खानेपानीे क्षेत्रको एक पाठशाला, सिपाडोल खानेपानी आयोजना

 3008 पटक हेरिएको

 

संगीता गिरी दास : पानीको बढ्दो अभाव झेलिरहेको काठमाडौं उपत्यकाका कैयौं बस्तीहरूभन्दा भक्तपुरको सिपाडोलको अवस्था पनि केही समय अघिसम्म भिन्न थिएन । तीव्र रूपमा बढिरहेको जनसंख्यालाई पानीको पर्याप्त आपूर्ति गर्ने कुरा दिनदिनै चुनौतीपूर्ण बन्दै थियो । यो अवस्थामा साविकको सिपाडोल गाविसको १,२, ३ र ८ वडा ओगटेको (हाल सूर्यविनायक नगरपालिका ८)  योे समुदायमा स्थानीय वासिन्दाहरूको पहलबाट ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग तथा सहयोगी संस्था ‘नेपाल सर्वोदय सेवा केन्द्र’ को प्राविधिक सहयोग एवं सहजीकरणमा खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गर्ने भएपछि यस क्षेत्रका वासिन्दामा पानीको दुःखका दिन सकिने आशा पलायो ।

खानेपानी आयोजनाको विकास चरणमा समुदायमा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन भयो, जसको अध्यक्षमा रत्नप्रसाद छुकां चुनिनुभयो । विकासका क्रियाकलापमा दुई दशकभन्दा बढी अनुभव हासिल गरिसकेको र नवीन सम्भावनाहरूको खोजीबाट समुदायको विकास गर्ने व्यक्तित्व भएकाले छुकांलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको अन्य सदस्यहरू बताउँछन् ।

सार्वजनिक निजी साझेदारी अवधारणामा आधारित यो खानेपानीको आयोजना समुदायमा खानेपानी आपूर्तिका लागि निर्मित सामान्य आयोजना मात्र नभई नेपालको खानेपानीे क्षेत्रकै लागि एक पाठशाला हो ।

कोष विकास समितिको सहयोगमा निर्माण हुने खानेपानी आयोजना अन्तर्गत १६ र १८ घनमिटरका दुई वटा फेरोसिमेन्टका ट्याङ्कीद्वारा १७२ घरधुरीलाई निजी धारा उपलब्ध गराउने योजना थियो । यस आयोजनाले समुदायमा पानीको अभाव धेरै हदसम्म हटाउने भए पनि अध्यक्ष छुकांको दूरदर्शी नजरले यति पानीले मात्र समुदायलाई लामो समयसम्म पर्याप्त हुन नसक्ने ठम्यायो ।

 

सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट उदाहरण

 

देशभर सयौं आयोजनाहरू सञ्चालन गरिहेको कोष विकास समितिको निश्चित प्रक्रिया र सीमितता रहेको हुँदा यो आयोजनाको डिजाइनमा तत्कालै परिमार्जन हुन सम्भव थिएन । त्यसैले अध्यक्ष छुकांले उपभोक्ताहरूसँग यही आयोजनालाई अन्य स्रोतको उपयोग गरेर विस्तृत बनाउने विषयमा सल्लाह गर्नुभयो र सोही रणनीति अनुसार काम शुरु भयो ।


एउटा दातृ निकाय आएर काम गरिरहेको समान प्रकृतिको काममा अर्को दातृ निकायको सहयोग पाउन सम्भव थिएन । तर सबैको मनमा खानेपानी आयोजना निर्माणको उत्साह जागेका बेलामा आफ्नो सोचलाई साकार बनाउन सिपाडोल वासीहरूले आफ्नै स्रोत साधनको उपयोग गर्ने निश्चय गरे । जुन थियो – सिपाडोल बचत तथा ऋण सहकारी संस्थाबाट खानेपानीका थप प्रणाली निर्माणका लागि ऋण लिने ।

योजना अनुसार १ लाख २० हजार लिटर क्षमताको आर.सी.सी. रिजर्भ्वायर ट्यांकी निर्माण भयो । रिजर्भ्वायर देखि वितरण ट्याङ्कीसम्म पहिले डिजाइन गरिएको २ इञ्चको सट्टा ४ इञ्चको पाइप जडान समेत भयो भने अन्य पूर्वाधारहरू पनि शुरुको डिजाइनको भन्दा बढी क्षमताका निर्माण गरिए ।

यी सबै कामका लागि कोष विकास समितिबाट उपलब्ध ३९ लाख ३५ हजार १३७ रुपैयाँमा सहकारी संस्थाबाट ऋण स्वरुप प्राप्त भएको ६५ लाख रुपैयाँ थपेको अध्यक्ष छुकांले बताउनु भयो । सबै उपभोक्ताले मासिक रुपमा बुझाउने खानेपानी महसुलबाट सहकारी संस्थाको साँवा ब्याज चुक्ता गर्ने कुरामा उपभोक्ताहरू सहमत भए ।

समुदायमा बढ्ने जनसंख्या र भविष्यमा हुने पानीको मागको प्रक्षेपण गरेर उपभोक्ता समितिले हालै सूर्य विनायक नगरपालिकाबाट खानेपानीको थप प्रणाली निर्माणका लागि ३० लाख रूपैयाँ जुटाई त्यसमा पुनः सिपाडोल सहकारी संस्थाबाट ४५ लाख रुपैयाँ लगानी गरी पुनः ३ लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरेको छ । खानेपानी मन्त्री वीना मगरले शिलान्यास गर्नुभएको यस प्रणालीको निर्माण कार्य ६ महिनामै सम्पन्न गरी २०७६ मंसिर ७ गते पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले यसको उद्घाटन गर्नुभयो ।

 

यसरी आफ्नो लगनशीलता र सक्रियताले समुदायमा आएको विकासको एउटा अवसरलाई अझ वृहत् र उपयोगी बनाएका छन् सिपाडोलवासीले । सार्वजनिक–निजी साझेदारी (PPP) अवधारणाको उत्कृष्ट उदाहरण बनेको यस आयोजना अन्तर्गत चार लाख बीस लिटर क्षमताका ट्याङ्कीहरूबाट २० हजार भन्दा बढी जनसंख्यालाई पर्याप्त र सुरक्षित खानेपानी वितरण भइरहेको छ ।

सहयोगी संस्था नेपाल सर्वोदय सेवा केन्द्रका निर्देशक राजेश्वर अधिकारी आयोजना छनौट गर्दा अप्ठेरो परेको विगतको अनुभव सम्झंदै भन्नुहुन्छ “यस क्षेत्रमा खानेपानीको निकै अभाव थियो तर हामीसँग त्यो अभाव पूरा गर्ने स्रोत साधनको कमी थियो । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले यहाँ खानेपानीको दिगो आपूर्तिका लागि ठोस आधार प्रदान गर्‍यो भने त्यसलाई वृहत र मजबुत बनाउने काम स्थानीय वासिन्दा र सिपाडोल बचत तथा ऋण सहकारी संस्थाबाट भयो ।” स्थानीय वासिन्दा उपभोक्ता समिति, सिपाडोल बचत तथा ऋण सहकारी संस्था तथा नगरपालिकाले सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरेको उहाँले बताउनु भयो ।

समितिका अध्यक्ष रत्नप्रसाद छुकां व्यवस्थित तरिकाको फिल्टर च्याम्बर निर्माण गर्ने र सम्भावित पहिरोबाट जोगाउन ट्यांङ्की परिसरमा बलियो पर्खाल बनाउने योजना रहेको बताउनु हुन्छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य अच्युत प्रसाद उपाध्याय कोष विकास समिति र सर्वोदय सेवा केन्द्रले आफूहरूलाई लक्ष्य प्राप्ति गर्ने वातावरण दिलाएको बताउनुहुन्छ । यस आयोजनाले वृहत रुप लिन कोष विकास समितिले ठोस आधार प्रदान गरेको उपभोक्ता समितिका अर्का सदस्य नवराज थापा बताउनु हुन्छ ।

महिला सशक्तिकरणमा टेवा

खानेपानीेको सुलभ पहुँच सँगसँगै आयोजना क्षेत्रका महिलाहरू विभिन्न समुहमा आबद्ध भई बचत तथा ऋण कार्यक्रममा सहभागी भएका छन् । कोष विकास समितिको सहयोगमा सञ्चालित खानेपानी आयोजनाकै क्रममा विभिन्न सात वटा समूह एकजुट भएर गठन भएको महिला प्राविधिक समूह आयआर्जन, खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गरी रहेका छन् ।

महिला प्राविधिक समुहकी अध्यक्ष तारा बस्नेत आयोजना क्षेत्रका महिलाहरू पहिलेको तुलनामा धेरै सक्रिय र सशक्त भएको बताउनु हुन्छ । तर समाजको समावेशी विकासका लागि पिछडिएका वर्गका महिलाहरूलाई यस कार्यक्रमले क्षमता अभिवृद्धिका विभिन्न तालिम प्रदान गर्न आवश्यक भएको मनन गरी सोही अनुरुप कार्यरत रहेको पनि उहाँले बताउनु भयो ।

भविष्यको योजना

दूरदर्शी सोचका साथ अघि बढेर छोटै समयमा समुदायका वासिन्दाहरूलाई भरपर्दो र पर्याप्त खानेपानी सुविधा उपलब्ध गराउन सफल भएको यस खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष रत्नप्रसाद छुकां व्यवस्थित तरिकाको फिल्टर च्याम्बर निर्माण गर्ने र सम्भावित पहिरोबाट जोगाउन ट्यांङ्की परिसरमा बलियो पर्खाल बनाउने योजना रहेको बताउनु हुन्छ ।

उपभोक्ता समितिले आयोजनाको दिगोपनाका लागि अहिल्यैदेखि तयारी थालेको अध्यक्ष छुकांले बताउनु भयो । जस अन्तर्गत मर्मत सम्भार र आयोजना क्षेत्रमा भविष्यमा थपिने घरहरूका लागि समितिसँग वर्तमान बजार मूल्य अनुसार चार लाख रुपैयाँ बराबरको पाइप रहेको र नियमित महसुल उठाउने कुरालाई प्राथमिकता दिने नीति लिइएको उहाँले जानकारी दिनुभयो ।

सार्वजनिक निजी साझेदारी अवधारणामा आधारित यो खानेपानीको आयोजना समुदायमा खानेपानी आपूर्तिका लागि निर्मित सामान्य आयोजना मात्र नभई नेपालको खानेपानीे क्षेत्रकै लागि एक पाठशाला हो । देशमा सञ्चालित मझौला खानेपानी आयोजनाहरूले यो आयोजनाबाट साझेदारी र सहकार्यको राम्रो पाठ सिक्न सक्छन् । नेतृत्व वर्गमा दूरदर्शी सोच भएको खण्डमा सम्भव नलाग्ने कुराहरू पनि वास्तविकतामा परिणत हुन सक्छन् भन्ने सन्देश यस आयोजनाबाट पाइन्छ ।

वर्तमान समयमा टोल–टोलमा स्थापना भएका सहकारी संस्थाहरूले विकासका कार्यमा चासो देखाउने र विकासका साझेदारहरूले सहकारी संस्थासँग सहकार्य गर्ने हो भने दातृ निकाय, सरकार वा अरु कसैको मुख नताकी आफ्नो ठाउँको विकास आफैं गर्न सकिने रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण बन्न पुगेको छ सिपाडोल खानेपानी तथा सरसफाइ आयोजना ।

लेखक ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिमा जीविका विज्ञ हुनुहुन्छ । प्रस्तुत लेखलाई कोष विकास समितिको चौमासिक समाचार बुलेटिन ‘पानी सरसफाइ र जीवन’ बाट साभार गरिएको हो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार