भक्तपपुर : विश्व बैंककी खानेपानी तथा सरसफाइ विशेषज्ञ रुबिका श्रेष्ठले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति मार्फत थप नयाँ खानेपानी आयोजना सञ्चालन गर्न विश्व बैंक सकारात्मक रहेको बताउनुभएको छ । निर्माण पश्चातको चरणबारे सहयोगी संस्थाका टिम लिडर र वास इञ्जिनियरहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले नयाँ आयोजना सञ्चालन गर्न हाल निर्माणाधीन खानेपानी आयोजनाहरु तोकिएकै समयमा सम्पन्न हुनुपर्ने बताउनुभयो ।
‘आगामी आयोजनाबारे विश्व बैंक सकारात्मक छ, यसमा खानेपानी मन्त्रालय सँग पनि कुरा भईरहेको छ, तर नयाँ आयोजना आउने वा नआउने भन्ने कुरा हाल सञ्चालित ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनाको सफल कार्यान्वयनमा निर्भर गर्छ’ उहाँले भन्नुभयो ।
वास विशेषज्ञ श्रेष्ठले ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनाको म्याद सकिन ६ महिना मात्र बाँकी रहेको र ६ महिनाको समय थप गर्ने बिषयमा पनि छलफल भईरहेको बताउनुभयो । तर निर्णय भने नभई नसकेको उहाँले जानकारी गराउनुभयो ।
उहाँले यस अघि खानेपानी तथा सरसफाइ आयोजनाहरु सफल रुपमा कार्यान्वयन गरिसकेका संस्थाहरुका लागि योजना निर्माण पश्चातको चरण अति महत्वपूर्ण भएको प्रकाश पार्नुभयो । आयोजनाको सबै काम सम्पन्न भएपछि सम्पन्न प्रतिवेदन चित्तबुझ्दो आएमा दातृ निकाय, सम्बन्धित मन्त्रालय र कार्यान्वयन निकाय सबै पक्ष सन्तुष्ट हुने उहाँको भनाई थियो ।
यी सबै काम फिल्डमै कार्यरत वास इञ्जिनियर र टिम लिडर एवं खानेपानी उपभोक्ता समितिका सदस्यहरुबाट मात्र सम्भव भएकाले दत्तचित्त भएर कार्यक्रम कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो ।
निर्माण चरण पश्चातको कार्यक्रम भनेको के हो ?
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिबाट पूर्व विकास चरण, विकास चरण र कार्यान्वयन चरण पूरा गरी सम्पन्न भएका आयोजनाहरुको दिगोपना र नियमित सञ्चालनका लागि गरिने क्रियाकलापहरु नै निर्माण चरण पश्चातको कार्यक्रम हो । यो ६ महिनादेखि ९ महिना अवधिको हुन्छ ।
नवौं समूह र दशौं समूहमा सम्पन्न भएका आयोजनाहरुलाई दिगोपना, नियमित सञ्चालन, उपभोक्ता समितिको संस्थागत विकास तथा क्षमता अभिवृद्धि, मर्मत सम्भार कार्यकर्ताबाट खानेपानी आयोजनाको निरन्तर रेखदेख, पानीको नियमित महसुल संकलन, मर्मत सम्भार कोषको व्यवस्थापन र आयोजनामा केही मर्मत सम्भार गरी आयोजनामा भएका कमी कमजोरीहरुको सुधार गरी आयोजनालाई निरन्तर सञ्चालन गर्नु नै निर्माण चरण पश्चातको उद्देश्य रहेको कोष विकास समितिका मानव संशाधन तथा कार्यक्रम विकास महाशाखा प्रमुख टिका अधिकारीले बताउनुभयो ।
‘मुख्यतः मौसमको परिवर्तन वा अन्य कारणबाट पानीको स्रोतमा आएको कमी, प्राकृतिक प्रकोपबाट आयोजनामा हुन गएको क्षति, सञ्चालित आयोजनामा प्राविधिक कारणबाट कुनै संरचना छुट भई थप्न आवश्यक भएमा, पानीको गुणस्तर सुधार गर्न आवश्यक भएमा, भूकम्पबाट संरचनाको क्षति भएमा वा अन्य केही काराण्बाट आयोजनाको मर्मत सम्भार तथा स्तरोन्नति जस्ता अत्यावश्यक कार्य सम्पन्न गरी आयोजनालाई नियमित रुपमा सन्चालन गर्नु नै निर्माण चरणको पश्चातको मुख्य काम हो ।’ उहाँले भन्नुभयो ।
कोष विकास समितिबाट सम्पन्न भएका खानेपानी आयोजनाहरु कुनै अर्को निकाय वा सडक विस्तार लगायतका कारणबाट आयोजनाको क्षति हुुन गएमा सो को पुनः निर्माण जुन निकायबाट क्षति गराएको हो उसै मार्फत गर्नुपर्नेछ ।
स्थानीय तहमा आयोजना हस्तान्तरण गर्ने
कोष विकास समिति मार्फत सम्पन्न खानेपानी आयोजनाहरु स्थानीय तहमा हस्तान्तरण गरिने भएको छ । तर त्यसअघि सहयोगी संस्था, उपभोक्ता समिति र समुदायले मर्मत गर्नुपर्ने भएमा डिजाइन इष्टिमेट गरी मर्मत सम्भार कार्य सम्पन्न गर्नुपर्नेछ । यस्तै उपभोक्ता समितिको तालिम सञ्चालन, खानेपानी सुरक्षा योजना तयारी गरी लागु गर्ने, जागरण कार्यक्रमको निरन्तरता हुन पनि आवश्यक छ ।
कोष विकास समितिले जीविकोपार्जन कार्यक्रम, गुनासो व्यवस्थापन, सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम र स्थानीय तहसँग सम्बन्ध तथा साझेदारी गरी स्थानीय तहमा आयोजना दर्ता गर्ने र उपभोक्ता समिति मार्फत नियमित रुपमा आयोजना सञ्चालन गर्ने गरी स्थानीय तहमा आयोजना हस्तान्तरण गर्ने जनाएको छ ।