ प्रतिशतले वृद्धि गरिएको छ। यस्तै, निर्माण अवधि तीन गुणाभन्दा बढी समय लम्बिँदा कामको परिमाण समेत बढेकाले सुपरीवेक्षण परामर्शदातालाई सुरुको सम्झौता ३ करोड ४३ लाखको दोब्बरभन्दा बढी अर्थात ७ करोड ३२ लाख रुपैयाँ आयोजनाले भुक्तानी दिनुपर्ने अवस्था सिर्जना भएको छ।
निर्माण कार्यको सुपरिवेक्षण बिल्डिङ डिजाइन अथोरिटी (बिडिए) प्रालि र सिम्याट कन्सल्ट्यान्ट प्रालिको जेभिले गरिरहेका छन्। अमेरिकी डलरको भाउमा लगातारको वृद्धि र मूल्यवृद्धि समायोजनले थप २० करोड रुपैयाँ बराबर आयोजनाको लागत बढ्ने भएको छ।
यसैवीच, आयोजनालाई सञ्चालन गर्दै आएको काभ्रे उपत्यका एकीकृत खानेपानी व्यवस्थापन बोर्डको पछिल्लो बैठकले निर्माण कम्पनीको म्याद १०औं पटक अर्थात् २०२० मे २८ (२०७६ चैत १५) सम्म थप्ने निर्णय गरेको छ। आयोजनाले अहिलेसम्म ९६ प्रतिशत काम सम्पन्न भएको दाबी गरेको छ। तर खानेपानी आयोजनाको मुहानदेखि प्रशोधन केन्द्रसम्मको एक सय २९ मिटर पाइप जडानको काम भएको छैन। ट्यांकी निर्माणका लागि आवश्यक पर्ने सामग्री निर्माण स्थलसम्म पु(याइएको छैन। त्यसैले अझैपनि तोकिएको समयमा पानी आउनेमा उपभोक्ता अझै विश्वस्त हुन सकेका छैनन् ।
आयोजनामा भइरहेको ढिलाइप्रति सहरी विकास मन्त्रालयले चासो दिएको छ। २ वर्षमा काम सक्ने गरेर सम्झौता भएको आयोजना ६ वर्षसम्म पनि नसकिँदा स्थानीयलाई समस्या भएकाले तत्काल काम सक्न सहरी विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्देशन दिनुभएको छ । अब तोकिएको म्यादमा पनि काम सम्पन्न नभए निर्माण कम्पनीलाई कालो सूचीमा राखी कार्वाही अगाडि बढाईने मन्त्री बाँस्कोटाले चेतावनी दिनुभयो ।