तिलोत्तमा नगरपालिकाको ७ वटा वडा पोलिथिनमुक्त घोषणा

 1621 पटक हेरिएको


रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गतका ७ वटा वडालाई शुन्य पोलिथिनमुक्त वडा घोषणा गरिएको छ । प्लास्टिकजन्य सामग्रीबाट फोहर हुन नदिन शुन्य पोलिथिनमुक्त वडा घोषणा गरिएको हो । नगरपालिकाका १७ वटा मध्ये ७ वटा वडा शुन्य पोलिथिनमुक्त क्षेत्र घोषणा भइसकेको र बाँकी वडालाई समेत क्रमशः घोषणा गर्दै लगिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकालाई शुन्य पोलिथिन र पूर्ण सरसफाइयुक्त नगर बनाउने अभियान अन्तर्गत वडाहरुमा विभिन्न कार्यक्रम भईरहेका छन् । यो अभियानमा टोल विकास संस्थाका पदाधिकारीहरुले विभिन्न प्ले कार्ड सहित चेतनामूलक कार्यक्रम गरिरहेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । घोषणालाई व्यवहारमा कार्यान्वयन गर्ने सामूहिक संकल्प गरेर वडालाई शुन्य पोलिथिनमुक्त क्षेत्र घोषणा गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रियसभाका सदस्य गोपाल भट्टराईले तिलोत्तमा नगरपालिकाले शुरु गरेको शुन्य पोलिथिन नगर बनाउने अभियान सामान्य विषय नभई सिंगो देशकै लागि उदाहरणीय प्रयास भएको बताउनुभयो । वातावरण प्रदुषण र जलवायु परिवर्तनमा प्लास्टिकजन्य फोहोर मुख्य समस्या रहेको उल्लेख गर्दै भट्टराईले वातावरण संरक्षण र माटोको उर्बराशक्ति जोगाउन सिंगो देशलाई शुन्य पोलिथिन मुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले चार महिनामा दैनिक दुई घण्टाका दरले करिब एक लाख नगरवासीले पाँच करोड रुपैयाँ बराबरको श्रमदान गरेर सातवटा वडालाई शुन्य पोलिथिन बनाउन सफल भएको बताउनुभयो । नगरबासीले आफ्नो दैनिक आनीबानीमा परिवर्तन गर्न आग्रह गर्दै उहाँले बाहिरका मान्छेले जथाभावी प्लास्टिक र पोलिथिनजन्य फोहोर फालेमा नगद जरिवाना गर्ने गरी कार्यविधि बनेको र छिट्टै कार्यान्वयनमा आउने उल्लेख गर्नुभयो । नगरभित्र एकहजार बढी डस्ट बिन वितरण गरिएको र खुलारुपमा पोलिथिन नफाल्न सचेतनामूलक साइन बोर्ड टांगिएकाले अब जथाभावी फाल्नेलाई नगर प्रहरीले कारवाही गर्ने उहाँले बताउनुभयो ।

तिलोत्तमा–५ का वडा अध्यक्ष चेतनारायण भण्डारीले नगरपालिकाको केन्द्र भाग मणिग्राम क्षेत्रसहित वडालाई शुन्य पोलिथिन घोषणा कार्यान्वयनमा टोल विकास संस्था, आमा समूह, विद्यालय, कलेज र उद्योगी–व्यवसायीको इमान्दार साथ चाहिने बताउनुभयो । नगरलाई शुन्य पोलिथिन बनाउन सीम नेपालका ७० जना स्वयंसेवक नगरपालिकाका १७ वटै वडाका टोल टोल र नगरभित्रका सरकारी र संस्थागत ८५ वटै विद्यालयमा पुगेर सरसफा, वातावरण संरक्षण र माटोको उर्बराशक्ति सुरक्षाका लागि प्लास्टिकले पु¥याउने हानी–नोक्सानीबारे प्रशिक्षण दिने गरेको सिम नेपालकी कार्यकारी निर्देशक लक्ष्मी चापागार्इंले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार