भक्तपुर : राष्ट्रपति कार्यालय परिसरको बगैंचामा भक्तपुरको मध्यपुरथिमी नगरपालिकाले फोहोरबाट उत्पादन गरेको मल प्रयोग गरिएको छ । जापानी प्रविधिबाट उत्पादन गरिएको कम्पोस्ट मल दुषित रहित भएको प्रमाणित भएपछि राष्ट्रपति कार्यालयको बगैंचामा प्रयोग गर्न थालिएको मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो । मध्यपुरथिमि नगपालिकाले जापानको टोबा सहरसँग भगिनी सम्बन्ध कायम गरी दुई बर्ष अघिदेखि जापानी प्रविधिबाट मल उत्पादन गर्न थालेको हो । अहिले मध्यपुर थिमि नगरपालिकाले उत्पादन गरेको मलको अनुशरण गरी चितवनको राप्ती नगरपालिकाले मल उत्पादन गर्ने तयारी गरिरहेको छ । काठमाडौँंको कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर र भक्तपुरको सूर्यविनायक नगरपालिकाले समेत सोही प्रविधिबाट मल उत्पादन गर्न प्रारम्भिक योजना बनाएका छन् ।
घरबाट निस्कने फोहोरको व्यवस्थापन गर्न नसकेर वाक्क भईसकेको सहरी इलाकाका लागि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले फोहोरलाई मोहोरमा रुपान्तरण गरेर देखाएको छ । मध्यपुरथिमीले नगरपालिकाको वडा नं. ४ मा पर्ने विष्णुकुण्ड क्षेत्रको चार रोपनी सार्वजनिक जमिनमा कम्पोस्ट मल उत्पादन केन्द्र बनाएको छ । एक किलो फोहोरबाट एक किलो नै कम्पोष्ट मल उत्पादन गर्न सकिने र प्रति किलो मलको ५० रुपियाँमा हुने गरेको मल उत्पादनका लागि प्राविधिक सहयोग गरिरहेको रिकिसि प्रा.लि. का प्रबन्ध निर्देशक उषा गिरीले बताउनुभयो ।
प्रबन्ध निर्देशक गिरीले नेपालजस्तो कृषिप्रधान र सहरोन्मुख देशमा जापानी प्रविधिको कम्पोस्ट मल उत्पादन वरदान सावित हुने बताउनुभयो । दस वर्षसम्म जापानमा मल उत्पादन सम्बन्धी अध्ययन र अनुसन्धान गर्नुभएका गिरीले यो प्रविधि अपनाएमा कुहिले फोहोर फ्याँक्नै नपर्ने बताउनुभयो ।
मल उत्पादनका लागि सबै भौतिक संरचना मध्यपुरथिमी नगरपालिकाले निर्माण गरेको हो । मल विक्रीबाट भएको नाफाको १५ प्रतिशत रकम कम्पनीले नगरपालिकालाई प्रदान गर्नुपर्ने सम्झौता छ । अहिले वार्षिक दश टन मल उत्पादन हुने गरेको र उत्पादित मल काभ्रे, सिन्धुपाल्चोक र धनकुटाको व्यावसायिक तरकारी खेतीमा प्रयोग हुँदै आएको नगरपालिकाले जनाएको छ । थिमिमा दुई हजार घरपरिवार कम्पनीको सदस्य बनेका छन् । यसबर्षभित्रै पाँच हजार घरपरिवारलाई सदस्य बनाउने नगरपालिकाको योजना छ ।
यसरी उत्पादन हुन्छ फोहोरबाट मल
सुरुमा ढुटो, झरेको पात, रातो माटो र भूस मिश्रण गरिन्छ । यसलाई जापानी भाषामा टोकोजाइ भनिन्छ । टोकोजाइमा भूस र ढुटोले नाइट्रोजनको काम गर्छ भने झरेको पातले ब्याक्टेरियाको र रातो माटोले मिनरलको काम गर्छ ।
नगरपालिकाले घरघरमा वितरण गरिएको बाल्टिनमा फोहोर र टोकोजाइलाई मिसाईन्छ । फोहोरको गन्ध नआओस् भनेर टोकोजाइसँग मिसाएको फोहोरलाई एक हप्तासम्म राखिन्छ । एक हप्तापछि नगरपालिकाको गाडीले घरघरमा पुगेर फोहोर संकलन गरी वडा ४ स्थित विष्णुकुण्ड क्षेत्रमा ल्याइन्छ ।
सो मललाई दुई हप्तासम्म छोपेर राखिन्छ । मलको तापक्रम ६० देखि ७० डिग्री पुगेपछि मल पल्टाएर राख्नुपर्छ । ६० देखि ७० डिग्री तापक्रमले फोहोरमा भएका नराम्रा कीटाणु आफैँ मर्ने र आवश्यक कीटाणु मात्र बाँकी रहन्छ । त्यसपछि मल चालेर प्याकेजिङ गरेपछि विक्रीका लागि बजारमा पठाईन्छ ।