प्याड सिलाएर पढाइ खर्च जुटाउँदै

‘चोकमा आएर दुई मुठा साग, दुई किलो मुला बेच्ने । त्यहीबाट आर्जन भएको दुई चार पैसाले छोराछोरीलाई पेन्सिल, कापी किन्ने ।’ धादिङको भोर्ले सुनौलो बजारकी चनमती मगरातीले काठमाडौ बसाईको ६ बर्ष यसरी नै बिताउनुभयो । तरकारी उमार्नका लागि आफू बसेको घर परिसरमै सानो करेसाबारी थियो । त्यही करेसाबारीमा जत्ति फलाउन सकिन्छ, त्यत्ति नै बिक्री गर्नुभन्दा अरु उपाय थिएन उहाँसँग । ‘कोठाबाट चोकसम्म, चोकदेखि कोठासम्म, काठमाडौमा बसेको भन्नु मात्र, न कतै घुमघाम, न कसैसँग चिनजान, न कसैसँग बोलचाल नै, साँच्चिकै बन्धन भित्रको जिन्दगी बाँचिरहेकी थिएँ ।’ उहाँले पुरानो कुरा ओकल्नुभयो ।

त्यत्तिबेला छोराछोरी सानै थिए । एलकेजी, युकेजी पढिरहेका छोराछोरीको पेन्सिल, कापी तरकारी बेचेको पैसाले दुःखसुख टरेकै थियो । बोर्डिङको शुल्क श्रीमानले गाडी चलाएर जुटाउनुहुन्थ्यो । परिवारका सबै सदस्यहरु मस्त निद्रामा भएको बेला चनमतीको मनमा एउटै कुरा खेलिरहन्थ्यो ‘बच्चाहरु माथिल्लो कक्षामा पुग्दा एक मुठा साग, दुई किलो मुला बेचेर कसरी कापी/कलम जुटाउने होला ?’

भविश्यको चिन्ताले निदाउनै नदिएपछि चनमती कहिले त आत्तिनुहुन्थ्यो । मनमा अनेकौं कुराले तछाडमछाड गरेपनि एउटै चिन्ता थियो, बढ्दो खर्चलाई कसरी धान्ने होला ? तर उहाँको सबै चिन्ता स्यानिटरी प्याडले हटाएको छ । चनमतीले तरकारी उमार्ने र चोकमा ल्याएर बेच्ने कामबाट छुटकारा लिएको तीन बर्ष भईसकेको छ । उहाँ अहिले स्यानिटरी प्याड सिलाएर छोराछोरीको पढाई खर्चको प्रबन्ध मिलाउनुहुन्छ । घर खर्च पनि प्याड सिलाएर कमाएको पैसाबाटै चलिरहेको छ ।

तरकारी उमार्ने हातले कसरी मेसिन चलाउन पुग्यो त ? चनमती भन्नुहुन्छ ‘सुरुमा बहिनीले काम गर्न थालेको रहेछ, मैले पनि काम गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो, तर मैले मेसिन छोएकै थिएन । बहिनीले चाहिं सिक्न थालेको एक हप्ता जत्ति भईसकेको रहेछ ।’ चनमतीले मेसिन नछोएको मात्र होइन, उहाँलाई स्यानिटरी प्याड भनेको के हो ? भन्ने समेत थाहा थिएन । चनमती भन्नुहुन्छ ‘काम के भन्दा स्यानिटरी प्याड सिलाउने, न आफूलाई प्याड भन्ने थाहा, न मेसिनको ज्ञान, म त यहाँ आएर पनि अलमल्लमा परें ।’


‘मानिसले सिकेपछि नजान्ने कुरा के हुन्छ ?’ उहाँलाई यही कुराले नयाँ काम सिक्न प्रेरित गराउँथ्यो । चनमती भन्नुहुन्छ ‘सुरुमा मेसिन चलाउन सिकें, धागो बेर्न र मेसिन चलाउन मात्र मलाई महिना दिन जत्ति नै लाग्यो ।’ मेसिनमा बिस्तारै हात बस्दै गयो । स्यानिटरी प्याडको नाम समेत नसुनेकी चनमती प्याड सिलाउन सक्ने हुनुभयो ।
उहाँलाई स्यानिटरी प्याड सिलाउन निःशुल्क सहयोग गर्ने संस्था थियो ‘डेज फर गर्ल्स नेपाल अर्थात किशोरीहरुको दिन नेपाल । डेज फर गर्ल्स नेपालले उहाँलाई सीप मात्र प्रदान गरेन, स्यानिटरी प्याड सिलाउने काम पनि दियो । डेज फर गर्ल्स नेपालले प्रति प्याडको आधारमा रकम उपलब्ध गराउँथ्यो । जसका कारण उहाँ जस्ता गृहिणीलाई आफ्नो समय अनुकुल मिलाएर प्याड सिलाउन र भुक्तानी लिन सजिलो भयो ।

स्यानिटरी प्याड सिलाउन थालेपछि उहाँले साग र मुला बिक्री गर्न चोक गईरहनु परेन । पहिलेको तुलनामा दशौं गुणा आम्दानी बृद्धि भयो । साग बिक्री गर्दा महिनाको ३/४ हजार रुपैयाँ आम्दानी गर्न पनि मुश्किल पर्ने चनमतिले प्याड सिलाएर महिनामै २७ हजार रुपैयाँ सम्म कमाएको रेकर्ड समेत बनाउनुभयो । सीप सिकेर आम्दानीमा बृद्धि भएको मात्र होइन, अन्य धेरै कुरामा विकास भएको बताउनुहुन्छ चनमती । उहाँको कुरा सुन्दा साथीभाइसँग बोल्न, मन खोलेर हाँस्न, सुखदुःख साटासाट गर्न पनि डेज फर गर्ल्समै आएर सिक्नुभएको हो । त्यसबेला सम्म महिनावारी हुँदा कपडाको टालो प्रयोग गर्ने चनमतीले आफैले सीप सिके पछि पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड प्रयोग गर्न थाल्नुभयो ।

तीन सन्तानकी आमा चनमतीका छोरा कक्षा ९ मा अध्ययन गर्छन् । जेठी छोरी ७ र कान्छी छोरी ५ कक्षामा पढ्छिन् । कापी कलमका अलावा कहिलेकाहीं अरु खर्च पनि चाहियो ममी भन्दा चनमतीले बाबालाई माग भन्नु परेको छैन । खल्तीमा दुई चार पैसा नटुटे पछि मनमा जाँगर आउने, मन खुसी हुने, तनाव झेल्नु नपर्ने उहाँको अनुभव छ ।
चनमतीका श्रीमान गाडी चलाउनुहुन्छ । दिनको एक हजार रुपैयाँ त साहुलाई बुझाउनुपर्छ । आएको आम्दानीबाट तेल हाल्दा, मर्मत गर्दा कहिले त महिनाभर गाडी चलाउनु मात्रै हुन्छ । र पनि चनमतीको घर व्यवहार चलेकै छ । उहाँ हाँस्दै भन्नुहुन्छ ‘श्रीमान्को कमाई नभए पनि मेरो त भईरहन्छ नि ?’

साग बेचेर बालबच्चाको पढाई खर्च जुटाउने बेला भविश्य सम्झेर अत्यास लागेको बताउने चनमती जोडी अहिले धादिङको सुनौलो बजारमा घर बनाउँदै हुनुहुन्छ । घर बनाउनु अघिसम्म प्याड सिलाएकै रकमबाट बैंकमा पुग नपुग लाख रुपैयाँसम्म बचत भईसकेको थियो । तर अहिले कमाए जत्ति सबै घर बनाउनमै लगानी भईरहेको उहाँले सुनाउनुभयो ।

‘पहिले कमाइ पनि थिएन, खर्च पनि सीमित थियो, अहिले कमाई पनि छ खर्च पनि छ, के मात्र सस्तो छ र काठमाडौमा ?’ यत्ति कुरा भनिरहँदा चनमतिमा बढ्दो खर्च आफ्नो कमाईबाटै धान्न सक्ने आत्मविश्वास झल्किन्थ्यो ।

चनमतीको काममा बालबच्चाले साथ दिन थालेका छन् भने श्रीमान्ले हौसला । काटिसकेका कपडाहरु पट्याउन दुवै छोरीहरुको हात आमा सँगै चल्छन् । उहाँको श्रीमान्ले भन्नुहुन्छ रे ‘तिमीले मेसिन चलाएर कमाउन सक्छन् भन्ने त मलाई लागेकै थिएन, बालबच्चाहरु तिम्रै कारण यत्ति मिहेनती बनेका छन्, ज्ञानी बनेका छन् र पढेका छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार