काठमाडौ : सरकारले आर्थिक वर्ष २०७६/७७ मा सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क स्यानिटरी प्याड दिने घोषणा गरेपनि अहिलेसम्म धेरै विद्यालयमा पुगेकै छैन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विभाग केन्द्रले सबै स्थानीय तहलाई परिपत्र गरेपनि हालसम्म प्याड वितरण कार्यान्वयनमा नआएको हो ।
चालु आर्थिक बर्षको ७ महिना वितिसक्दा समेत स्यानिटरी प्याड पाउने वा नपाउने अझै टुंगो लागेको छैन । मन्त्रिपरिषदको मंसिर ३० गतेको निर्णय अनुसार स्वीकृत स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ समेत संलग्न गरि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विभाग केन्द्रले पुस १४ गते सबै स्थानीय तहलाई परिपत्र गरेको थियो ।
मन्त्रालयका शाखा अधिकृत अर्जुन ढकालद्धारा हस्ताक्षरित परिपत्रमा भनिएको छ ‘अर्थ मन्त्रालयको पुस ११ गतेको निर्णय अनुसार स्थानीय तहमा हस्तान्तरण भएको बजेट उपशिर्षक ३५०००८०१ मा सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क सेनेटरी प्याड व्यवस्थापन क्रियाकलाप थप गरी बजेट वित्तिय हस्तान्तरण भएको व्यहोरा अनुरोध छ । आवश्यक समन्वय र सहजीकरण गर्नका लागि ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई समेत बोधार्थ पठाएको छ ।
कार्यविधि अनुसार गठित प्रदेश स्तरीय स्यानिटरी प्याड व्यवस्थापन सहजीकरण समिति समेत आफ्नो भूमिकामा चुकेको छ । कार्यविधिको परिच्छेद–५ सेनिटरी प्याड व्यवस्थापन,समन्वय र अनुगमन सम्बन्धी व्यवस्थामा प्रदेशभित्र स्यनिटरी प्याड कार्यक्रम प्रभावकारी रुपमा संञ्चालन गर्न,कार्यक्रम सञ्चालनमा सहजीकरण गरी प्रभावकारी अभिवृद्धि गर्ने उल्लेख छ । तर अहिलेसम्म यो समितिले केही गरेको देखिदैन ।
समितिको काम,कर्तव्य र अधिकारमा उल्लेख भए अनुसार प्रदेशभित्रका विद्यालयमा स्यानिटरी प्याड समयमै उपलब्ध भए/नभएको, उपलब्ध सामग्रीको सदुपयोग तथा प्रयोग भएका सामग्रीबाट वातावरणमा प्रतिकुल असर नपर्ने गरी विर्सजन भए/नभएको अनुगमन गरी कार्यक्रम प्रभावकारी बनाउनु पर्नेछ ।
सम्बन्धित गाउँपालिका तथा नगरपालिकाहरुले बजेट बारे आफूहरुलाई थाहा नभएको बताएका छन् । स्यानिटरी प्याड खरिदबारे सुनेपनि कार्यक्रमका लागि बजेट अख्तियारी नभएको ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशर कुमार मेन्याङले जानकारी दिनुभयो । यस्तै ताप्लेजुङकै फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले पनि कार्यक्रमबारे सुनेपनि आफ्नो पालिकामा बजेट अख्तियारी आए/नआएको बुझ्ने बताउनुभयो । उहाँका अनुसार अध्यक्ष एभेङका अनुसार इन्टरनेट समस्याका कारण इमेलमा प्राप्त हुने सूचना बेलैमा प्रवाह गर्न कठिन बनेको छ ।
ताप्लेजुङकै फुङलिङ नगरपालिकामा भने बजेट अख्तियारी आएको छ । नगरपालिकाका शिक्षा विभाग प्रमूख दुर्गा पौडेलका अनुसार १८ लाख ८७ हजार रुपैयाँ अख्तियारी आएको र प्याड खरिदका लागि टेण्डर आव्हान गर्ने तयारी भईरहेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र ललितपुरको महालक्ष्मी नगरपालिकाको संयुक्त आयोजनामा सिद्धिमंगल माध्यमिक विद्यालयमा भएको कार्यक्रममा मन्त्री गिरीराजमणी पोखरेलले प्याड वितरणको औपचारिक उदघाटन गर्नुभएको थियो । चालु आर्थिक बर्षमा देशभरका सामुदायिक विद्यालयका लागि १ अर्ब २७ करोड ७३ लाख ३७ हजार रकम विनियोजन गरिएको छ । मन्त्रालयका अनुसार उक्त रकमबाट १४ लाख ३७ हजार छात्रालाई प्याड वितरण गरिनेछ ।
चालु आर्थिक बर्षको ७ महिना वितिसक्दा समेत जिल्ला सदरमुकाम तथा सहरी इलाकाका सामुदायिक विद्यालयमा समेत स्यानिटरी प्याड वितरण प्रभावकारी नहुनुले सरकारको यो कार्यक्रम सफल हुनेमा आशंका पैदा गराएको छ । ग्रामीण भेगका विद्यालयमा परिपत्र पुग्ने तर प्याड किन्नका लागि बजेट अख्तियारी नपुग्दा प्याड खरिद प्रक्रिया अगाडि बढाउन सकेको छैन । बजेट अख्तियारी प्राप्त भएको स्थानीय सरकारले समेत खरिद प्रक्रिया अगाडि बढाएर प्रक्रिया पूरा गरी प्याड किनेर वितरण गर्न भने अझै समय लाग्ने देखिन्छ ।