पूर्ण सरसफाइ उन्मुख वडा बनाउन जुर्मुरायो सूर्यविनायक सात, २०७७ सालको लक्ष्य निर्धारण

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नं. ७ गुण्डुलाई आगामी २०७७ साल भित्र सफा र स्वच्छ एवं पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिने भएको छ । शनिबार यूएन ह्याविटाटको सहजीकरणमा वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा आगामी २०७७ साल भित्र सफा र स्वच्छ एवं पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने लक्ष्य निर्धारण गरिएको हो ।

सूर्यबिनायक नगरपालिकाले आगामी २०७९ साल चैत्र मसान्तभित्र पूर्ण सरसफाइ उन्मुख नगर घोषणा गर्न यस अघि नै पूर्ण सरसफाइ रणनीतिक योजना २०७६ पारित गरिसकेको छ । नगरपालिकाले लिएको लक्ष्य पूरा गर्न वडा नं. ७ लाई त्यस अगावै पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्न आवश्यक रहेको वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो । कार्ययोजना कार्यान्वयनका लागि वडाध्यक्ष सापकोटाको संयोजकत्वमा १९ सदस्यीय वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । उक्त समिति अन्तर्गत रहने गरी गुण्डू सहकारी बचत तथा ऋण सहकारी संस्थाका गणेशबहादुर गिरीको संयोजकत्वमा १५ वटा संस्था सदस्य रहेको उप समिति, र किवाचोक युवा अभियान संस्थाका नविन माकजु संयोजकत्जमा १३ वटा संस्था सदस्य रहेको उपसमिति समेत गठन गरिएको छ । यस्तै पाथीभरा माता वैर्णोदेवी व्यवस्थापन समितिका तर्फबाट सरद बस्नेतको संयोजकत्वमा १७ वटा संघसंस्था सदस्य रहेको उपसमिति निर्माण गरिएको छ ।

वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं ७ नं. वडाका अध्यक्ष रबिन्द्र सापकोटाले वडाको प्रत्येक घरलाई पूर्ण सरसफाइ अभियानमा सहभागी गराई तोकिएकै समयभित्र वडालाई पूर्ण सरसफाइउन्मुख वडा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्ण सरसफाइ उन्मुख वडा बनाउन सञ्चालन गरिने क्रियाकलापहरु

वडा नं.७ गुण्डुले पूर्ण सरसफाइ उन्मुख वडा घोषणाका लागि निर्धारण गरेको लक्ष्य परिपूर्तिका लागि हरेक घरले निम्न क्रियाकलापहरु अबलम्बन गर्ने भएको छ ।

 खानेपानी, सरसफाइ तथा स्वच्छतालाई उच्च प्राथमिकता दिइ बजेट विनियोजन गर्ने

 फोहोरलाई अनिवार्य रुपमा कुहिने र नकुहिने गरी बर्गिकरण गर्ने र कुहिने फोहोरलाई घरमा नै व्यवस्थापन गर्ने

 सबै घरमा हात धुने स्थान, भाँडा राख्ने स्थान र फोहोर सडाउने खाडल बनाउने

 कुकुर लगायत घरपालुवा जनावारले फोहोर गर्न बन्देज लगाउने ।

 पूर्णसरसफाइ अभियानमा आमा समूह, टोल समूहलाई सक्रिय गराई मनैदेखि जन जागरण ल्याउने

 खानेपानीलाई मुहानदेखि मुखसम्म सुरक्षित बनाउन सरसफाइ र शुद्धिकरणका विधि अपनाउने ।

 विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी व्यवहारिक ज्ञान दिई शौचालयको दैनिक सफा गरी सुरक्षित पिउने पानीको व्यवस्थापन गर्ने ।

 वडा स्तरीय समन्वय समिति र उप समितिहरुले नियमित रुपमा घरको अनुगमन गर्ने ।

 हरेक शनिवार आफ्नो टोल, सार्वजनिक स्थल सफा गर्ने र घर तथा सार्वजनिक स्थलमा फूल बिरुवा रोप्ने

 पूर्ण सरसफाइमा उत्कृष्ट कार्य गर्ने व्यक्ति, घर र समुदायलाई पुरस्कृत गर्ने ।

 विद्यालय र समुदायमा महिनावारी स्वच्छता व्यस्थापन सम्बन्धी खुलेर छलफल गर्ने र महिलामैत्री शौचालयहरु निर्माण गर्ने ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार