मेलम्ची खानेपानी आयोजना बारे स्वेतपत्र जारी, के – के छन् स्वेत पत्रमा ?


काठमाडौ : मेलम्ची खानेपानी विकास समितिले मेलम्ची खानेपानी आयोजनाबारे स्वेतपत्र जारी गरेको छ । मेलम्ची खानेपानीको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्मको प्रगति तथा आयोजनाको भावी योजना समेत समेटेर तयार पारिएको स्वेत पत्र खानेपानीमन्त्री बिना मगरले सार्वजनिक गर्नुभयो ।

खानेपानी आयोजनाबारे विभिन्न सञ्चारमाध्यममा फरक फरक समाचार सार्वजनिक हुने र कतिपय समाचार अनुमानको भरमा लेखिएको पाईएकाले आयोजनाबारे स्पष्ट पार्नका लागि स्वेत पत्र जारी गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. तिरेश प्रसाद खत्रीले बताउनुभयो ।

मेलम्ची असार भित्रै काठमाडौमा

कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले अस्थायी बाँध बनाएर भएपनि असार भित्रै मेलम्चीको पानी सुन्दरीजल झारिसक्ने बताउनुभयो । ‘हेडवर्क्स निर्माणको म्याद आगामी पुससम्म र सुरुङ फिनिसिङको कामको म्याद असोज सम्मको छ,तथापि सरकारको नीति तथा कार्यक्रममै आगामी असार मसान्तसम्म मेलम्चीको पानी काठमाडौमा ल्याईसक्ने भनेकाले हामी जसरी पनि असार भित्रै मेलम्चीको पानी सुन्दरीजलमा झार्ने तरिकाले काम गरिरहेका छौं’ उहाँले भन्नुभयो ।

स्थायी बाँध बनाउन अर्को बर्ष लागेपनि अहिलेका लागि अस्थायी बाँध बाँधेर पानी ल्याईने र सम्पन्न गर्नुपर्ने समय अगावै काम सम्पन्न गर्दा बोनसको व्यवस्था गरिएकाले निर्माण कम्पनीले समेत म्याद सक्नु अघि नै निर्माण सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

के – के छन् स्वेत पत्रमा ?

स्वेतपत्रमा मेलम्ची खानेपानी विकास समिति तथा मेलम्ची खानेपानी आयोजनाको परिचय, आयोजनाका सुरुमा प्रस्तावित अवयवहरु, आयोजनाको पुनर्सरचना, मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था, पूर्वाधार विकास सम्बन्धी कार्यक्रमहरु, सामाजिक उत्थान कार्यक्रमहरु, वातावरणीय व्यवस्थापन कार्यक्रम, पुनर्वास कार्ययोजना, सूचना तथा जनसम्पर्क कार्यक्रम, पानी प्रशोधन केन्द्र, पानी प्रशोधन केन्द्र निर्माण भाग १, पानी प्रशोधन केन्द्र भाग २, सुरुङ निर्माण, हेडवर्क्स तथा सुरुङ निर्माणको ठेक्का सम्झौता पुनः रद्द गर्नुपरेको कारण लगायत समेटिएका छन् ।

यस्तै आयोजनामा तत्काल देखिएका समस्याहरु तथा समाधानका लागि गरिएका प्रयासहरु, मेलम्ची खानेपानी विकास समितिको निर्णय, नयाँ ठेक्का व्यवस्थापन, आयोजनाको हालसम्मको भौतिक प्रगति तथा खर्च स्थिति, आयोजना तोकिएको समयमा सम्पन्न गर्न चुनौती तथा सोको समाधानका लागि नेपाल सरकार तथा अन्य निकायबाट अपेक्षित सहयोग जस्ता कुरा पनि स्वेत पत्रमा उल्लेख गरिएको छ ।

सिएमसीसँग भएको सम्झौता रद्द र त्यस बीचमा सुचारु गर्नका लागि मन्त्रालयबाट भएका प्रयास पनि यसमा समेटिएका छन् ।

स्वेतपत्रमा उल्लेख भए अनुसार अहिलेसम्म ९५.१२ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. तिरेश प्रसाद खत्रीका अनुसार हेडवर्क्सको काम ३५ प्रतिशत, कफर ड्याम निर्माणको प्रगति ४० प्रतिशत, सुरुङ फिनिसिङको काम ६५ प्रतिशत सम्पन्न भएको छ ।

यस्तै आयोजनाको कुल लागत ३१ अर्ब ३६ करोड रुपैयाँ मध्ये २८ अर्ब १३ करोड रुपैयाँ रकम लगानी भईसकेको छ । यो रकम कुल लागतको ८९.७० प्रतिशत हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार